प्रधानमन्त्री शाहले भने- बाढी प्रभावित नागरिकको जिम्मेवारी सरकारले लिन्छ
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ५० भन्दा बढी नागरिकको मृत्यु भएको बताएका छन्।
बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको भन्दै उनले प्रभावित नागरिकको उद्धार, उपचार र राहतलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्।
प्रधानमन्त्री शाहले बाढीमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै घाइते तथा उपचाररत नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले बेपत्ता नागरिकको खोजी कार्यलाई तीव्र बनाइएको बताएका छन्।
बाढी आएलगत्तै सरकारले नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीसहितका सुरक्षा निकायका हजारौँ जनशक्ति उद्धार तथा खोजीमा परिचालन गरेको प्रधानमन्त्री शाहले बताएका छन्। सुरक्षाकर्मीले हेलिकप्टरमार्फत हालसम्म २५० भन्दा बढी नागरिकको उद्धार गरिसकेको र घाइतेलाई तत्काल काठमाडौँ ल्याएर उपचार भइरहेको उनले जानकारी दिएका छन्।
घाइतेको निःशुल्क उपचारका लागि काठमाडौँको वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १०० शय्या छुट्याइएको र उपत्यकाका अन्य ठूला अस्पताललाई पनि घाइतेको उपचारका लागि तयारी अवस्थामा राखिएको उनले बताए। प्रभावित क्षेत्रमा चिकित्सक, स्वास्थ्यकर्मी, उद्धारकर्मी तथा आवश्यक स्वास्थ्य सामग्रीसमेत पठाइएको उनले आफ्नो पोस्टमा उल्लख गरेका छन्।
आपत्कालीन स्वास्थ्य सेवा, औषधि र रगतको अभाव हुन नदिन रक्तसञ्चार केन्द्र, बागमती र गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय, नेपाल रेडक्रस, लायन्स क्लब र नेपाल स्काउटलगायतका संस्थासँग समन्वय भइरहेको प्रधानमन्त्री शाहले बताएका छन्।
बाढीबाट नुवाकोटको विदुर, रसुवाको उत्तरगया र गोसाइँकुण्ड, धादिङको गजुरी, गल्छी, बेनीघाट, त्रिपुरासुन्दरी र सिद्धलेक तथा गोरखाको शहीद लखन र गण्डकी गाउँपालिका बढी प्रभावित भएका र ती क्षेत्रमा प्रभावित परिवारका लागि खानेकुरा, सुरक्षित खानेपानी, औषधि र अस्थायी बसोबासको व्यवस्था तत्काल मिलाइने प्रधानमन्त्री शाहले बताएका छन्।
उनका अनुसार बाढीबाट भत्किएका सडक, पुल, विद्युत् तथा खानेपानीका संरचनाको पुनर्निर्माणलाई प्राथमिकतामा राखिनेछ। विस्थापित परिवारलाई सुरक्षित स्थानमा पुनःस्थापना गर्ने सरकारको योजना रहेको उनले बताएका छन्।
प्रधानमन्त्री शाहले आज रातभर पनि उद्धार तथा खोजी कार्य जारी रहने बताउदै बाढीमा बेपत्ता नागरिकको खोजी, घाइतेको विवरण संकलन र क्षतिको विस्तृत विवरण तयार गर्ने काम निरन्तर अघि बढाइने उनले बताएका छन्।
उनले बाढी प्रभावित नागरिकलाई धैर्य धारण गर्न आग्रह गर्दै सरकार सम्पूर्ण साधन र स्रोतसहित उनीहरूको साथमा रहेको उल्लेख गर्दै प्रभावित नागरिकको उद्धार, उपचार, खानपिन र बसोबासको जिम्मेवारी सरकारले लिने बताएका छन्।
प्रधानमन्त्री शाहले विपद्को समयमा सामाजिक संघसंस्था, उद्योगी–व्यवसायी, युवा स्वयंसेवक तथा आम नागरिकलाई सरकारको उद्धार र राहत अभियानमा सहयोग गर्नसमेत आग्रह गरेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment