नागरिकको जीवन रक्षाका लागि राज्यको सम्पूर्ण शक्ति मैदानमा छ : सरकारका प्रवक्ता पोखरेल

डिसी नेपाल
१५ भदौ २०८३ २२:२६

काठमाडौं । नेपाल सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सिङ्गो राज्य संयन्त्र नागरिकको जीवन रक्षा र उद्धारमा खटिएको बताएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन्।

प्रवक्ता पोखरेलका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी २१ हजार ८०० सुरक्षाकर्मी खोज तथा उद्धारमा खटिएका छन्। हालसम्म ११ हजार ३७९ जनाको सफल उद्धार गरिएको जानकारी दिँदै उनले हवाई सुरक्षाको मापदण्ड ध्यानमा राखेर सेना तथा निजी क्षेत्रका हेलिकप्टरहरू परिचालन गरिएको स्पष्ट पारे।

बाढीमा परी घाइते भएका नागरिकको विभिन्न अस्पतालहरूमा निःशुल्क उपचार भइरहेको र १६८ जना उपचारपछि डिस्चार्ज भइसकेको उनले जानकारी दिए। साथै, प्रभावित क्षेत्रमा महामारी फैलन नदिन विशेष मेडिकल टोली र औषधि परिचालन गरिएको छ।

सरकारले राहत वितरण गर्न नसकेको वा पन्छिन खोजेको भन्ने आरोपको खण्डन गर्दै प्रवक्ता पोखरेलले प्रदेश र स्थानीय तहसँगको समन्वयमा ऐन बमोजिम राहत र उद्धारलाई प्रभावकारी बनाइएको बताए। उद्धार कार्यमा भारत, चीन र कोरियालगायतका अन्तर्राष्ट्रिय टोलीहरूको समेत सहयोग लिइएको र हवाई चापका कारण सुरक्षालाई ध्यानमा राखेर हेलिकप्टर उडान व्यवस्थित गरिएको उनले स्पष्ट पारे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *