‘मिर्जापुर’ फेम अनङ्ग्शा विश्वासलाई ‘बी ग्रेड’ फिल्मका अफर, भनिन्-‘शर्टकट रोज्दिनँ’

डिसी नेपाल
१८ भदौ २०८३ १२:१९

काठमाडौं । चर्चित वेब सिरिज ‘मिर्जापुर’ मा जरिनाको भूमिका निर्वाह गरेर अनङ्ग्शा विश्वासले राम्रो पहिचान बनाइन्। सिरिजमा उनको बोल्ड अवतार देख्न पाइएको थियो।

अक्सर चलचित्र उद्योगमा बोल्ड व्यक्तित्व भएका अभिनेत्रीहरूलाई गलत नजरले हेर्ने र एउटै ढाँचा (स्टेरियोटाइप) मा सीमित गर्ने गरिन्छ। अनङ्ग्शाले पनि यस्तै नियतिको सामना गर्नुपर्‍यो।

‘बलिउड लाइफ’ सँगको कुराकानीमा अनङ्ग्शाले ‘मिर्जापुर’ पछि आफूलाई ‘सफ्ट पोर्न’ र ‘बी ग्रेड’ फिल्महरूका अफर आएको तर आफूले ती प्रस्तावहरू अस्वीकार गरेको खुलाएकी छन्।

‘मिर्जापुर’ पछि आफ्नो जीवन बदलिएको बताउने अनङ्ग्शा अभिनयलाई आफ्नो साधना मान्छिन्। उनले सफलता हासिल गर्नका लागि कुनै ‘शर्टकट’ नअपनाउने स्पष्ट पारिन्। बाटो जतिसुकै लामो भए पनि आफूले कहिल्यै छोटो बाटो नरोज्ने उनको भनाइ छ।

उनले भनिन्, “मलाई शर्टकट लिन मन पर्दैन। अभिनय मेरा लागि सरस्वतीको साधना गरेजस्तै हो। म यसलाई बेच्न सक्दिनँ। मलाई आफ्नो गन्तव्यसम्म पुग्न एक वर्ष लागोस् वा डेढ वर्ष, म जहाँ पुग्नुपर्ने हो त्यहाँ पुगेरै छाड्नेछु, तर आफ्नै सिद्धान्तमा रहेर।”

अभिनेत्रीका अनुसार ‘मिर्जापुर’ मा अन्तरङ्ग र बोल्ड दृश्यहरू गर्दा उनलाई काफी कठिनाइ भएको थियो। उनी भन्छिन्, “तपाईँले आफ्नो दिमागलाई पूर्ण रूपमा नियन्त्रण गरेर दृश्यभित्र प्रवेश गर्नुपर्छ। मानिसहरूलाई लाग्छ कि उनीहरू दृश्यमा मज्जा लिइरहेका छन्, तर वास्तविक जीवनमा त्यस्तो हुँदैन। मनभित्र जतिसुकै डर वा नर्भस भए पनि त्यो भावना क्यामेरामा देखिनु हुँदैन।”

‘मिर्जापुर’ बाट चर्चा पाएपछि आफूलाई मानिसहरूका अश्लील र आपत्तिजनक सन्देशहरू आउन थालेको अनङ्ग्शाले बताइन्। यद्यपि, वास्तविक जीवनमा आफू सो पात्रभन्दा पूर्ण रूपमा फरक रहेको उनको दाबी छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *