भोटेकोशी बाढी : उद्धार, राहत र उपचार टोली सक्रिय, १ हजार ९१६ जना अझै बेपत्ता

डिसी नेपाल
१६ भदौ २०८३ ११:५४

काठमाडौं। हालैको विनाशकारी बाढीपहिरो तथा विपद्का घटनामा परी १ हजार ९१६ जना अझै सम्पर्कविहीन रहेका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको आज बिहान ९ बजेसम्मको विवरणअनुसार देशका विभिन्न जिल्लाबाट ठुलो सङ्ख्यामा शव तथा मानव अंगहरू फेला परेका छन्।

प्राधिकरणका अनुसार फेला परेका शवमध्ये चितवनमा ३२१, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७०, नुवाकोटमा ९५, गोरखामा ६५, धादिङमा ५५, तनहुँमा ३८ र रसुवामा २७ वटा रहेका छन्।

चितवनलगायतका स्थानमा विभिन्न मानव अंगसमेत फेला परेको छ। पहिचान खुल्न नसकेका शवहरूलाई विभिन्न जिल्लाका २१ वटा अस्पतालमा राखिएको छ। पहिचान हुन बाँकी शव तथा मानव अंगको विस्तृत विवरण नेपाल प्रहरीको विपद् व्यवस्थापनसम्बन्धी पोर्टलमा उपलब्ध गराइएको छ।

बाढी तथा विपद्का घटनामा परी हालसम्म २७९ जना घाइते भएका छन्। जसमध्ये विभिन्न अस्पतालमा उपचारपछि १६८ जना डिस्चार्ज भइसकेका छन्।

घाइतेको उपचारसम्बन्धी विवरण प्राधिकरणले आफ्नो वेबसाइट तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिरहेको छ। यस्तै, नेपाली सेनाले हालसम्म २ हजार ७४० जनालाई प्रत्यक्ष स्वास्थ्य उपचार सेवा उपलब्ध गराएको जनाएको छ।

प्राधिकरणका अनुसार हालसम्म ११ हजार ८१४ जनाको सफल उद्धार गरिएको छ। उद्धारका क्रममा नेपाली सेनाले हवाइ माध्यमबाट मात्रै ३ हजार ४४९ नेपाली र २५३ विदेशी नागरिक गरी कुल ३ हजार ७०२ जनाको उद्धार गरेको छ।

उद्धार तथा राहत सामग्री ढुवानीका लागि नेपाली सेनाले हालसम्म ५७३ पटक हवाइ उडान गरिसकेको छ, जसमध्ये मङ्गलबार मात्रै १२ वटा उडान भएका छन्।

यसैगरी भदौ १४ र १५ गते रसुवा र नुवाकोटका दुर्गम क्षेत्रमा सशस्त्र प्रहरी बलले ५० वटा हवाइ उडानमार्फत राहत सामग्री ढुवानी गरेको थियो। निजी क्षेत्रका काठमाडौँमा आधारित हेलिकप्टरमार्फत पनि हालसम्म २९ वटा उडान गरी उद्धार र राहत कार्यमा सहयोग पुर्‍याइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *