रसुवामा बाढीको वितण्डा : ६ स्वास्थ्यकर्मी सम्पर्कविहीन, दुई स्वास्थ्यचौकी बगायो
रसुवा । रसुवामा बुधबार बिहान आएको भीषण बाढीपछि ६ जना स्वास्थ्यकर्मी सम्पर्कविहीन भएका छन्। बाढीका कारण जिल्लाका विभिन्न स्थानमा स्वास्थ्यचौकी तथा स्वास्थ्यकर्मी प्रभावित भएका छन् भने सञ्चार सम्पर्क विच्छेद हुँदा घटनाको पूर्ण विवरण आउन सकेको छैन।
जनस्वास्थ्य कार्यालय रसुवाका प्रमुख निरध्वज घर्ती मगरका अनुसार टिमुरे र स्याप्रुबेसीमा रहेका स्वास्थ्यचौकी बाढीले बगाएको छ। ती दुवै स्वास्थ्यचौकीमा कार्यरत दुई–दुई जना स्वास्थ्यकर्मीसमेत बाढीपछि सम्पर्कमा आएका छैनन्।
त्यसैगरी रसुवागढी नाकामा रहेको हेल्थ डेक्समा कार्यरत हेल्थ असिस्टेन्ट गोविन्द यादव पनि सम्पर्कविहीन छन्। उत्तरगया गाउँपालिकाका स्वास्थ्य संयोजकसमेत हालसम्म सम्पर्कमा नआएको घर्ती मगरले जानकारी दिएका छन्।
बाढी र पहिरोका कारण जिल्लाका विभिन्न क्षेत्रमा सडक तथा सञ्चार सम्पर्क प्रभावित भएको छ। कतिपय स्थानमा टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध हुँदा घटनास्थलको वास्तविक अवस्था र प्रभावितको यकिन विवरण संकलन गर्न कठिनाइ भइरहेको छ।
जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी तारापती बिसीका अनुसार धेरै ठाउँको सञ्चार सम्पर्क टुटेकाले अहिलेसम्म सबै विवरण प्राप्त हुन सकेको छैन। सम्पर्कविहीन स्वास्थ्यकर्मीको खोजी तथा प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सेवा र उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको छ।
बाढीका कारण रसुवाका नदी तथा खोलानजिकका बस्तीमा जोखिम बढेको छ। स्थानीय प्रशासन तथा सुरक्षा निकायले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यलाई तीव्रता दिनुपर्ने अवस्था देखिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment