रसुवा बाढीका कारण सुरुङमा फसेका नेपाल विद्युत् प्राधिकरणका दुई प्राविधिकको जीवितै उद्धार
काठमाडौं। रसुवामा आएको भीषण बाढीका कारण माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका नेपाल विद्युत् प्राधिकरणका दुई जना प्राविधिक कर्मचारीको जीवितै उद्धार गरिएको छ।
उद्धार गरिएकामा मेकानिकल सुपरभाइजर कवीर महर्जन र मेकानिकल फोरम्यान सञ्जय साह रहेका छन्। काठमाडौं महानगरपालिका वडा नं. ३ बालकुमारी स्थायी घर भई हाइड्रोपावर अटोमेसन प्रोजेक्टमा मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत ४५ वर्षीय कवीर महर्जनको सफलताका साथ उद्धार गरिएको हो।
त्यसैगरी सप्तरी जिल्लाको कोइलाडी-८ घर भई माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनामा मेकानिकल फोरम्यानका रूपमा कार्यरत ३० वर्षीय सञ्जय साहको पनि सकुशल उद्धार गरिएको छ।
आयोजनामा काम गरिरहेको अवस्थामा बाढीका कारण सुरुङको प्रवेशद्वार थुनिएपछि दुवै जना भित्रै फसेका थिए। नेपाल विद्युत् प्राधिकरण तथा उद्धार टोलीको निरन्तरको प्रयासपछि दुवै जनालाई जीवितै बाहिर निकाल्न सफलता मिलेको छ।
उद्धार गरिएका दुवै प्राविधिकलाई तत्काल प्रारम्भिक उपचार प्रदान गरी थप स्वास्थ्य उपचारका लागि काठमाडौँ ल्याउने तयारी भइरहेको छ। घटनापछि उनीहरूका परिवारजन (कवीर महर्जनका दाजु अमिर महर्जन र सञ्जय साहकी पत्नी लक्ष्मी कुमारी साह) लाई समेत सम्पर्क गरी जानकारी गराइसकिएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment