रसुवा बाढी : बिहीबार बिहानसम्म १६२ जनाको शव फेला
काठमाडौं। रसुवामा आएको भीषण बाढीपछि बेपत्ता भएकामध्ये हालसम्म १६२ जनाको शव फेला परेको छ। बिहीबार बिहान ५ बजेसम्मको प्रहरी बुलेटिनअनुसार बाढी तथा पहिरो प्रभावित आठ जिल्लाबाट १६२ जनाको शव फेला परेको हो।
प्रहरीका अनुसार सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन्। चितवनमा मात्रै ६४ जनाको शव फेला परेको छ। त्यस्तै धादिङमा २७, नवलपरासी पूर्वमा २६, गोरखामा २०, नुवाकोटमा १२, तनहुँमा ९, रसुवामा २ र नवलपरासी पश्चिममा २ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।
रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीपछि नदीको बहावसँगै विभिन्न जिल्लाका नदी तथा तटीय क्षेत्रमा ठूलो क्षति पुगेको छ। बाढीले मानिस, घर तथा भौतिक संरचना बगाएपछि बेपत्ता भएकाको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाइएको छ।
प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी तथा स्थानीय उद्धार टोलीले प्रभावित क्षेत्रमा खोजी कार्य जारी राखेका छन्। नदी किनार, बगर तथा बाढीले पुर्याएका अन्य सम्भावित स्थानमा समेत बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ।
बाढीका कारण प्रभावित जिल्लामा जनजीवन अस्तव्यस्त बनेको छ भने ठूलो संख्यामा मानिस विस्थापित भएका छन्। लगातारको खोजी तथा उद्धारका क्रममा मृतकको संख्या थप बढ्न सक्ने प्रहरीले जनाएको छ। उद्धार तथा खोजी कार्यसँगै मृतकको पहिचान गर्ने र आफन्तलाई शव बुझाउने प्रक्रिया पनि अघि बढाइएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment