कविता :  आगोमा जलिरहेको संसार

शंकरप्रसाद रिजाल
२० भदौ २०८३ ७:२३

आगोमा जलिरहेको छ यो संसार,

कसैको पनि छैन यहाँ शान्त विचार।

कसको छ यहाँ प्राज्ञिक उच्च विचार?

कहाँ हरायो त्यो मानिसको सदाचार?

ईश्वरले त बनाए मानिसहरू र प्राणी,

तर यहाँ के रह्यो र ईश्वरको निशानी?

कतै झगडा गर्छन्, कतै दुष्प्रेम आपसमा,

कोही मिलिजुली बस्दैनन् आफ्नै नजिकमा।

हत्या-हिंसा छ सबैतिर, गोला-बारुद ओइरिए,

सारा आगो लागेको छ, बादल गर्जेझैँ गरी।

कति मरे घरमा, कति डढे जमिनमा लडी,

कसलाई यहाँ के छ मतलब, नाचेका छन् उफ्री।

जलेर खरानी भए कति मानिसहरू संसारमा,

मरेर कति गए स्वर्गमा अचानक यो बमबारीमा।

कति भत्किए महलहरू, मानिस अझै छन् डरमा,

भग्नावशेष भयो यो संसार, जलेर सब खरानीमा।

ईश्वरको सृष्टि पनि कस्तो, मानिस हँसाई मार्ने!

धार्मिक र पापी को-को हुन्, कसरी छुट्याई तार्ने?

ईश्वरको दृष्टिमा भन्छन्, कोही असमान छैन रे!

यस्तो सुकेको भजन गाई कसले के पाउँछ रे?

जलेर मर्ने भाग्य लेख्ने भावी त्यो कहाँ छ?

जहाँ जे भए पनि लुकी बस्ने उनको बानी छ।

शान्तिभन्दा कोलाहलमा उनलाई मजा आउँछ कि?

आफ्नै सन्तानले दुःख पाउँदा खुसी हुने मन छ कि?

यो संसारको गतिविधि हेर्दा म दिक्क हुन्छु,

म पनि जली-जली मलाई अब खरानी बनाउँछु।

फर्केर आउन्न अब, मरेपछि बस्छु गोकुलमै,

कोही आऊन्-नआऊन्, म बस्छु स-आनन्दमै!

कोही आऊन्-नआऊन्, म बस्छु स-आनन्दमै!

 घुम्ने मेचमाथि अन्धो मान्छे

घुम्ने कुर्सीमा बसी मान्छे कसरी घुम्दछ?

