ताजाकोट गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी, लेखा र न्यायिक समितिका कागजात राखिएको कोठामा क्षति

डिसी नेपाल
८ भदौ २०८३ ९:४३

हुम्ला । ताजाकोट गाउँपालिकाको प्रशासकीय भवनमा आइतबार राति आगलागी हुँदा लेखा तथा न्यायिक समितिसँग सम्बन्धित महत्वपूर्ण कागजात र श्रेस्ता राखिएको एउटा कोठामा क्षति पुगेको छ।

गाउँपालिकाका उपाध्यक्ष सुरेन्द्र थापाका अनुसार राति करिब १ बजे प्रशासकीय भवनमा आगलागी भएको हो। आगलागी एउटा कोठामा मात्र सीमित रहेको प्रारम्भिक जानकारी प्राप्त भएको उनले बताए। उक्त कोठामा गाउँपालिकाको लेखा तथा न्यायिक समितिसँग सम्बन्धित कागजात, श्रेस्ता र अन्य सामग्री राखिएको थियो।

आगलागीबाट कति कागजात तथा सामग्रीमा क्षति पुगेको भन्नेबारे यकिन विवरण भने संकलन हुन बाँकी रहेको उपाध्यक्ष थापाले बताए। घटनाको कारणसमेत अहिलेसम्म खुल्न सकेको छैन। आगलागीको वास्तविक कारण र भएको क्षतिको विवरणबारे छानबिन भइरहेको उनले जानकारी दिए।

गाउँपालिकाको प्रशासकीय भवनमा सीसीटीभी क्यामरा जडान गरिएकाले आगलागीको घटनाबारे थप जानकारी लिन फुटेजसमेत अध्ययन गरिने भएको छ। सीसीटीभी फुटेज अध्ययन गरेपछि आगलागी कसरी सुरु भयो भन्नेबारे थप स्पष्ट हुने गाउँपालिकाको भनाइ छ।

महत्त्वपूर्ण सरकारी कागजात तथा श्रेस्ता राखिएको कोठामै आगलागी भएकाले गाउँपालिकाले घटनालाई गम्भीर रूपमा लिएको जनाएको छ। आगलागीबाट भएको वास्तविक क्षति र घटनाको प्रकृतिबारे छानबिन पूरा भएपछि विस्तृत विवरण सार्वजनिक गरिने बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *