उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री शाह
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाको काम तीव्र रूपमा भइरहेको बताएका छन्। रक्षाबन्धनका अवसरमा सामाजिक सञ्जालमार्फत सन्देश दिँदै प्रधानमन्त्री शाहले विपद्बाट प्रभावित प्रत्येक परिवारको साथमा राज्य रहेको र उद्धारको प्रतीक्षामा रहेका नागरिकसम्म राज्य पुग्ने बताएका हुन्।
प्रधानमन्त्री शाहका अनुसार खोज तथा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालका गरी १५ हजार ४३१ सुरक्षाकर्मी प्रभावित क्षेत्रमा परिचालन गरिएको छ। नेपाल प्रहरीका ४ हजार ४७३, नेपाली सेनाका ६ हजार ७५५ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना रसुवा तथा भोटेकोशी–त्रिशूली करिडोरलगायत क्षेत्रमा खटिएका छन्।
हालसम्म ४ हजार ४५१ जनाको उद्धार गरिएको प्रधानमन्त्री शाहले जानकारी दिएका छन्। उद्धार गरिएकामध्ये जलविद्युत् सुरुङबाट १९१ जना र आजको हवाई उद्धारबाट ५१७ जना रहेका छन्। नेपाली सेना तथा निजी क्षेत्रका गरी १६ वटा हेलिकप्टर परिचालन गरी धुन्चे, त्रिशूली, टिमुरे र स्याफ्रुबेँसीलगायत क्षेत्रमा उद्धार उडान सञ्चालन भइरहेको छ। हालसम्म ९९ वटा हवाई उडान भइसकेका छन्।
उद्धारसँगै प्रभावित क्षेत्रमा राहत सामग्रीसमेत पठाइएको छ। हालसम्म ३२ ट्रक खाद्य तथा गैरखाद्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ भने हेलिकप्टरमार्फत ६ वटा उडानबाट राहत सामग्री पुर्याइएको छ। प्रभावित क्षेत्रमा सञ्चार सेटसमेत पठाइएको प्रधानमन्त्रीले बताएका छन्।
सुरुङमा फसेका नागरिक तथा कामदारको उद्धारलाई उच्च प्राथमिकता दिइएको छ। बेपत्ता नागरिक तथा शवको खोजी कार्य तल्लो तटीय क्षेत्रसम्म विस्तार गरिएको छ। रसुवादेखि नुवाकोट, धादिङ हुँदै गोरखा, तनहुँ, चितवन र नवलपरासीसम्म त्रिशूली–नारायणी नदी करिडोरमा थप सुरक्षाकर्मी परिचालन गरी खोजी भइरहेको प्रधानमन्त्री शाहले बताएका छन्।
विदेशी नागरिकको खोज, उद्धार तथा पहिचानका लागि पनि विशेष समन्वय भइरहेको छ। हालसम्म १२९ जना विदेशी पर्यटक तथा नागरिकको उद्धार तथा पहिचान गरिएको जनाइएको छ।
विदेशी सहयोग अस्वीकार गरिएको भन्ने प्रचार भ्रामक रहेको प्रधानमन्त्री शाहले बताएका छन्। उनका अनुसार भारत, चीन तथा अन्तर्राष्ट्रिय साझेदारसँग उद्धार तथा राहतका लागि आवश्यक सहयोग र सामग्रीबारे निरन्तर समन्वय भइरहेको छ। हेलिकप्टर परिचालन गर्दा हवाई सुरक्षा, भौगोलिक पहुँच र वास्तविक आवश्यकतालाई ध्यानमा राखिएको उनले उल्लेख गरेका छन्।
भोटेकोशी तथा तल्लो तटीय क्षेत्रमा पुनःबाढीको जोखिमको निरन्तर निगरानी भइरहेको छ। सम्भावित जोखिमयुक्त क्षेत्रमा पूर्वसूचना तथा सुरक्षित स्थानमा स्थानान्तरणको तयारी गरिएको छ। जोखिमयुक्त क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ भने २ लाखभन्दा बढी एसएमएस मार्फत पूर्वसूचना दिइएको छ।
राहत तथा उद्धार कार्यको प्रत्यक्ष नेतृत्व र समन्वयलाई प्रभावकारी बनाइएको प्रधानमन्त्रीको भनाइ छ। गृहमन्त्री प्रभावित जिल्लामा स्थलगत रूपमा उपस्थित भई सुरक्षा निकाय, स्थानीय प्रशासन, स्थानीय तह तथा सम्बन्धित निकायसँग समन्वय गरिरहेको उनले बताएका छन्।
सडक सम्पर्क पुनःस्थापनाको कामसमेत तीव्र पारिएको छ। वैकल्पिक सडकमार्ग सञ्चालनमा ल्याई साना चारपाङ्ग्रे सवारीसाधन चल्न थालेका छन्। काठमाडौं–मुग्लिन सडक एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको जनाइएको छ।
रसुवालाई पुनःसडक सञ्जालसँग जोडिएको पनि प्रधानमन्त्रीले बताएका छन्। काठमाडौं–टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चेसम्मको वैकल्पिक सडक साना चारपाङ्ग्रे सवारीसाधनका लागि सञ्चालनमा आएको छ। क्षतिग्रस्त पुलमा बाइपास निर्माणको काम सुरु गरिएको छ। नियमित सडक सम्पर्कका लागि भारत तथा चीनबाट ४८ मिटर लम्बाइका १० वटा बेली व्रिज उपलब्ध गराउन औपचारिक पहल गरिएको छ।
प्रधानमन्त्री शाहले सरकारको सम्पूर्ण ध्यान अहिले विपद् प्रभावित नागरिकमा केन्द्रित रहेको बताएका छन्। मैदानको वास्तविक अवस्था बुझेर आवश्यक निर्णय गर्ने र सोहीअनुसार स्रोतसाधन परिचालन गर्ने गरी सरकार निरन्तर काम गरिरहेको उनको भनाइ छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment