लुम्बिनीका तीन सांसदलाई जसपा नेपालले पुनः स्पष्टीकरण सोध्यो

डिसी नेपाल
९ भदौ २०८३ १५:२४

काठमाडौं। जनता समाजवादी पार्टी, नेपालले लुम्बिनी प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेय, हेमा बेल्वासे (केसी) र भण्डारीलाल अहिरलाई पार्टी निर्देशनविपरीत काम गरेको भन्दै पुनः स्पष्टीकरण सोधेको छ।

पार्टीले २०८३ भदौ १ गते लुम्बिनी प्रदेशको वर्तमान सरकारलाई समर्थन नगर्न तथा सरकारको विपक्षमा मतदान गर्न स्पष्ट निर्देशन दिएको भएपनि तीनै सांसदले उक्त निर्देशनविपरीत प्रदेश सरकारको पक्षमा मतदान गरेको भन्दै यसअघि स्पष्टीकरण मागिएको थियो।

उनीहरूले बुझाएको स्पष्टीकरण अध्ययन गर्दा पार्टीको नीति, निर्णय तथा निर्देशनसँग मेल नखाने र उठाइएका प्रश्नको चित्तबुझ्दो जवाफ नआएको पार्टीले जनाएको छ।

पार्टीले पुनः स्पष्टीकरणमा पार्टी निर्देशनविपरीत सरकारको पक्षमा मतदान गरेको विषयमा अनुशासनात्मक कारबाही किन नगर्ने, पार्टीको नीति तथा निर्णयविपरीत सदस्यले काम गर्न मिल्ने वा नमिल्ने र यस्तो कार्यलाई पार्टी विधान तथा निर्णयअनुसार कसरी लिनुपर्ने हो भन्नेबारे स्पष्ट धारणा मागेको छ।

तीनै सांसदलाई २४ घण्टाभित्र पार्टी केन्द्रीय कार्यालयमा पुनः स्पष्टीकरण बुझाउन निर्देशन दिइएको छ। तोकिएको समयभित्र स्पष्टीकरण नदिएमा वा जवाफ चित्तबुझ्दो नभएमा पार्टी विधानअनुसार अनुशासनात्मक कारबाही अघि बढाइने चेतावनी दिइएको छ।

पार्टीका महासचिव डा. सुरेन्द्रकुमार झाले जारी गरेको पत्रमा पार्टीको नीति, निर्णय तथा निर्देशन पालना गर्नु प्रत्येक सदस्यको अनिवार्य दायित्व रहेको स्मरण गराइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *