माइतीघरमा पोल्ट्री किसानको प्रदर्शन, भारतीय कुखुरा तस्करी रोक्न माग (तस्बिरसहित)

डिसी नेपाल
८ भदौ २०८३ १४:२२

काठमाडौं । पोल्ट्री किसानहरूले आफ्ना विभिन्न माग राख्दै काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। सरकारले पोल्ट्री क्षेत्रका किसानका समस्या समाधान गर्न बेवास्ता गरेको भन्दै उनीहरूले तत्काल आवश्यक कदम चाल्न माग गरेका हुन्।

प्रदर्शनमा सहभागी किसानहरूले भारतीय कुखुराको अवैध तस्करीका कारण नेपाली पोल्ट्री व्यवसाय प्रभावित भएको भन्दै त्यसलाई तत्काल रोक्न माग गरेका छन्। उनीहरूले नेपाली किसानले उत्पादन गरेको कुखुराले बजार नपाउने र लागतअनुसार मूल्य प्राप्त गर्न नसक्ने समस्या रहेको बताएका छन्।

किसानहरूले ‘भारतीय कुखुरा तस्करी बन्द गर’, ‘कोल्ड स्टोरको कमिसन बन्द गर’, ‘पोल्ट्री किसानका माग पूरा गर’ र ‘साना किसानको विस्थापन बन्द गर’ लगायतका नारासहितका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।

पोल्ट्री व्यवसायमा बढ्दो लागत, बजारमा देखिएको अस्थिरता, बिचौलियाको प्रभाव तथा साना किसानमाथि परेको दबाबका कारण आफूहरू समस्यामा परेको किसानहरूको भनाइ छ। उनीहरूले सरकारले किसानका समस्या सुनेर पोल्ट्री क्षेत्रलाई संरक्षण गर्ने नीति तत्काल कार्यान्वयन गर्नुपर्ने माग गरेका छन्।

साना तथा मध्यम किसानलाई व्यवसायबाट विस्थापित हुनुपर्ने अवस्था अन्त्य गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्ने उनीहरूको जोड छ। साथै, पोल्ट्री उत्पादनको बजार व्यवस्थापन, उचित मूल्य सुनिश्चितता र अवैध आयात नियन्त्रणमा सरकारले ठोस पहल गर्नुपर्ने किसानहरूले बताएका छन्।

प्रदर्शनकारी किसानहरूले आफ्ना माग सम्बोधन नभए आगामी दिनमा थप आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनीसमेत दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *