बाढी प्रभावितका लागि राजर्षिजनक विश्वविद्यालयका कर्मचारीको तलब कट्टा गरी उद्धार कोषमा जम्मा गरिने

डिसी नेपाल
१८ भदौ २०८३ १४:१०

जनकपुरधाम। राजर्षिजनक विश्वविद्यालयका पदाधिकारी, शिक्षक तथा कर्मचारीहरूले रसुवास्थित भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको राहत र पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेका छन्।

विश्वविद्यालय कार्यकारी परिषद्को निर्णयअनुसार भदौ १० गतेको विनाशकारी बाढीबाट पीडित परिवारलाई सघाउन विश्वविद्यालयका सबै तहका कर्मचारीहरूको पारिश्रमिकबाट निश्चित रकम कट्टा गरी कोषमा जम्मा गर्न लागिएको हो।

विश्वविद्यालयका रजिस्ट्रार डा. जीवन काफ्लेद्वारा जारी सूचनाअनुसार २०८३ भदौ महिनाको तलब भुक्तानी गर्दा उपकुलपति र रजिस्ट्रारको एक महिनाको तलब बराबरको रकम कट्टा गरिनेछ।

त्यसैगरी डीन, निर्देशक, नियन्त्रक, प्राध्यापक, प्रशासक, सहप्राध्यापक र सहप्रशासकलगायत सो सरहका पदबाट १५ दिनको तथा सहायक डीन, सहनियन्त्रक, उपप्राध्यापक र उपप्रशासकबाट १० दिनको तलब कट्टा हुनेछ।

सहायक प्राध्यापक र शाखा अधिकृत सरहका कर्मचारीबाट सात दिन, मुख्य कार्यालय सहायक र कार्यालय सहायकबाट पाँच दिन तथा सवारी चालक र कार्यालय सहयोगीलगायत श्रेणीविहीन कर्मचारीबाट दुई दिनको तलब रकम कट्टा गरी कोषमा जम्मा गरिनेछ।

बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको भन्दै विश्वविद्यालयले गहिरो दुःख व्यक्त गरेको छ। यो सहयोगले विपद् व्यवस्थापन र प्रभावितहरूको उद्धार तथा पुनर्स्थापनामा महत्वपूर्ण टेवा पुग्ने विश्वास विश्वविद्यालयले लिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *