कृष्णभीर पहिरो: १५ दिनभित्र अस्थायी ट्र्याक खोलिने, वैकल्पिक मार्ग प्रयोग गर्न अपिल

डिसी नेपाल
१८ भदौ २०८३ १२:०७

काठमाडौं। धादिङको कृष्णभीरमा खसेको ठूलो पहिरोका कारण पृथ्वी राजमार्गको मुग्लिन-नौबिसे खण्ड पूर्ण रूपमा ठप्प भएको छ।

त्रिशूली नदीले सडक मुनिको जमिन कटान गरेपछि पहिरो खस्दा काठमाडौँ तथा धादिङ हुँदै चितवन, तनहुँ, कास्कीसहित पश्चिम नेपालतर्फ जाने-आउने सवारीसाधनहरू अलपत्र परेका छन्।

राजमार्ग अवरुद्ध भएपछि सडक विभागले तत्कालका लागि त्रिभुवन राजपथ र कान्ति राजपथलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न आग्रह गरेको छ।

सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शुभराज न्यौपानेका अनुसार सडक केही साँघुरो भए पनि त्रिभुवन राजपथबाट ठूला सवारीसाधनहरूसमेत सञ्चालन गर्न सकिने अवस्था छ।

“अहिलेलाई त्रिभुवन र कान्ति राजपथलाई नै मुख्य वैकल्पिक रुटका रूपमा लिएका छौँ, अन्य साना बाटोहरू पनि खुलाउने तयारी भइरहेको छ,” न्यौपानेले भने। कृष्णभीरमा स्थायी पुनर्निर्माणका लागि समय लाग्ने भएकाले १५ दिनभित्र अस्थायी ट्र्याक खोलेर यातायात पुनः सञ्चालनमा ल्याउने योजना विभागले बनाएको छ।

त्रिशूलीको बहाव परिवर्तनले थप जोखिम

प्रवक्ता न्यौपानेका अनुसार त्रिशूली नदीको बहाव परिवर्तन भई सोझै सडकतर्फ परिवर्तन गरेर कटान सुरु गरेकाले पूर्वाधारमा गम्भीर क्षति पुगेको छ। नदीको सतहसमेत निकै बढेकाले आगामी दिनमा आउने बाढी सडकसम्मै आउन सक्ने र थप क्षति हुने जोखिम बढेको छ।

विभागले वैकल्पिक मार्गहरूलाई थप सहज बनाउन कुन-कुन स्थानमा सडक चौडा वा मर्मत गर्नुपर्छ भन्नेबारे विस्तृत अध्ययन गरिरहेको र चाँडै आवश्यक कदम चालिने जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *