सुरक्षाकर्मी र विदेशी पर्यटकसहित ३ हजार ९१६ नागरिक सम्पर्कविहीन

डिसी नेपाल
१६ भदौ २०८३ २०:२३

काठमाडौं । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीको सातौँ दिन बितिसक्दा पनि तीन हजार नौ सय १६ जना नागरिक अझै सम्पर्कविहीन रहेका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मङ्गलबार पत्रकार सम्मेलन गरी सो परिमाणमा मानिसहरू बेपत्ता रहेको आधिकारिक जानकारी दिएको हो।

प्राधिकरणका कार्यकारी निर्देशक डा. धर्मराज उप्रेतीले बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य निरन्तर जारी रहे तापनि ठूलो सङ्ख्यामा मानिसहरू अझै सम्पर्क बाहिर रहेको बताए।

सम्पर्कविहीन हुनेहरूमा उद्धार र सेवामा खटिएका सुरक्षाकर्मीका साथै विभिन्न सरकारी निकायका कर्मचारीहरू समेत रहेका छन्। जसमा नेपाली सेनाका ४५ जना, नेपाल प्रहरीका २५ जना र सशस्त्र प्रहरी बलका १३ जना जवानहरू रहेका छन्।

यसैगरी भन्सार कार्यालयका १५ जना, अध्यागमन कार्यालयका तीन जना, लाङटाङ राष्ट्रिय निकुञ्जका तीन जना र क्वारेन्टाइन कार्यालयका तीन जना कर्मचारी पनि बेपत्ता सूचीमा परेका छन्।

प्राधिकरणका अनुसार जिल्ला विपद् व्यवस्थापन समितिको तथ्याङ्क आधार मान्दा रसुवाबाट करिब ६५ जना र नुवाकोटबाट करिब १५५ जना नागरिक सम्पर्कविहीन बनेका छन्। सो क्षेत्रमा सञ्चालित विभिन्न जलविद्युत् आयोजनाहरूबाट मात्रै ६३९ जना श्रमिक तथा कर्मचारीहरू हराइरहेका छन्।

त्यस्तै, हिमाली क्षेत्रमा भ्रमणका लागि पुगेका ५८३ जना विदेशी पर्यटक र उनीहरूसँगै टोलीमा रहेका १६४ जना नेपाली पथप्रदर्शक तथा सहयोगीहरू पनि बाढीपछि सम्पर्कविहीन भएका छन्। प्राधिकरण तथा स्थानीय प्रशासनले बेपत्ता भएका नागरिकहरूको खोजी कार्यलाई थप तीव्रता दिइएको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *