देशका विभिन्न प्रदेशमा भारीदेखि अति भारी वर्षाको सम्भावना

डिसी नेपाल
१५ भदौ २०८३ ७:०४

काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही उत्तर तथा पूर्वमा सरदर स्थानको आसपास अवस्थित छ।

हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी र बागमती प्रदेशका पहाडी भूभागमा साधारणतया बदली (बादल) रहेको छ। यस्तै मधेश, कोशी र बागमती प्रदेशका तराई भूभागमा भने आंशिक बदली छ। अहिले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर साधारणतया बदली रहनेछ। देशका हिमाली भूभागका केही स्थान र पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ।

त्यसैगरी बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानमा तथा मधेश र कोशी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। पहाडी भूभागका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

राति देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ।

साथै मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा अनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

रातिको समयमा कोशी प्रदेशका हिमाली, पहाडी तथा तराई भूभागका साथै बागमती प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा अनि गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा भने अति भारी वर्षाको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *