सुरुङ दुर्घटनास्थलमै खटिए गृहमन्त्री, अक्सिजन सिलिन्डर बोकेर उद्धारमा सघाउँदा ‘स्टन्ट’ को आरोप

डिसी नेपाल
१९ भदौ २०८३ १०:५४

काठमाडौं। माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र बाढी र पहिरोपछि फसेका प्राविधिक तथा कर्मचारीहरूको उद्धार कार्यलाई प्रभावकारी बनाउन गृहमन्त्री सुधन गुरुङ स्वयं घटनास्थलमै खटिएका छन्।

शुक्रबार उद्धार टोलीले सुरुङभित्रबाट आयोजनामा कार्यरत मेकानिकल फोरम्यान सञ्जय साह र मेकानिकल सुपरभाइजर कवीर महर्जनलाई सकुशल बाहिर निकालेको थियो।

सुरुङबाट निकालिएका दुवै जनालाई तत्काल अक्सिजनसहित प्राथमिक उपचार दिई थप उपचारका लागि हेलिकप्टरमार्फत अस्पताल पठाउने तयारी भइरहेको छ। उद्धारका क्रममा गृहमन्त्री गुरुङ स्वयंले अक्सिजन सिलिन्डर बोकेर घाइतेलाई स्ट्रेचरसम्म पुर्‍याउन सघाएको दृश्य देखिएको थियो।

गृहमन्त्रीको मुख्य काम नीतिगत व्यवस्थापन, उच्चस्तरीय निर्देशन र अन्तरनिकाय समन्वय गर्नु पर्नेमा आफैं मैदानमा उत्रिएको भन्दै कतिपयले आलोचनासमेत गरेका छन्।

सामाजिक सञ्जाल तथा राजनीतिक वृत्तमा उनको यो कदमलाई “लोकप्रियताका लागि गरिएको स्टन्ट” र “आफ्नो मुख्य जिम्मेवारी छाडेर फिल्डमा देखावटी काम गरेको” भन्दै टिप्पणी भइरहेको छ।

आलोचनाका बावजुद मन्त्री गुरुङले कार्यक्षेत्रमै रहेर नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र प्राविधिक टोलीको संयुक्त उद्धार अभियानलाई तीव्र बनाउन स्रोत-साधनको सहजीकरण र निर्देशन दिइरहेका छन्। सुरुङभित्र अझै अन्य व्यक्तिहरू पनि फसेको आशंका गरिएकाले खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *