भोटेकोशी बाढीपीडितका लागि सेफ टंक सापकोटाको ५१ लाख रुपैयाँभन्दा बढी सहयोग

डिसी नेपाल
१८ भदौ २०८३ १४:४७

लिस्बन (पोर्चुगल)। पोर्चुगलमा चर्चित नेपाली ‘सेफ’ टंक सापकोटाले रसुवाको भोटेकोशी बाढीप्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ५१ लाख ११ हजार १५१ रुपैयाँ आर्थिक सहयोग गरेका छन्। उनले बुधबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सो रकम जम्मा गरेका हुन्।

पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले सापकोटाको परोपकारी भावना र सामाजिक उत्तरदायित्वको प्रशंसा गर्दै यो सहयोग प्रशंसनीय र प्रेरणादायी रहेको बताए।

सापकोटाले आफ्ना दाजु लक्ष्मीप्रसाद र श्रीमती सीता सापकोटासँगको सल्लाहमा परिवारका तर्फबाट उक्त सहयोग रकम हस्तान्तरण गरिएको जानकारी दिए।

“संसार बदल्न नसके पनि विपद्को यो कठिन घडीमा मातृभूमिका नागरिकको दुःखमा साथ दिनु मानवीय दायित्व हो,” सापकोटाले भने।

विगत ३० वर्षदेखि पोर्चुगलमा बस्दै आएका बागलुङ, दमेकका सापकोटा लिस्बनमा चारवटा सफल रेस्टुरेन्ट सञ्चालन गर्दै आएका छन्। पाककलामा विभिन्न अन्तर्राष्ट्रिय अवार्ड जितेका उनले यसअघि कोरोना महामारीका बेला लिस्बनमा करिब १० हजार मानिसलाई निःशुल्क खाना खुवाउनुका साथै अन्य विपद्मा पनि सहयोग गर्दै आएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *