हिमताल विष्फोट र यसबाट हुने विशाल क्षति
भाग २ : हिमालय बारेको एक छोटो विवरण
हिमालय केवल एक सेतो पर्वतमाला मात्र नभई विश्वको पानीको ठूलो भण्डार पनि हो। युरेशियन टेक्टोनिक प्लेट (तिब्बती पठार) र भारतीय टेक्टोनिक प्लेट (भारतीय उपमहाद्वीप) लाई छुट्याउने पर्खाल जस्तो भूभाग भएकाले यी दुई बीच लाखौँ वर्षदेखि भइरहेको घर्षणका कारण हिमालय अग्लिँदै गएको भूगर्भशास्त्रीहरू बताउँछन्। यही घर्षणको निरन्तरताले गर्दा यस क्षेत्रमा ठूला-ठूला भूकम्पहरू जाने गर्छन्।
हिमालयमा पाइने ऐतिहासिक जीवावशेष तथा वनस्पतिका अवशेषसहितका पत्थरहरूले लाखौँ वर्षअघि आजको हिमालय रहेको स्थानमा तिब्बती पठार र भारतीय उपमहाद्वीप जोडिनुपूर्व यो क्षेत्र समुद्रमा पर्दथ्यो भन्ने कुराको पुष्टि गर्छन्।
हिमालयसँगै जोडिएको विश्वको दोस्रो ठूलो पर्वतमाला काराकोरम हो, जुन चीन, भारत, पाकिस्तान, अफगानिस्तान र ताजिकिस्तानसम्म फैलिएको छ। काराकोरम र हिमालयको भौगर्भिक अवस्थामा केही फरक भेटिन्छ। हिमालय पर्वतमाला काराकोरमभन्दा निकै अग्लो छ भने काराकोरम हिमालयको तुलनामा सुक्खा पर्वतमाला हो।
हिमालय पर्वतमाला पाँचवटा मुलुकमा फैलिएको छ। करिब २,४०० किलोमिटर लामो हिमालयको ८५० किलोमिटर भाग नेपालमा पर्छ। भारतको कास्मिर, लद्दाख र अरुणाचल प्रदेशमा गरी करिब ४०० किलोमिटर तथा पाकिस्तानमा करिब ३२० किलोमिटर हिमाल पर्छ। त्यसैगरी भुटानमा करिब ३३५ किलोमिटर हिमालयको हिस्सा पर्छ।
हिमालय उत्तरतर्फ तिब्बतमा झर्दै जाने भएकाले तिब्बतमा पनि करिब १,००० किलोमिटर हिमालय पर्छ, जसलाई भारतीय उपमहाद्वीपका बासिन्दाले ‘ट्रान्स हिमालयन रिजन’ (हिमालयपारिको क्षेत्र) भनेर चिन्छन्। कैलाश पर्वत, मानसरोवर ताल तथा ब्रह्मपुत्र नदीको स्रोत हिमालयपारि नै अवस्थित छन्।
चीनतर्फको हिमाल पूर्वमा दक्षिणपूर्वी तिब्बतको नाम्चाबर्वामा पुगेर सकिन्छ। हिमालयको औसत चौडाइ पूर्वमा १५१ किलोमिटरदेखि पश्चिममा ३५० किलोमिटरसम्म छ। जति उत्तरतर्फ गयो, यो त्यति नै अग्लो, हिउँका कारण चिसो र सेतो देखिन्छ।
हिमालयको उचाइका कारण बादलमा रहेका पानीका कणहरू यस पर्वतमा ठोक्किँदा यहाँको अत्यधिक चिसो तापक्रमले गर्दा पग्लेर हिउँमा परिणत भई जमेर बस्छन्। साथै, ठूलो परिमाणमा पानी बनेर बग्दै र विभिन्न ठाउँको भूमिलाई सिञ्चित गर्दै समुद्रमा पुगेर बिसर्जन पनि हुन्छन्।
विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथा नेपालको हिमालयमा पर्छ भने दोस्रो उच्च शिखर गॉडविन ऑस्टिन (के-टु) पाकिस्तानको काराकोरम पर्वतमालामा अवस्थित छ। ७,२०० मिटरभन्दा उचा १०० भन्दा बढी हिमशिखरहरू हिमालयमा नै पर्छन्।
विश्वका १४ वटा ८,००० मिटरभन्दा उचा हिमशिखरमध्ये के-टुलाई छाडेर बाँकी सबै हिमालयमा नै पर्छन्; तीमध्ये ८ वटा त नेपालमै रहेका छन्। पर्वतविद्हरूको भनाइमा अन्य ६ वटा यो श्रेणीका हिमाल पनि यसै क्षेत्रमा पर्छन्।
हिमालयका पर्वतहरू अन्य हरिया पहाडको तुलनामा सेता हुन्छन् र यहाँको अति ठण्डीका कारण वनस्पति तथा जीवजन्तुहरू विरलै भेटिन्छन्। तापनि हिमालको अति चिसो मौसममा अनुकूलित भई बस्न सक्ने जीवजन्तु र वनस्पति नभएका भने होइनन्।
हिमालमा अग्ला टाकुरा मात्र हुँदैनन्; यिनका काखमा ठूलो परिमाणमा पानी अटाउने प्राकृतिक खाल्डाहरू हुन्छन्, जसमा हिउँ र पानी भरिएर ताल बन्छन्। यी तालले पानी सञ्चय गरेर राखेका हुन्छन्।
हिमालमै अवस्थित भएकाले यस्ता तालमा अधिकांश पानी हिउँकै रूपमा जमेर रहेको हुन्छ भने बेलाबेलामा तापक्रमको घटबढ हुँदा चिसो पानीका रूपमा देखिन्छ। यस्ता हिमतालमा बढी भएको पानी र हिमालबाट प्राकृतिक तवरले पग्लँदै जाने हिउँबाट बनेको पानी तल्लो भूभागमा बग्नु स्वाभाविक नै हो।
हिमालमा जमेर बस्ने हिउँ कतै ज्यादै बाक्लो गरी थुप्रिएको हुन्छ त कतै पातलो हुन्छ। बाक्लो गरी जमेको हिउँ बेलाबेलामा भासिएर हिउँको पहिरो (हिमपहिरो) जाने गर्छ। केही पहिरा साना हुन्छन् भने केही विशाल।
वायुको वेग, तापक्रममा वृद्धि, भूकम्प आदि पहिरो जानुका विभिन्न कारण हुन सक्छन्। हिमपहिरोसँगै हिमालको भीरमा रहेका विशाल चट्टानहरूसमेत खस्न सक्छन्। यस्ता हिमपहिरोमा परी धेरै पर्वतारोहीको निधन भइसकेको छ।
कतिपयको शव विशाल पहिरोले ढाकिने भएकाले भेट्टाउनै सकिँदैन र ती हिमालमा सग्लो अवस्थामै रहिरहन्छन्। सगरमाथाको शिखरमा सबैभन्दा पहिला पुगेका भनिएका जोर्ज म्यालोरीको सन् १९२४ मा सगरमाथाको चुचुरोबाट तल ओर्लिने क्रममा सम्भवतः हिमपहिरोमै परेर निधन भएको थियो। उनको शव निकै पछि अर्थात् सन् १९९९ मा सगरमाथाको चुचुरोभन्दा केही तल सग्दै फेला परेको थियो।
विश्वको तापमानमा भइरहेको अप्रत्याशित वृद्धिका कारण हिमालय क्षेत्रमा ज्यादै नकारात्मक प्रभाव पर्न थालेको छ। अब हिमालयको माथिल्लो क्षेत्रमा पनि गर्मी बढ्न थालेको छ भने समुद्री तटतिर मात्र भेटिने जीवजन्तु र वनस्पतिहरू हिमालयमा पनि देखिन थालेका छन्।
उच्च तापक्रमकै कारण हिमालको हिउँ तीव्र रूपमा पग्लन थालेकाले हिमशिखरहरू नाङ्गा हुँदै गएका छन्। हिमालको हिउँ पग्लनु भनेको यहाँ भएको पानीको भण्डार तल्लो भूभागमा जम्दै सकिने क्रममा जानु हो, किनकि नयाँ हिउँ जम्न आवश्यक चिसो तापक्रमको त्यहाँ कमी हुँदै गएको छ।
विगत केही दशकको मात्र कुरा गर्ने हो भने पनि नेपाल, भारत र पाकिस्तानका हिमालमा हिमपहिरो र हिमताल विस्फोट तथा त्यसबाट भएका हानि-नोक्सानीबारे धेरै तथ्याङ्कहरू रेकर्ड भइसकेका छन्।
सन् २०२६ को केही साताअघि मात्र पाकिस्तानको ब्रोडपिकमा गएको हिमपहिरोमा परेर विश्वप्रसिद्ध पर्वतारोही निम्स पुर्जा (निर्मल पुर्जा) र विभिन्न मुलुकबाट आएका उनको पर्वतारोहण दलका सदस्यहरूको निधन भएको थियो।
त्यस्तै, गत वर्ष हिमताल विस्फोटका कारण पाकिस्तानी हिमालयबाट सुरु भएको विशाल बाढीले पाकिस्तानको सबैभन्दा ठूलो नदी सिन्धको अधिकांश किनारी क्षेत्रलाई डुबानमा पार्नुका साथै ठूलो धनजनको क्षति पुर्याएको थियो।
सन् २०१२ मा पाकिस्तानको सियाचेन ग्लेशियर क्षेत्रको गायरीमा अवस्थित पाक सैनिक अखडा विशाल हिमपहिरोका कारण पूरै पुरिएको थियो। त्यतिबेला करिब १४० जना सैनिक मारिएका थिए।
भारतको हिमालय क्षेत्रमा वातावरण विनाशकै कारण सन् २०१३ मा उत्तराखण्डमा विशाल बाढी आएर झण्डै ६,००० मानिस बेपत्ता भएका थिए। त्यस्तै, एक वर्षपहिले पनि उत्तराखण्डमा विशाल पहिरोसँगै बाढी आएर ठूलो धनजनको क्षति भएको थियो।
सन् २०२३ मा भारतको सिक्किममा हिमताल विस्फोटपछि आएका बाढीले ठूलो धनजनको क्षति पुर्याउनुका साथै विकासका धेरै पूर्वाधारहरूसमेत बगाएको थियो।
पाकिस्तान र भारतबीच कास्मिर मुद्दालाई लिएर हुने द्वन्द्व तथा काराकोरम र कास्मिर क्षेत्रमा हुने सैन्य उपस्थिति एवं अभ्यासका कारण पनि त्यस क्षेत्रको वातावरणमा निकै नराम्रो असर पर्ने गरेको छ। पाकिस्तानी क्षेत्रमा बनेको काराकोरम राजमार्ग विश्वकै सबैभन्दा उच्च क्षेत्रमा निर्मित सडक मार्ग हो।
यही मार्गबाट चीन र पाकिस्तानबीचको व्यापार तथा सैन्य बन्दोबस्तीका सामानको ओहोरदोहोर हुन्छ। यता भारतले पनि आफ्नो क्षेत्रको कास्मिर र लद्दाखको उच्च क्षेत्रमा त्यस्तै राजमार्ग बनाएर सो क्षेत्रको वातावरणलाई खतरापूर्ण बनाउन मद्दत पुर्याएको छ।
सन् १९९९ मा यी दुई मुलुकबीच भएको कारगिल युद्धले त त्यस भेगको हिमालयलाई निकै नकारात्मक रूपमा प्रभावित गरेको थियो; हिमालका चुचुराहरूबाट एकापसमा बम र बन्दुक पड्काएर ठूलै युद्ध रचिएको थियो।
नेपालले पनि भारत र पाकिस्तानकै सिको गर्दै हिमाली क्षेत्रसम्मै मोटरबाटो पुर्याउने र विनाशकारी विकासको थालनी गरिरहेको छ। हिमाली क्षेत्रलाई शान्त स्थलका रूपमा कायम राख्नुको सट्टा यसको वातावरण नै खल्बलिने गरी विकास पुर्याउनु गलत हो।
मोटरबाटोको सट्टा केवलकारलाई प्रोत्साहित गर्दा राम्रो हुने थियो। साथै, त्यहाँको पर्यटनलाई पनि वातावरणमैत्री ढङ्गले विकास गर्नु उपयुक्त हुन्छ।
हिमालयमा एकातिर हिमपहिरोको चपेटामा परेर निकै धनजनको क्षति हुने गरेको छ भने अर्कोतिर हिमतालहरूको जोखिम पनि बढ्दो छ। तापक्रम वृद्धिसँगै हिमतालहरूको सङ्ख्या पनि ह्वात्तै बढेको छ। हेर्दा निकै सुन्दर देखिने हिमतालहरू वास्तवमा ज्यादै कमजोर बनावटका खाल्डामा पानी जमेर बनेका हुन्छन्।
हिउँ भएर बस्दा त्यो हलुका र एक ढिक्का देखिए पनि तापक्रम बढेर भित्रभित्रै पानी बन्न थालेपछि यसको वजन र परिमाण दुवै बढ्न थाल्छन्। यसमा जम्मा भएको पानी भित्रभित्रै रसाउँदै निकै परसम्म फैलिइरहेको हुन्छ, जसले पूरै क्षेत्रलाई कमजोर बनाउँछ।
माथि हिमालको हिउँ पग्लेर सो तालमा जम्मा हुन थालेपछि त्यसले पानी थेगेर राख्न निकै मुस्किल पर्छ; भने हिउँविनाका विशाल चट्टानहरू पनि गिजा नभएका दाँतजस्तै कमजोर भएर तल खस्न थाल्छन्।
यस्तो अवस्थामा सानोतिनो भूकम्प जाँदा पनि पानी नराम्ररी छचल्किन थाल्छ र हिमालका चट्टान खस्दा तालको कमजोर छेउलाई भत्काउँदै माटो, चट्टान र पानीसहितको लेदो बाहिर निस्कन थाल्छ।
यदि त्यसरी पानी निस्कँदा तालको छेउको ठूलै भाग अकस्मात् भत्कियो भने त्यहाँबाट थेग्नै नसकिने गरी विशाल भेल निस्किएर बाटोमा पर्ने सबै ठाउँ भत्काउँदै र बगाउँदै तीव्र बेगमा तलतिर बग्न थाल्छ।
कतिपय हिमाली क्षेत्रमा हिउँ पग्लेर जमिनभित्र पस्दै अर्कै ठाउँमा गएर जम्मा हुने वा अर्को ठाउँमा हिमताल बन्ने गर्छ। नेपालमा यसबारे अध्ययन गर्ने खासै आधिकारिक निकाय वा उपकरण छैन।
सन् १९७० को दशकमा जापान सरकारले एक अध्ययन गरेको थियो भने इसिमोडले पनि बेलाबेलामा अध्ययन गरिरहेको हुन्छ। केही नेपाली शोधकर्ता र यस क्षेत्रका विज्ञहरू पनि काम गरिरहेका छन्।
चीनको एक अध्ययनअनुसार चीनबाट नेपालतर्फ पानी बग्ने हिमाली क्षेत्रमा मात्रै करिब २५ वटा अति जोखिमपूर्ण हिमतालहरू छन्। तीमध्ये एक हो- हालैको विध्वंसकारी बाढी निम्त्याउने लाङटाङ हिमालमा अवस्थित हिमतालको मुहानसहितको ठूलो हिमताल।
विश्वमा सबैभन्दा बढी कार्बन डाइअक्साइड ग्याँस उत्सर्जन गर्ने मुलुकहरूको पङ्क्तिमा अमेरिका, चीन, भारत र अन्य औद्योगिक राष्ट्रहरू पर्छन् भने नेपालले यस्ता विषालु ग्याँस नगण्य मात्रामा उत्सर्जन गर्छ।
तर ती ठूला मुलुकहरूका कारण वातावरणमा परेको असरले नेपालजस्ता साना मुलुकहरू निकै मर्कामा पर्ने गरेका छन्। साना देशका बोलीको सुनुवाइ हुँदैन भने ठूला भनिने सबैजसो मुलुक वातावरण प्रदूषणका मुद्दामा ‘दूधका साक्षी बिराला’ जस्तै छन्।
हिमालको पानी दक्षिण एसियाका दुई विशाल नदी-पाकिस्तानको सिन्धु (इन्डस) नदी र चीनबाट भारततर्फ झर्ने ब्रह्मपुत्र नदी हुँदै क्रमशः अरब सागर र बङ्गालको खाडी (हिन्द महासागर) मा बिसर्जन हुन्छ।
यी दुई नदीका बीचमा विभिन्न ठूला-साना नदीहरू, खास गरी भारतको गङ्गा नदीमा मिसिएर समुद्रमा पुग्छन्। नेपालका कोशी, गण्डकी, कर्णाली, महाकाली जस्ता विशाल नदीहरू हुँदै पानी गङ्गा नदीमा मिसिन जान्छ।
सामान्य अवस्थामा यसरी हिमालको पानी विभिन्न नदीहरूमा मिसिँदै समुद्रसम्म पुग्नुमा कुनै चिन्ता हुँदैन; तर विशाल बाढीका साथ नदीले थेग्नै नसक्ने गरी पानीको बहाव बढेर बस्तीका बस्ती र ठूलो धनजन बगाउँदै अघि बढ्नु भनेको एक भयावह र प्रलयकारी अवस्था हो।
पाकिस्तानमा बग्ने सतलज र सिन्धु नदी चीन हुँदै कास्मिर भएर तल झर्छन्। सिन्धु नदीको उद्गम स्थल त चीनको कैलाश-मानसरोवर नजिकैको बोखाचु भन्ने ठाउँको हिमताल नै हो। चिनियाँहरू चीनमा पर्ने सिन्धुलाई ‘सिङ्गी खाम्बान’ अर्थात् ‘सिंहको मुख’ भनेर चिन्छन्।
यो नदी चीनबाट भारतको कास्मिर हुँदै पाकिस्तानी कास्मिरमा गएर तल झर्छ। झेलम, चेनाब र व्यास नदी भने कास्मिरबाट सुरु भएर तल झर्छन्। यिनीहरू सबैको सङ्गम भने पाकिस्तानमा पर्ने विशाल सिन्धु नदी हो, जहाँ सिन्धु घाटीको सभ्यता फस्टाएको थियो।
यी पाँचवटा नदीको सङ्गम भएकाले नै भारत र पाकिस्तानमा पर्ने ज्यादै उर्वर भूमि पञ्जाब (संस्कृत शब्द ‘पञ्च आब’ अर्थात् पाँचवटा नदी) बनेको हो।
भारतको उत्तराखण्डबाट निस्कने करिब २,५०० किलोमिटर लामो गङ्गा नदीमा पश्चिमी हिमालयबाटै निस्किएको यमुना मिसिएर पूर्वतर्फ अघि बढेपछि नेपालतर्फको हिमालबाट निस्कने सबै ठूला नदीहरू यसैमा मिसिन्छन्।
ब्रह्मपुत्रमा मिसिने बेलामा विशाल गङ्गालाई बङ्गालीहरू ‘पद्मा’ नदी भन्छन् र यो नदी चीनबाट आएको ब्रह्मपुत्रमा मिसिएर अन्ततः हिन्द महासागरमा पुगेर टुङ्गिन्छ। विभिन्न नदी मिसिएर विशाल बनेका सिन्धु र गङ्गामा समुद्रबाट निकै भित्रसम्म पनि साना जहाजहरू चल्ने गरेका छन्। हिमालय पर्वतबाट आएका यी सबै नदीलाई सनातन धर्मले पवित्र नदीका रूपमा हेरेको छ।
यसरी हिमालयबाट निस्कने यी विशाल नदीहरूका कारण दक्षिण एसिया एक उर्वर भूमिको रूपमा चिनिन्छ। उच्च हिमालबाट खस्दै यी नदीहरू मैदानमा पस्नुभन्दा पहिले हजारौँ मेगावाट विद्युत् उत्पादन गर्न सकिने सम्भावना हुन्छ।
हिमालयका सबै मुलुकहरू-पाकिस्तान, भारत, नेपाल, भुटान तथा चीनको तिब्बतमा जलविद्युत् उत्पादन भइनैरहेको छ। हिमालयको कञ्चन पानी र स्वच्छ हावा भएको यस भूमिमा करिब ६ करोड मानिसहरू बसोबास गर्छन्।
विश्वमा तीव्र रूपमा भइरहेको औद्योगिक तथा आर्थिक विकास, बढ्दो जनसङ्ख्या, र मानव जातिलाई आवश्यक पर्ने गाँस, बास र अन्य सुविधाहरू उपलब्ध गराउने होडबाजीका कारण पृथ्वीको वातावरणमा निकै नराम्रो असर परेको छ।
पुँजीवादी अर्थतन्त्र अनुसार आवश्यकताभन्दा बढी वस्तु उत्पादन गरेर बिक्रीका लागि राख्नुपर्ने बाध्यता छ। उद्योगधन्दा, यातायात र अन्य प्रयोजनका लागि दिनहूँ प्रयोग हुने जैविक इन्धनले पृथ्वीको तापक्रम बढाउँदै लगेको छ भने विश्वको हरित भूभाग मास्दै विकासका नाममा विनाश मच्चाउँदा पृथ्वी कुरूप र असुरक्षित बन्दै गएको छ।
यो सबैको सोझो असर हाम्रो हिमालयमा पर्दा आज हिमालयको काखमा अवस्थित सबै मुलुक र यहाँका बासिन्दाहरू खतरापूर्ण र अनिश्चित जीवनयापन गर्न बाध्य छन्।
(अर्को अंकमा हामी नेपालको हालैको विनाशकारी बाढीबारे बाँकी कुरामा छलफल गर्नेछौं।)
कपिल लोहनी विकास अर्थशास्त्री, एकल व्यक्तित्व समाज र समसामयिक गायक समाजका अध्यक्ष हुन्।
No ads found for this position



Facebook Comment