जब अस्पतालबाट एकदिने नवजात शिशुको चोरी भयो…

डिसी नेपाल
१५ भदौ २०८३ १५:०३

वीरगन्ज। वीरगन्जस्थित नारायणी अस्पतालबाट चोरी भएको एकदिने नवजात शिशुलाई पर्सा प्रहरीले १६ घण्टामै सकुशल फेला पारेको छ। प्रहरीले शिशु चोरी गरेको आरोपमा वीरगन्ज महानगरपालिका–इनर्वा निवासी सबिना खातुनलाई समेत पक्राउ गरेको छ।

पर्साका प्रहरी प्रमुख एसपी पवन भट्टराईका अनुसार प्रहरीले रातभर सञ्चालन गरेको विशेष अप्रेसनका क्रममा इनर्वाबाट शिशुसहित खातुनलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकी महिला र शिशुलाई अहिले प्रहरी हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

आइतबार राति नारायणी अस्पतालबाट एकदिने नवजात बालक चोरी भएपछि प्रहरीमाथि तत्काल शिशुको खोजी गरी सकुशल उद्धार गर्नुपर्ने दबाब बढेको थियो। अस्पताल परिसरबाटै नवजात शिशु हराएपछि प्रहरीले अस्पतालभित्र तथा बाहिरी क्षेत्रमा निगरानी बढाउँदै खोजी अभियान सञ्चालन गरेको थियो।

प्रहरीका अनुसार नवजात बालककी हजुरआमासँग ‘बच्चा खेलाउँछु’ भन्दै शिशु मागेकी महिला केहीबेरपछि शिशुसहित बेपत्ता भएकी थिइन्। घटनालगत्तै प्रहरीले उपलब्ध सूचना, सम्भावित आवतजावतका मार्ग तथा शंकास्पद व्यक्तिमाथि निगरानी बढाएको थियो।

सर्लाहीको रामनगर गाउँपालिका–३ बहुअर्वा निवासी रिन्कु देवीले शनिबार राति करिब ११ बजे शल्यक्रियामार्फत उक्त शिशुलाई जन्म दिएकी थिइन्। जन्मिएको करिब एक दिनमै अस्पतालबाट शिशु चोरी भएपछि परिवारमा त्रास र तनावको अवस्था सिर्जना भएको थियो।

१६ घण्टाभित्रै शिशु फेला पारिनु प्रहरीका लागि सकारात्मक उपलब्धि भए पनि घटनाले अस्पतालको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ। अस्पतालजस्तो संवेदनशील स्थानबाट अपरिचित व्यक्तिले आफन्तको विश्वास जितेर नवजात शिशुसम्म पहुँच बनाउनु सामान्य सुरक्षा कमजोरी मात्र नभई अस्पतालको प्रवेश–नियन्त्रण र बिरामीका आफन्तको निगरानी प्रणालीमा समेत सुधार आवश्यक रहेको संकेत हो।

विशेषगरी नवजात शिशु वार्ड तथा प्रसूति कक्षमा प्रवेश गर्ने व्यक्तिको पहिचान, बिरामीका आफन्तको निगरानी र सीसीटीभीको प्रभावकारी प्रयोगलाई अस्पताल प्रशासनले थप कडाइ गर्नुपर्ने देखिन्छ।

प्रहरीले पक्राउ परेकी खातुनको उद्देश्य, शिशु चोरी गर्नुको कारण तथा घटनामा अन्य व्यक्तिको संलग्नता भए–नभएको विषयमा अनुसन्धान अघि बढाएको जनाएको छ।
शिशु सकुशल फेला परेपछि परिवारले राहतको सास फेरेको छ भने घटनाको विस्तृत अनुसन्धानपछि मात्रै चोरीको वास्तविक कारण र घटनाको पृष्ठभूमि खुल्ने प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *