बाढी प्रभावित क्षेत्रमा उद्धार तीव्र, ३ हजार ३१८ प्रहरी परिचालन

डिसी नेपाल
११ भदौ २०८३ ९:३३

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीका कारण रसुवासहित नुवाकोट, धादिङ, गोरखा, चितवन, तनहुँ र पूर्वी नवलपरासीका तटीय क्षेत्र प्रभावित भएपछि नेपाल प्रहरीले उद्धार, खोजी तथा राहत कार्यलाई तीव्रता दिएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता अबिनारायण काफ्लेले सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै बाढीपछि प्रभावित क्षेत्रमा ठूलो संख्यामा प्रहरी जनशक्ति परिचालन गरिएको जानकारी दिएका छन् ।

उनका अनुसार भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण रसुवाको तटीय क्षेत्रदेखि नुवाकोट, धादिङ, गोरखा, चितवन, तनहुँ र पूर्वी नवलपरासीसम्मका क्षेत्र प्रभावित भएका छन् । विपद्पछि नेपाल प्रहरीले तत्काल उद्धार तथा खोजी कार्यलाई प्राथमिकतामा राखेर जनशक्ति परिचालन गरेको उनले बताए ।

प्रवक्ता काफ्लेका अनुसार रसुवाका विभिन्न प्रहरी कार्यालयमा कार्यरत ६४ प्रहरीमध्ये ३२ जना सम्पर्कमा आएका छन् भने २८ जना अझै सम्पर्कविहीन छन् । बाढी तथा अन्य विपद्का कारण विभिन्न जिल्लामा हालसम्म १०० वटा शव फेला परेको उनले जानकारी दिए ।

उद्धार तथा खोजी कार्यलाई थप प्रभावकारी बनाउन प्रहरी प्रधान कार्यालयबाट प्रहरी वरिष्ठ उपरीक्षक चन्दबहादुर बुढाथोकीको कमान्डमा मेडिकल टोलीसहित २२ जना प्रहरी रसुवातर्फ पठाइएको छ । खोज तथा उद्धारका लागि चारवटा ड्रोनसमेत परिचालन गरिएको प्रहरीले जनाएको छ ।

प्रभावित विभिन्न जिल्लामा स्थानीय प्रहरीतर्फबाट मात्रै ३ हजार ३१८ जना जनशक्ति परिचालन गरिएको प्रवक्ता काफ्लेले बताए । उद्धार, खोजी तथा राहत कार्यलाई प्रभावकारी बनाउन आवश्यक समन्वय र जनशक्ति व्यवस्थापन भइरहेको उनले जानकारी दिए ।

यसैगरी बाढीमा फेला परेका शवको व्यवस्थापन, मुचुल्का लेखन, कानुनी सहायता तथा आवश्यक समन्वयका लागि प्रहरी नायव महानिरीक्षक सुदर्शनप्रसाद कोइरालालाई आपत्कालीन समन्वय केन्द्रमा खटाइएको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक दीपशमशेर जबराको कमान्डमा ‘रिलिफ एन्ड रेस्क्यु’ टोलीसमेत रसुवातर्फ परिचालन गरिएको प्रवक्ता काफ्लेले जानकारी दिए ।

नेपाल प्रहरीले बाढी तथा विपद्बाट प्रभावित जिल्लामा उद्धार, खोजी तथा राहत कार्यलाई थप व्यवस्थित बनाउन वरिष्ठ प्रहरी अधिकृतहरूलाई फोकल पर्सनका रूपमा समेत परिचालन गरेको जनाएको छ । प्रभावित क्षेत्रमा बेपत्ता तथा घाइतेको खोजी, उद्धार र राहत वितरणलाई प्राथमिकतामा राख्दै सुरक्षा निकायबीच आवश्यक समन्वय भइरहेको प्रहरीले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *