लघुकथा : बेपत्ता
“ए ! भाग, भाग, छिटो भाग !” चिच्याहट सुनियो।
सामाजिक सञ्जाल हेर्दै स्क्रोलिङ गर्दै थिएँ। खासै ध्यान दिइनँ, सामान्य होला भन्ठानेर वास्ता गरिनँ र पुनः आफ्नै काममा अल्झिएँ। तर कता कता छट्पटी भइरहेको थियो, मन डराइरहेको थियो। घरधन्दा सकेर काममा निस्किएँ। बाटामा फुसफुस कुरा सुनेँ, गाइँगुइँ चलिरहेको थियो।
ऊ असिनपसिन थियो, अनुहार फिक्का देखिन्थ्यो। भर्खर दुर्घटनाग्रस्त ठाउँको अवलोकन गरेर आएको रहेछ।
ऊ भन्दै थियो, “चीनको तिब्बतबाट आकस्मिक बाढी आएकाले रसुवाको भोटेकोशी आसपासका बस्ती-टिमुरे, नुवाकोट, धादिङ, त्रिशूली हुँदै नारायणी क्षेत्रसम्म ठूलो प्रभाव पारेको छ। जनधनको क्षति निकै भएको रहेछ।” उसले सूचना प्रवाह गर्दा उसको अनुहार धुस्रो देखियो।
अचम्म लाग्यो, भर्खरको भर्खरै के सुन्नुपरेको हो ! त्यत्रो क्षति भयो र? बुझिनँ, होइन होला जस्तो लाग्यो, पत्यारै लागेन। उसको अनुहारमा एकपल्ट नजर दौडाउँदै सोधेँ, “कसरी आयो त यति ठूलो बाढी?”
उसले विषय बुझेको रहेछ, विस्तारमा बताउँदै भन्यो, “ठूलो हिमचट्टान लेन्डे खोलामा खस्यो र थुनियो। त्यसपछि पानी र गेग्रानसहितको एक्कासि ठूलो भेल निस्कियो।
भोटेकोशी र त्रिशूलीले तल्लो क्षेत्र तहसनहस पार्यो।” हेर्दाहेर्दै बिजोग बनायो, सपना जस्तो भयो। दैव लागेपछि कसको के लाग्दो रहेछ र! प्रकृतिले वितण्डा मच्चायो। उसले लामो सुस्केरा हाल्यो।
म मौन रहेँ, सोच्नै सकिनँ। अन्तर्मनमा अनेक कुरा आए- ‘होइन, देशमा के-के विपत्ति आउन लागेको हो? कहिले भूकम्पले तहसनहस पार्छ, कहिले कोरोनाले त कहिले जेन्जी आन्दोलनले?’ यस्तै अनेक घटनाहरू मनमा सल्बलाए, सम्झिएँ, मनन गरेँ र एकोहोरो भएँ।
त्यतिकैमा उसको मोबाइलमा घन्टी बज्यो। घरबाट रहेछ, फोन उठायो। “रसुवागढीको हाइड्रोपावरमा कार्यरत बहिनी-ज्वाइँ बेपत्ता भएछन्, सम्पर्कविहीन भए। केही खबर छ?” उसले फोन काट्यो। तर्सियो, अत्तालियो। हामी सबै उतैतिर खोज्न दौडियौँ।
लघुकथा : विडम्बना
“किन, ढिलो भएन?” आमा कराउनुभयो।
बीएलई को परीक्षा नजिकिएको छ। बिहान-बेलुका ट्युसन जानुपर्ने हुन्छ, दिउँसो विद्यालयको धपडी त्यस्तै छ। आरामले खाने, खेल्ने, घुम्ने फुर्सद छैन। राम्रोसँग पढे नतिजा राम्रो आउला, नत्र भन्न सकिन्न। दौँतरीलाई जित्नु छ, प्रतिस्पर्धा पनि बेग्लै छ।
उषा र कला मिल्ने साथी हुन्, उनीहरू एकछिन छुट्टिँदैनथे। बाहिर मिले तापनि पढाइको विषयमा मौन प्रतिस्पर्धा चलिरहन्थ्यो। प्रतिशत हेरिन्थ्यो, यद्यपि उनीहरूको मिलाप भने बेजोडको थियो।
“आफूलाई ट्युसन जान ढिला भइसक्यो, साथीहरू कुर्दैनन् कि के हो? म गएँ है आमा!” उषा कराई र गई।
दुवै सँगै जान्छन्, पढेर घर फर्कन्छन्। कलाको घर बाटोमै पर्छ, ऊ बिदा भएर जान्छे। उषाको घर केही टाढा पर्छ, सुनसान र बस्ती नभएको बाटो कट्नुपर्ने हुन्छ।
आमा सदाझैँ खाना बनाएर काममा निस्कनुभयो। बेलुका घरमा आउँदा छोरी घरमा थिइनन्। बोलाउनुभयो, “उषा, ए उषा! कहाँ गई? छैन, आएकी छैन अझै?” कराउँदै घरधन्दामा अल्झिनुभयो।
झमक्क साँझ पर्यो, बत्ती बाल्नुभयो र सोधखोज गर्न थाल्नुभयो। कलालाई फोन लगाउनुभयो, “तिमी कहाँ हौ? खोई उषा? अहिलेसम्म आएकी छैन, कहाँ छ?” एकै सासमा सोध्नुभयो।
“अहँ, छैन। आज दिउँसो विद्यालय पनि आइन्, किन हो, कहाँ गई र?” कलाले प्रतिप्रश्न गरी, अञ्जान बनी। ऊ आफैँ अन्योलमा परी।
गाइँगुइँ चल्यो, छिमेकी जम्मा भए, आफन्तकामा खबर गरियो, बुझियो। केही पत्तो लागेन। कोही कता त कोही कता खोज्न थाले।
समसामयिक परिवेश नियालेर एउटाले भन्दै थियो, “मान्छे विवेकशून्य बन्दैछन्, हुर्किएकी चेली छ, अप्रिय घटना नघट्ला भन्न सकिन्न।” वरिपरि खोजे, केही सुइँको पाएनन्।
अनेक शंका-उपशंका उब्जिएका थिए, मनमा डरले बास गरिसकेको थियो। उसले फेरि थप्यो, “हुन त तीन वर्षकी बालिका पनि सुरक्षित छैनन् देशमा। बलात्कारका घटना दोहोरिएका छन्, यौन दुर्व्यवहारका खबरहरू आइरहेका छन्।
राज्यले कडा कानुन नबनाउँदा अपराधीहरू मौलाएका छन्। कहिलेसम्म नारी भएकै कारण अकालमा मर्नुपर्ने हो, केही भन्न सकिन्न?” उपेक्षा भरिएको गह्रौँ स्वरमा ऊ गुन्गुनायो र राज्यप्रणालीको निन्दा गर्यो।
आमाको विलाप कहालीलाग्दो थियो। रुँदै भन्दै हुनुहुन्थ्यो, “छोरी, तिमी कहाँ छ्यौ? जहाँ छ्यौ, कुशल छ्यौ नि अहिलेसम्म? भगवान्, रक्षा गरिदिनुहोस् है!” लाचार हुँदै याचना गर्दै हुनुहुन्थ्यो।
सबै प्रत्यक्ष नियालिरहेको एउटाले औँल्याउँदै भन्यो, “छोरी भएर जन्मनु नै अपराध हो कि? जन्मँदै उसको अस्तित्वमाथि प्रश्न उठ्छ, कामवासनाको साधन ठानिन्छ। उसको शरीरमा अधिकार अर्कैको हुन्छ, के निर्जीव साधन हो र?” ऊ आफन्त थियो, पीडा भयो, लगातार भनिरह्यो।
त्यतिकैमा अर्कोले खबर ल्यायो। ऊ आत्तिएको थियो, हडबडाएको स्वरमा बोल्यो, “तल्लो फाँटको झाडीमा आँखामा पट्टी बाँधिएको अवस्थामा एक किशोरीको शव भेटिएको छ।”
सबै अत्तालिए, उतैतिर लागे।
लघुकथा : खुसी
ऊ भन्दै थियो, “खोज्न हिँडेको, कहाँ पाइन्छ?”
ऊ निराश देखिन्थ्यो, मान्छेहरूको बीचमा पनि एक्लो महसुस गरिरहेको थियो। कुनै अन्तरक्रिया थिएन, सबै गफमा व्यस्त थिए। घरि खित्का छाडेर हाँसेका हुन्थे त घरि आफ्ना मत राखिरहेका हुन्थे।
कसैले पहाडका थातथलोको प्रसङ्ग जोडेका थिए। सबैका विचार अलग-अलग थिए। अनुभवले खारिएका, निखारिएका, तिखारिएका र व्यावहारिक थिए। रोचक अनि वास्तविक पनि त्यस्तै।
‘कोभन्दा को कम’को होडबाजी चल्यो। सबै बेजोड प्रतिभाका धनी रहेछन्। सुन्नेले पनि बडो आनन्द लिएको देखिन्थ्यो, उत्सुकता थियो, कौतूहल त्यस्तै। कान ठाडा थिए, टाउको हल्लाएको देखिन्थ्यो। प्रतिक्षालयमा बसेका थिए, गफले माहोल तातेको थियो।
मेरो दिमागमा फुर्यो। मोबाइल निकालेँ, अब भेट होला नहोला भन्ठानेर भिडियो खिचेँ, एउटा सेल्फी लिएँ। जुम गरेर हेरेँ, राम्ररी नियाल्दै थिएँ— एउटाको अनुहार म्लान देखियो, शिर झुकेको, केही थकित पनि।
ऊ ‘स्ट्याचु’ जस्तै देखिन्थ्यो, कुनै हलचल थिएन। न त कुनै प्रतिक्रिया नै थियो, हराएको थियो आफ्नै अन्तर्मनमा।
म समीप गएँ, सोध्ने आँटै आएन। एकछिन बसेँ, उसको मुहार हेरेँ र भावना बुझ्ने कोसिस गरेँ। प्रसङ्ग जोडेँ, “विचारहरू तर्कसङ्गत छन्, चाखलाग्दा पनि। नयाँ-नयाँ अनुभव साटासाट भएको छ, होइन त?” कुराकानी गर्न खोजेँ, सुरुवात आफैँले गरेँ।
ऊ फिस्स हाँस्यो र मौनता साध्यो। पुनः उही स्थितिमा फर्कियो। मलाई छट्पटी भयो, फेरि सोधेँ, “के भयो? सन्चो छैन कि?”
उसले टाउको हल्लाउँदै सङ्केत गर्यो, “ठिक छु।” अनि पुलुक्क नजर दौडायो।
“केही त पक्कै भएको छ, भन्नुहोस् न, के सेवा गरूँ?” मैले जिज्ञासा राखेँ।
उसले लामो सास तान्यो, शरीर तन्कायो र सिधा पार्यो। एक्कासि मन्द आवाजमा बोल्यो, “किन्न पाइन्छ?”
मैले बुझिनँ, हत्तपत्त सोधेँ, “के?”
उसले कुरा फुकायो, मनको बह पोख्यो। जीवनको आरोह-अवरोह, उन्नति-प्रगति देखे, गरे पनि। धन कमाए, इष्टमित्र बनाए। जति दुःख परे पनि टसमस भइनँ, सबै गरेँ तर, “वास्तविक खुसी पाइनँ, मन थिर छैन, शान्ति भएन, किन?” यथार्थता बतायो।
उसको तर्क मनन गरेँ, सोचेँ, गहन भएँ। विचारशील भएँ र बोलेँ, “पुतलीले उज्यालो खोज्दै बत्तीनजिक जान्छ, जलेर खरानी हुन्छ। मान्छे पनि खुसी खोज्दाखोज्दै कुन दिन खरानी हुने हो, पत्तै छैन। ठेगान नभएको जिन्दगीको खोजी अनगिन्ती, हगी!” मैले अँध्यारो मुख लगाएँ, निस्तेज भएँ।
No ads found for this position



Facebook Comment