अन्धो बनेपछि मानिस आफैँ घुम्दछ।

शक्तिको मातमा बसेको छ यो कुर्सी,

यसैमाथि बसी नेताहरू घुम्छन् अन्धो भई।

राजनीतिको वृत्तमा कुर्सी शक्तिशाली बन्दछ,

कालो चस्माले कता हेरी भित्र आँखा घुमाउँछ।

कालो चस्माले आफूलाई शक्तिशाली बनाउँछ,

वरिपरि केही नहेरी आफ्नो राजनीति चलाउँछ।

ठूला नेताहरू यसैमा बस्न मरिहत्ते गर्दछन्,

जनतालाई छली, झुक्याई ललीपप देखाउँछन्।

“यो गर्छु, यो दिन्छु” भनी कुर्सीमा चिप्लेटी खेल्दछन्,

कडा गमले टाँसिएजस्तो यसैमा चप्प पर्दछन्।

ठूलो बहादुरी गरेजस्तो छाती फर्काई हिँड्दछन्,

सानो मुसो पनि नमर्ने गरी भाषण ठूलो गर्दछन्।

गर्नेको सुरुवात नै राम्रो, नगर्नेको कुरै तितोपिरो,

मुखले जे बोले पनि गर्ने काम गर्दैनन् कैयौँ ठूलो।

यस्तै हुन्छ घुम्ने मेचमाथि बस्नेहरूको चाला,

आफ्ना झोले कर्ता साथ लिई बस्ने लालाबैला।

को सज्जन, को दुर्जन-पत्तो हुन्न कोही कसैलाई,

मालिकको भजन गर्न पाए खुसी हुन्छन् सबैजना।

कालो चस्मा डरको पर्दा हो, यसले बाहिर देख्दछ,

अरूले देखे आँखा जुधाउन नसकी डर छेक्ने उपाय छ।

नबोल्ने मानिसको बानी साह्रै प्रिय बन्न सक्दैन,

जनताबाट निर्वाचित नेता चुप लागेर बस्नुहुन्न।

काम पनि गर्ने, कुरा पनि गर्ने-त्यो व्यवहार राम्रो हो,

घुम्ने मेचमाथि बसे पनि आफूलाई बिस्तारै सुधार्ने हो।

जनता सधैँ दुःख पाउने, नेता सधैँ कुर्सीमा रमाउने,

हुँदैन यसले राम्रो, सधैँ देशमा आन्दोलन भइरहने।

कुर्सीको मोहले आज पुराना नेताहरू कता पुगे?

यो सत्ताको कुर्सी रेलको एक डिब्बा हो, यो चलिरहन्छ।

घुम्ने कुर्सीमा बस्ने शासक घुमिरहन्छन् सधैँभरि,

कोही पनि त्यो कुर्सीमा हेर, बस्न पाउन्नन् अजम्बरी।

यही हो भजन घुम्ने मेचमाथि बस्नेहरूको चरित्रको,

यसले न आफ्नो वरत्रमा फाइदा हुन्छ, न त परत्रमा।

गरे राम्रो काम कुर्सीमा बस्दाखेरि, नाम अमर हुन्छ,

गरे उग्रचण्डी निरन्तर काम, भविष्यमा सधैँ पछुताउँछ।

गरे उग्रचण्डी निरन्तर काम, भविष्यमा सधैँ पछुताउँछ।

कसैको पछि लाग्दा

कसैको पछि लाग्दा सधैँ पछि नै पछि पर्ने भयो,

कसैलाई अगाडि बढाउँदा फेरि पछि नै हुने भयो।

कसको पछि लाग्ने हो? सब छ सन्नाटा वरिपरि,

सम्झिँदा ती नलिनीको मुख, उठ्छ उमङ्ग बेसरी।

चन्द्रमा हुन् कि या चन्द्रमातल पानीको छाया?

हेर्छु तल कुनै तलाउमा हल्लिएको सबै काया।

अगाडि जति दौडिन्छु झरी-बर्सातको उकालोमा,

खोज्दा पनि भेटिन्न, झन् दौडिन्छिन् आकाशमा।

अगाडि छ उकालो, पछाडि देखिन्छ भीरैभीर,

आफैँलाई कुल्ची हिँड्ने आफ्नै शरीरको शिर।

यो कस्तो छाया हो आफैँमाथि नै कुल्चिने?

पछाडि अब को हिँड्ने? आफैँ पनि अब झुक्किने।

कोही साथमा नभएदेखि ईश्वर साथ छन् भन्छन्,

उनैको नाम लिई सबै भजन र कीर्तन गर्दछन्।

जति राम-कृष्ण जपे पनि आउन्नन् ती कहिल्यै पनि,

किर्ते काम गरे कहिल्यै पाउन्नन् कसैले केही पनि।

अगाडि जीवन शून्य देखिन्छ, पछाडि वितृष्णा,

नातागोताको पछि लाग्दा घोच्छ काँढा यताउता।

आखिर यो एकलो जीवन जाऊँ भन्छ कता-कता,

बादलसरि घुमिरहन्छ रूप फेरी कहिले पूर्वमा कता।

जाने बाटो कतै छैन, सन्नाटा छाएको छ सबैतिर,

झुल्किनै लागेको देखिन्छ सूर्य पर पूर्वमा कतैतिर।

कसको पछि लागी हिँड्ने हो यो एक्लो जीवनमा?

छैन कहिँ कतै बाटो अगाडि बढ्ने यो आकाशमा।

चरा उडेझैँ उडी जान्छु, जता पुगिए पनि के भयो?

आफ्नै शरीरको पछि लाग्छु, जे भए पनि के भो र!

को अगाडि, को पछाडि-कसले लेखाजोखा गर्ने यहाँ?

जन्मेर मृत्यु हुने यो धर्तीमा केको फिक्री यहाँ!

अगाडि-पछाडि कुनै छैन, यो मनको विचार हो,

अगाडिको पनि अगाडि कोही होला, यो नै सत्य हो।

ढिलोचाँडो मात्र हो बन्धु, सबैको गन्तव्य उही हो,

ढिलोचाँडो मात्र हो बन्धु, सबैको गन्तव्य उही हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *