नागरिक बचाउनु सरकारको पहिलो कर्तव्य हो, सहयोग लिन संकोच नगरौं : सांसद खड्का
काठमाडौं। नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै बेपत्ता नागरिकको तत्काल खोजी तथा उद्धार गर्न सरकारसँग माग गरेका छन्।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खड्काले बाढीमा परी ज्यान गुमाउने स्वदेशी तथा विदेशी नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ताको यथाशीघ्र खोजतलास गर्न सरकारसँग माग गरे। उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरे।
खड्काले आफ्नो गृहजिल्ला डोटीका दीपक बोहरा र कीर्ति विष्टलगायतका नागरिकसमेत हालसम्म अज्ञात अवस्थामा रहेको बताए। उनीहरूको तत्काल खोजी गर्न सरकारसँग जोडदार माग गरे।
उनले नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो कर्तव्य भएको बताए। नागरिकको उद्धारका लागि मित्र राष्ट्र तथा सहयोगी संघ–संस्थाबाट आवश्यक सहयोग लिन सरकारले कुनै संकोच गर्न नहुने उनको भनाइ थियो।
‘सरकारको पहिलो कर्तव्य नागरिक बचाउनु हो, नागरिक बचाउनका लागि कुनै पनि मित्र राष्ट्र वा सहयोगी संघ–संस्थाबाट लिने सहयोगमा कुनै संकोच गर्नुहुँदैन,’ उनले भने।
खड्काले विपद्को अवस्थामा उद्धार तथा राहतलाई प्रभावकारी बनाउन तीनै तहका सरकारलाई सहभागी गराउनुपर्नेमा जोड दिए। साथै राजनीतिक दल, नागरिक समाज तथा सम्बद्ध सबै पक्षलाई साथमा लिएर विपद् व्यवस्थापनको काम अघि बढाउनुपर्ने बताए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment