शव व्यवस्थापनमा फ्रिजर र डीएनए किटको अभाव, अन्तर्राष्ट्रिय सहयोग माग्दै सरकार

डिसी नेपाल
१४ भदौ २०८३ १६:०३

काठमाडौं। भोटेकोशी बाढीपछि संकलित शवहरू कुहिन थालेपछि सुरक्षित व्यवस्थापन सरकारका लागि मुख्य चुनौती बनेको छ।

शव सुरक्षित राख्न कम्तीमा एक हजार जनासम्मको क्षमता भएको फ्रिजर र पर्याप्त डीएनए परीक्षण किट आवश्यक परेको भन्दै सरकारले विभिन्न देशसँग सहयोग मागेको छ।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले आइतबार आयोजित पत्रकार सम्मेलनमा शव व्यवस्थापन तथा पहिचानका लागि फ्रिजर र डीएनए परीक्षण किट तत्काल आवश्यक रहेको बताए।

‘शवहरू थुप्रै संकलन गरिसकेका छौँ र डिकम्पोज हुन सुरु भइसकेको छ। जनस्वास्थ्य जोगाउन र शव सुरक्षित राख्न अहिले फ्रिजर र डीएनए टेस्टिङ किट सबैभन्दा ठूलो आवश्यकता बनेको छ,’ राईले भने।

उनका अनुसार पहिचान हुन नसकेका, क्षतविक्षत तथा सड्न थालेका शवबाट अन्तर्राष्ट्रिय रेडक्रसको मापदण्डअनुसार डीएनए नमुना संकलन गरी अस्थायी रूपमा गाड्ने व्यवस्था मिलाइएको छ।

प्रत्येक शवको डीएनए नमुना सुरक्षित राखिने भएकाले पछि परिवारले चाहेमा पहिचान तथा धार्मिक संस्कारका लागि आवश्यक प्रक्रिया अघि बढाउन सकिने उनले बताए।

उनले भने,‘अहिले जनस्वास्थ्य जोगाउन र शव सुरक्षित राख्न फ्रिजर र डीएनए टेस्टिङ किट सबैभन्दा ठूलो आवश्यकता बनेको छ।’

राईका अनुसार सरकारले अस्ट्रेलिया, खाडी मुलुक, युरोपेली संघलगायत विभिन्न देशसँग फ्रिजर तथा डीएनए परीक्षण सामग्रीका लागि सहयोग मागेको छ। यसअघि दुई हजार वटा एयरटाइट ब्याग प्राप्त भइसकेको उनले जानकारी दिए।

यस्तै खोज, उद्धार तथा राहतका लागि करिब १९ हजार सुरक्षाकर्मी र १६ वटा हेलिकोप्टर परिचालन गरिएको छ।

बाढी प्रभावित क्षेत्रमा फसेका व्यक्तिको उद्धारका लागि भारत, चीन र दक्षिण कोरियाका सुरुङ उद्धार विज्ञहरू समेत परिचालन गरिएको उनले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *