बाढी–पहिरोले देशभरका मुख्य राजमार्ग अवरुद्ध, यात्रुलाई वैकल्पिक मार्ग अपनाउन आग्रह

डिसी नेपाल
१६ भदौ २०८३ ८:२३

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका मुख्य राजमार्ग तथा सडकखण्डहरू अवरुद्ध भएका छन्। सडक अवरुद्ध हुँदा यातायात सेवा प्रभावित बनेको छ भने प्रहरीले यात्रुलाई जोखिमयुक्त सडकमा यात्रा नगर्न र सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

नेपाल प्रहरीले मंगलबार बिहान ७ बजेसम्मको अध्यावधिक विवरण सार्वजनिक गर्दै बाढी तथा पहिरोका कारण विभिन्न सडकखण्डमा यातायात सञ्चालन प्रभावित भएको जनाएको हो।

प्रहरीका अनुसार ललितपुरको बागमती गाउँपालिका–३ भट्टेडाँडामा भदौ १५ गते दिउँसो पहिरो खसेपछि कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ। पहिरोका कारण सडकमा सवारी आवागमन ठप्प रहेको र सडक खुलाउने प्रयास भइरहेको जनाइएको छ।

त्यस्तै, बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ। उक्त सडकखण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी साधन सञ्चालन गर्न नदिइने व्यवस्था गरिएको छ। दिउँसोको समयमा भने सडकको अवस्था र जोखिमको मूल्यांकन गरेर मात्र सवारी सञ्चालन गर्न दिइने प्रहरीले जनाएको छ।

उता, रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा बाढी आएपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। बाढीले सडकमा क्षति पुर्‍याएपछि उक्त सडकखण्डमा यातायात सञ्चालन हुन सकेको छैन।

रसुवाका अन्य मुख्य सडकखण्डहरू पनि बाढीका कारण भदौ १० गतेदेखि नै अवरुद्ध रहेको प्रहरीले जनाएको छ। बाढी तथा पहिरोका कारण सडकमा ठूलो क्षति पुगेकाले तत्कालै नियमित यातायात सञ्चालन गर्न कठिनाइ भइरहेको छ।

प्रहरीले वर्षा जारी रहेकाले सडकखण्डमा थप पहिरो तथा बाढीको जोखिम हुनसक्ने भन्दै यात्रुलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। अत्यावश्यक अवस्थामा बाहेक जोखिमयुक्त सडकमा यात्रा नगर्न तथा सम्बन्धित निकायबाट सडकको अवस्था बुझेर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ।

बाढी, पहिरो तथा सडक क्षतिको अवस्था निरन्तर अनुगमन भइरहेको र सम्भव भएका स्थानमा अवरोध हटाएर यातायात सञ्चालन गराउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *