चीनतर्फ ५४६ जना अझै बेपत्ता: जी२१६ राजमार्ग खुलाउन र खोज-उद्धारमा चिनियाँ उद्धारकर्मीको टोली खटिँदै

डिसी नेपाल
१५ भदौ २०८३ १४:३६

काठमाडौं। नेपाल-चीन सीमा क्षेत्रमा हिमनदी फुटेर आएको विनाशकारी बाढी र पहिरोपछि चीनको सिजाङ स्वायत्त क्षेत्रस्थित जिरोङ नाका जोड्ने मुख्य सडक खुलाउन र उद्धार कार्यलाई तीव्र पार्न उद्धारकर्मीहरू निरन्तर जुटिरहेका छन्।

बुधबार आएको भीषण पहिरोका कारण नाकासम्म पुग्ने स्थलमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो। हिमनदी खस्दा बरफ, चट्टान, हिलो र पानीको ठूलो भेल सीमा क्षेत्रतर्फ बग्दा केही मिनेटमै व्यापक क्षति पुगेको हो।

नेपालतर्फ पहिरो र बाढीका कारण मृत्यु हुनेको संख्या नौ सय नाघेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। उता, चिनियाँ क्षेत्रीय सरकारका अनुसार जिरोङ नाकामा आएको भीषण पहिरोमा परी हालसम्म १६ जनाको मृत्यु भएको छ भने ५४६ जना अझै बेपत्ता छन्।

चीनको आपत्कालीन व्यवस्थापन मन्त्रालयले राज्य स्वामित्वको चाइना एनेङ संस्थाबाट ११० जना उद्धारकर्मी र २८ वटा भारी उपकरण घटनास्थलमा परिचालन गरेको छ। उनीहरूले यस क्षेत्रको मुख्य सडक सम्पर्कका रूपमा रहेको जी२१६ राष्ट्रिय राजमार्गका क्षतिग्रस्त खण्डबाट भग्नावशेष हटाउने काम गरिरहेका छन्। सोमबार दिउँसो १२ बजेसम्म सडकका प्रभावित खण्ड खुलाउने लक्ष्यका साथ १.१ किलोमिटर दूरीसम्म अवरोध हटाइसकिएको छ।

साँघुरो खोँच, चट्टान खस्ने जोखिम, तीव्र बहावले सडक कटान गर्ने समस्या र ठूला मेसिन चलाउन ठाउँको अभावजस्ता चुनौतीका बीच उद्धार भइरहेको छ। भौगोलिक जटिलताका कारण ट्रकहरूले पहिले नै यू-टर्न लिई रिभर्स गरेर ढुंगा खसाल्ने र एक्स्काभेटरमार्फत सडक भर्ने विशेष रणनीति अपनाइएको छ।

चाइना एनेङको आपत्कालीन टोलीले बिहान ७ बजेदेखि मध्यरातसम्म निरन्तर काम गरिरहेको छ भने मौसमको अवस्था हेरेर कार्यतालिका समायोजन गरिने जनाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *