भोटेकोशी बाढीलाई ‘हिमालयन सुनामी’को संज्ञा दिँदै परराष्ट्रमन्त्री खनालद्वारा कूटनीतिक नियोगलाई ब्रिफिङ
काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले काठमाडौंस्थित कूटनीतिक समुदायका प्रतिनिधिहरूलाई रसुवागढीको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र त्यसपछिको उद्धार तथा राहतको पछिल्लो अवस्थाबारे विस्तृत जानकारी गराएका छन्।
परराष्ट्र मन्त्रालयमा बिहीबार आयोजित ब्रिफिङमा विभिन्न देशका राजदूत, नियोग प्रमुख, संयुक्त राष्ट्रसंघ, विश्व बैंक तथा एसियाली विकास बैंकका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
परराष्ट्रमन्त्री खनालले गत भदौ १० गते रसुवागढीस्थित भोटेकोशीमा आएको बाढीलाई ‘हिमालयन सुनामी’को संज्ञा दिँदै हालसम्मको स्मृतिमा यति ठूलो परिमाणको विनाशकारी विपद् अनुभव नगरिएको स्पष्ट पार्नुभयो।
बाढी रसुवाबाट त्रिशूली हुँदै नारायणी नदी प्रणालीसम्म पुग्दा रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका विभिन्न क्षेत्रमा जनधन तथा भौतिक पूर्वाधारमा गम्भीर क्षति पुगेको उनले जानकारी दिए।
मन्त्री खनालका अनुसार बाढीको पहिलो दिनदेखि नै सरकारले उद्धार र राहतलाई प्राथमिकतामा राखेर कार्य गरिरहेको छ। सेना, प्रहरी र सशस्त्र प्रहरीसहित २१ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरी उद्धार कार्य चुस्त बनाइएको उनले बताए।
साथै, बेपत्ता विदेशी नागरिकको खोजी तथा सहजीकरणका लागि मन्त्रालयमा आपत्कालीन नियन्त्रण कक्ष स्थापना गरी सम्बन्धित निकायहरूसँग निरन्तर समन्वय भइरहेको छ।
विपद्को यस कठिन घडीमा उद्धार, प्राविधिक र आर्थिक सहयोग उपलब्ध गराउने विभिन्न मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय संस्थाहरूप्रति आभार व्यक्त गर्दै मन्त्री खनालले मौद्रिक सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत मात्र परिचालन हुने जानकारी दिए।
विपद्को नाममा हुन सक्ने ठगी र नक्कली क्यूआर कोडप्रति सजग रहन पनि उनले आग्रह गरे।
भोटेकोशी विपद्लाई हिमालय क्षेत्रमा बढ्दो जलवायु जोखिमसँग जोडेर हेर्नुपर्नेमा जोड दिँदै मन्त्री खनालले प्रभावित केही क्षेत्रबाहेक काठमाडौं, पोखरा, चितवन, अन्नपूर्ण र सगरमाथा क्षेत्रलगायत देशका प्रमुख पर्यटकीय गन्तव्यहरू र विमानस्थलहरू पूर्ण रूपमा सुरक्षित र खुला रहेको स्पष्ट पारे।
नेपाल पर्यटक स्वागतका लागि तयार रहेको सन्देश आ-आफ्ना देशमा प्रवाह गरिदिन पनि उनले कूटनीतिक नियोगका प्रतिनिधिहरूसँग अपिल गरे।
No ads found for this position


डिसी नेपाल
Facebook Comment