भोटेकोशी र त्रिशूलीमा जलसतह घटे पनि उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह
काठमाडौं। भोटेकोशी र त्रिशूली नदीको जलसतह हाल सतर्कता तहभन्दा तल ओर्लिएको भए पनि उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
गत भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीपछि नदीको बहाव कम भए तापनि जोखिम अझै कायमै रहेको महाशाखाले जनाएको छ।
आज जारी गरिएको बाढी पूर्वानुमान बुलेटिनअनुसार बाढीका दृष्टिले नुवाकोट र रसुवा जिल्ला अति संवेदनशील क्षेत्रका रूपमा रहेका छन्। यी दुई जिल्ला भई बहने साना नदीहरूमा पानीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढी (फ्ल्यास फ्लड) को उच्च सम्भावना रहेको पूर्वानुमान गरिएको छ।
यसैगरी ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुङ्गा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ उपत्यकाका तीनै जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर), धादिङ, गोरखा, लमजुङ र डोल्पा जिल्ला भई बहने साना नदीहरूमा समेत बहाव बढ्नेछ। यी क्षेत्रहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहने जनाइएको छ।
त्यस्तै रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, दार्चुला, बैतडी, डडेल्धुरा, डोटी, कैलाली र कञ्चनपुर आसपासका जिल्ला भई बहने नदीहरूमा पनि जलसतह उल्लेख्य बढेर आकस्मिक बाढीको मध्यम जोखिम रहने अनुमान छ।
तटीय क्षेत्र तथा साना नदी आसपासका बासिन्दाहरूलाई सम्भावित जोखिमबाट बच्न पूर्वतयारीका साथ उच्च सतर्कता अपनाउन महाशाखाले विशेष अनुरोध गरेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment