भोटेकोशी बाढी: काभ्रेका ४१ जना अझै बेपत्ता, आठ जना आए परिवारको सम्पर्कमा

डिसी नेपाल
१५ भदौ २०८३ ६:२९

काभ्रेपलाञ्चोक। रसुवाको भोटेकोशी नदीमा आएको भिषण बाढीका कारण काभ्रेपलाञ्चोक जिल्लाका ४१ जना नागरिक अझै सम्पर्कविहीन रहेका छन्।

सुरुमा सम्पर्कविहीन भनिएका ४७ जनामध्ये हालसम्म आठ जना भने सकुशल परिवारको सम्पर्कमा आइसकेको जिल्ला प्रशासन कार्यालय धुलिखेलले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयले बुधबार सार्वजनिक अपिल जारी गर्दै बाढी प्रभावित क्षेत्रमा रहेका आफ्ना आफन्तको अवस्थाबारे जानकारी गराउन सर्वसाधारणलाई अनुरोध गरेको थियो। सोही अपिलपछि आठ जना सम्पर्कमा आए पनि बाँकी ४१ जनाको अवस्था अझै अज्ञात रहेको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिनुभयो।

कार्यालयका अनुसार बाढी प्रभावित क्षेत्रमा वैदेशिक रोजगार, व्यापार वा भ्रमणका सिलसिलामा पुगेका नागरिकहरूको खोजतलास र अवस्था पहिचानका लागि तीव्र पहल भइरहेको छ।

प्रशासनले कुनै पनि सदस्य सम्पर्कविहीन भएमा तत्काल जिल्ला प्रशासन, नजिकैको प्रहरी कार्यालय वा स्थानीय तहमा जानकारी गराउन आग्रह गरेको छ। साथै, प्रभावित क्षेत्रमा रहेका नागरिकहरूलाई पनि यथाशक्य चाँडो परिवारसँग सम्पर्कमा आउन भनिएको छ।

कुन स्थानीय तहका कति जना बेपत्ता?

हालसम्म प्राप्त विवरण अनुसार सम्पर्कविहीन हुनेहरूमा:

  • बनेपा नगरपालिका: ७ जना

  • तेमाल गाउँपालिका: ७ जना

  • धुलिखेल नगरपालिका: ६ जना

  • पाँचखाल नगरपालिका: ४ जना

  • भुम्लु गाउँपालिका: ४ जना

  • पनौती नगरपालिका: ३ जना

  • चौँरीदेउराली गाउँपालिका: ३ जना

  • बेथानचोक गाउँपालिका: ३ जना

  • मण्डनदेउपुर नगरपालिका: १ जना

  • रोशी गाउँपालिका: १ जना

  • ठेगाना नखुलेका (काभ्रेपलाञ्चोक): १ जना

सम्पर्कविहीन नागरिकहरूको खोजतलास र उद्धारका लागि स्थानीय प्रशासन तथा सुरक्षा निकाय निरन्तर खटिरहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *