नेपालको बाढीपहिरोपछि अस्ट्रेलियामा सक्रियता: अस्ट्रेलियाकी सांसदसँग नेपाली समुदायको छलफल

डिसी नेपाल
१८ भदौ २०८३ १२:५२

मेलबर्न। अस्ट्रेलियाकी संघीय सांसद एलिस जोर्डन-बैर्डको मेलबर्नस्थित क्यारोलाइन स्प्रिङ्समा रहेको निर्वाचन क्षेत्र कार्यालयमा नेपाली प्रतिनिधिमण्डलसँग विशेष छलफल सम्पन्न भएको छ। बैठक मूलतः नेपालमा हालै आएको भयावह बाढी र त्यसपछिको परिस्थितिमा केन्द्रित थियो।

लुम्बिनी-कपिलवस्तु विश्व अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठको संयोजनमा भएको उक्त बैठकमा विक्टोरियाका नेपाली समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

बैठकमा शेर्पा एसोसिएसन अफ विक्टोरियाकी अध्यक्ष आन्ची शेर्पाले नेपालमा हालैको बाढीका कारण भएको व्यापक मानवीय तथा भौतिक क्षति र अन्तर्राष्ट्रिय समुदायबाट भइरहेको सहयोगबारे विस्तृत विवरण प्रस्तुत गरिन्।

यसैगरी, नेप्लिज एसोसिएसन अफ विक्टोरियाका अध्यक्ष सुदीप श्रेष्ठले विक्टोरिया तथा समग्र अस्ट्रेलियामा नेपालीहरूको तीव्र गतिमा बढ्दो जनसङ्ख्या र उनीहरूले विभिन्न क्षेत्रमा पुर्‍याएको योगदानबारे चर्चा गरे। उनले अस्ट्रेलियाली सरकार र नेपाली समुदायबीचको सम्बन्धलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिए।

छलफलमा एनआरएनए विक्टोरियाका संयोजक महादेव धानुक र मेल्टन नेप्लिज कम्युनिटीका प्रतिनिधि छट्कुलीसमेत सहभागी थिए। बैठकका क्रममा सांसद एलिस तथा उनका सहयोगीहरूले नेपालको वर्तमान अवस्था र समुदायबारे विभिन्न चासो एवं जिज्ञासा राखेका थिए।

संघीय सांसद एलिस जोर्डन-बैर्डले नेपालमा भएको दुःखद विपद्प्रति गहिरो दुःख व्यक्त गरिन्। विक्टोरियामा हाल नेपाली कन्सुलर कार्यालय नरहेको अवस्थालाई ध्यानमा राख्दै, आफ्नो पार्टीको सरकार रहेकाले नेपाली दूतावासमार्फत अस्ट्रेलियाली सरकारबाट गर्न सकिने सम्भावित सहयोगका लागि पहल गर्ने आश्वासन उनले दिइन्।

बैठकको अन्त्यमा विश्व संयोजक श्रेष्ठले व्यस्त समयका बाबजुद भेटघाटका लागि समय उपलब्ध गराएकोमा सांसद एलिसलाई धन्यवाद ज्ञापन गरे। सो अवसरमा उनले नेपालमा अपाङ्गता भएका व्यक्तिहरूले निर्माण गरेको, नेपालको नाम र राष्ट्रिय झण्डा अंकित निगालोको कलम सांसद एलिसलाई उपहारस्वरूप प्रदान गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *