नियात्रा

तोपडाँडाको कथा सुनेर नाम्चेतिर

ज्ञानेन्द्र विवश
२० भदौ २०८३ ७:२०

बल्लतल्ल कठिन उकालो सकिएजस्तो हुन्छ। उकालो सकिनासाथ भञ्ज्याङछेउमै सगरमाथा राष्ट्रिय निकुञ्जको चेकपोस्ट भेटिन्छ। यहाँ आधार शिविरतिर जाने यात्रुहरूको नाम दर्ता गर्नुपर्ने हुन्छ।

यसरी नाम दर्ता गर्नुको अर्थ आधार शिविरमा कति जना, कुन देशका यात्री पुगे र कहिले फर्किन्छन् भन्ने अभिलेख राख्नु हो। त्यसपछि सल्लाघारीको जङ्गल हुँदै अर्को दम्स्याइलो उकालो सुरु हुन्छ।

हिलारी पुलबाट उकालो चढेको करिब एक घण्टामा पुगिने ठाउँ ‘तोपडाँडा’ हो। तर मेरो यात्रामा यो दूरी तीन घण्टाइजस्तो लामो लागिरहेको हुन्छ। यो ज्यानमारा ठाडो उकालो साँच्चै कठिन छ।

उकालै-उकालोमा अवस्थित साना ढुङ्गे चिया पसलहरू बाटोको दायाँ–बायाँ भेटिन्छन्। तीमध्ये एक चिया पसलकी साहुनी दिदी लामो समयदेखि त्यहीँ व्यापार गर्दै आएकी हुन्छिन्। उनी मुस्कुराउँदै पाहुनाहरूलाई स्वागत गरिरहेकी हुन्छिन्।

उकालोसँगै रहेका ती साना चियाघरहरूले यात्रुलाई केही क्षणको राहत दिन्छन्। तातो चिया पिएपछि शरीरमा नयाँ ऊर्जा भरिएको महसुस हुन्छ। ‘अब त नाम्चे नजिकै होला, एकछिन बिसाऊँ’ भन्ने सोच मनमा आउँछ। म यताउता दृश्य नियाल्दै केही समय रोकिन्छु।

मेरो मन दुई भागमा बाँडिएको हुन्छ। एक मन छिटो नाम्चे पुग्ने हतारमा हुन्छ। अर्को मन भने यही ‘तोपडाँडा’ को नाम र इतिहास बुझ्ने उत्सुकतामा अडिएको हुन्छ। अन्ततः यही जिज्ञासाले मलाई केहीबेर त्यहीँ रोकिराख्छ।

रेस्टुरेन्टभित्र केही कुराकानी भइरहेको सुनिन्छ। म बाहिरैबाट एकछिन कान थापेर सुन्छु-

ट्रेकर भन्छन्- ‘दिदी, तपाईंहरू यहाँ बस्न थालेको कति वर्ष भयो होला?’

चिया पसलकी साहुनी दिदी भन्छिन्- ‘गनेकी त छैन, तर गोडा बिसेक वर्ष जति भयो होला।’

एकछिन भित्र सन्नाटा छाउँछ। सायद ट्रेकरले ‘गोडा बिसेक वर्ष’ को अर्थ अर्थ्याउन सकेनन् कि भन्ने अनुमान गर्छु।

दिदी भन्छिन्- ‘मेरो कुरा बुझ्नुभएन भाइले?’ उनै दिदीले फेरि बताउँदै भन्छिन्– ‘मेरी छोरी जन्मिँदा यहाँ बस्न थालेको हो। छोरी अहिले २२ वर्षकी भइन्।’

ट्रेकर भन्छन्- ‘अँ, मैले थाहा पाएँ। २२ वर्ष नै भएछ नि।’

दिदी भन्छिन्- ‘पहिले त यो ठाउँमा थोरै मात्र घर थिए। बाँदर लड्ने भीर हो यो। जङ्गल र काँडाघारीले भरिएको थियो।’

गहिरो सास फेर्दै ट्रेकर भन्छन्- ‘आहा! यो चियाले ज्यान आयो दिदी। उकालो त साह्रै रहेछ! यो ठाउँलाई चाहिँ के भन्छन् नि दिदी? नाम्चे पुग्न लाग्यो कि नाइँ?’

अब चाहिँ चुरो कुरा सुरु होलाजस्तो छ भन्दै चाख लिएर म चुपचाप बाहिरै उभिरहन्छु।

हाँस्दै दिदी भन्छिन्- ‘आओस् भाइ, नाम्चे पुग्नै लाग्यो। तपाईं त बलियो मान्छे हुनुहुँदो रहेछ। यो ठाउँलाई हामी ‘तोपडाँडा’ भन्छौँ। हिलारी पुल तरेर लागेको जम्मै ठूलो उकालोको ‘रेस्टिङ प्वाइन्ट’ नै यही हो। यहाँबाट अब १० मिनेट जति हिँडेपछि नाम्चेको गेट आइहाल्छ।’

ट्रेकर भन्छन्- ‘तोपडाँडा? नाम त अलि अनौठो लाग्यो। यो ‘तोप’ नाम रहनुको केही खास कारण छ कि दिदी? कुनै पुरानो कथा?’

चियाको कप मिलाउँदै दिदीले कुराको पोको खोल्न थालेको मैले बाहिरैबाट अनुमान गर्न थाल्छु।

दिदी भन्छिन्- ‘खास कथा त मलाई पनि त्यति राम्रो थाहा छैन नास्सो, तर यस ठाउँको महत्त्व भने धेरै छ। यसलाई मान्छेहरू ‘बस्ती’ भन्दैनन्, यो विश्राम गर्ने ठाउँ हो। तर नाम्चे किन सुरक्षित छ, त्यो बुझ्नलाई यो डाँडा बुझ्नुपर्छ भाइ।’

ट्रेकर भन्छन्- ‘अहँ? कसरी नि दिदी?’

दिदी भन्छिन्- ‘पुरानो कुरा त मलाई थाहा छैन। ऊ त्यहाँ परको घरमा खुम्जुङदेखि आएका एक जना बूढा बा आउनुभएको छ। उहाँले बताउन सक्नुहुन्छ।’

ट्रेकर उत्सुक हुँदै सोध्छन्- ‘उहाँको घर पहिले यहीँको हो दिदी?’

दिदी जवाफ दिन्छिन्- ‘त्यो त मलाई थाहा छैन। तर उहाँलाई यस ठाउँका धेरै कुरा थाहा छ।’

ट्रेकर फेरि अनुरोध गर्छन्- ‘दिदी, मलाई ती बूढा बाजेसँग चिनारी गराइदिनुहोस् न, प्लिज।’

दिदी भन्छिन्- ‘हैन भाइ, घुम्न आएको मान्छेले पुराना कुरा किन खोज्नुपर्यो र?’

ट्रेकर दृढ हुँदै भन्छन्- ‘घुम्नु मात्र होइन दिदी, पुराना कुरा बुझ्नु पनि त आवश्यक हुन्छ।’

दिदी अन्त्यमा भन्छिन्- ‘त्यसो भए मैले चिनारी गराइरहनु पर्दैन होला। जानुस्, बाजेले सबै कुरा राम्ररी बताइदिनुहुन्छ।’

चियावाली दिदीसँगको कुराकानीपछि ट्रेकर बाहिर निस्किन्छन्। म पनि उनीसँगै निस्कन्छु। उनलाई देख्नासाथ म भन्छु- ‘नमस्कार। आज राम्रो भेट भयो। अब अझ राम्रो भेट हुने अपेक्षा छ।’

ट्रेकर जिज्ञासु हुँदै सोध्छन्- ‘के तपाईंले हाम्रो कुरा सुन्नुभएको थियो? तपाईं पनि पुराना कुरामा रुचि राख्नुहुन्छ?’

म जवाफ दिन्छु- ‘हो, अवश्य।’

ट्रेकर उत्साहित हुँदै भन्छन्- ‘त्यसो भए जाऔँ, ती बूढा बालाई भेटौँ।’

केही घर पर पुगेपछि हाम्रो भेट खुम्जुङका आङ छिरिङ शेर्पासँग हुन्छ। हामी आफ्नो जिज्ञासा, चाहना र आग्रह उनीसामु राख्छौँ। उनी मुस्कुराउँदै सुन्छन्।

उनी खुसी हुँदै भन्छन्- ‘आजको पुस्ता पुराना कुरा सुन्न चाहँदैन भन्ने सुनेको थिएँ। तर तपाईंहरूले त निकै राम्रो रुचि देखाउनुभयो।’

उनी हाम्रो काँधमा हल्का धाप मार्दै भन्छन्- ‘स्याबास बाबुहरू।’

म र ट्रेकर दुवै जना एकसाथ भन्छौँ- ‘तोपडाँडाको नामले हामीलाई धेरै जिज्ञासु बनाएको छ बाजे। यसका बारेमा तपाईंलाई थाहा भएको कुरा बताइदिनुभए हामी आभारी हुने थियौँ।’

आङ छिरिङ शेर्पा हातले तल दूधकोशीतिर देखाउँदै भावुक हुँदै बोल्छन्- ‘अहिले यहाँबाट त तल दूधकोशी र पुल देखिँदैन। तर माथि तोपडाँडाको भञ्ज्याङबाट ती सबै स्पष्ट देखिन्छन्। हेर्नुस् त! नाम्चे छिर्नका लागि यो एउटै साँघुरो र ठाडो उकालो हो। नाम्चे मात्र होइन, विश्वकै अग्लो सगरमाथाको फेदीदेखि शिखर पुग्ने मुख्य मार्ग पनि यही हो।’

केही क्षण रोकिएपछि उनी फेरि कुरा अघि बढाउँछन्- ‘पुरानो समयमा नाम्चेको सुरक्षा गर्न, टाढाबाट आउने मानिसहरूलाई निगरानी गर्न यही डाँडा प्रयोग गरिन्थ्यो रे। सुरक्षा सिद्धान्तअनुसार बस्तीमाथि पुग्नुअघि नै शत्रुलाई देख्न सकिने ठाउँ आवश्यक पर्थ्यो। यो डाँडा त्यसका लागि उत्कृष्ट निगरानीस्थलजस्तै थियो।’

म अचम्म मान्दै सोध्छु- ‘त्यसो भए यो पुरानो प्रहरी चौकी वा सुरक्षा बिन्दुजस्तो रहेछ? ‘तोप’ शब्दको अर्थ पनि त्यहीसँग जोडिएको होला है बाजे?’

आङ छिरिङ शेर्पा जवाफ दिन्छन्- ‘हो। कसै-कसैले भन्छन्, ‘तोप’ भनेको अग्लो उचाइको टुप्पो भएर नाम रह्यो। तर कतिपयले भने ‘तोप’ को अर्थ हतियार हुने भएकाले पहिले यहाँ सुरक्षा प्रयोजनका लागि हातहतियार राखिन्थ्यो भन्ने अनुमान गर्छन्। जे भए पनि यो डाँडाको रणनीतिक उचाइले त्यही इतिहासलाई बल दिन्छ।’

ट्रेकर टाउको हल्लाउँदै भन्छन्- ‘गज्जब रहेछ। लिखित प्रमाण नभए पनि भूगोल र इतिहासले त यही कुरा पुष्टि गर्छ। मैले आज एउटा महत्त्वपूर्ण कुरा सिकेँ बाजे। अब नाम्चे चढ्दा यो डाँडालाई अर्कै दृष्टिले हेर्छु। हैन त साथी?’

‘नआत्तिकन होस गरेर हिँड्नुहोस्। चिसोबाट बच्नुहोला। धेरै हतार नगर्नुहोला। बिस्तारै उचाइतिर जाँदै गर्दा स्वास्थ्यको विशेष ख्याल गर्नुहोला। शुभकामना, टासिडेले!’ शेर्पा बाजेले यति भन्दै होटलका आफन्तसँग शेर्पा भाषामा कुरा गर्न थाल्छन्।

ट्रेकर साथी उठ्ने तयारी गर्छन्। तर मलाई भने ती बाजेसँग अझै केही कुरा सोध्ने मन छ। म साथीलाई बिस्तारै कानमा भन्छु– ‘ए साथी, हामीले अझै केही कुरा सोधौँ न। नाम्चेको नामाकरण, गुम्बाको विषयमा पनि…. के भन्छन्?’

उनी तुरुन्तै सहमत हुन्छन्– ‘हो, एकदमै सही कुरा।’

हाम्रो कानेखुसी र अलमल देखेर शेर्पा बाजे सोध्छन्– ‘केही बाँकी थियो कि बाबुहरू?’

म विनम्र भएर भन्छु- ‘ज्यू बाजे, नाम्चेको नामाकरण र गुम्बाको बारेमा पनि बताइदिनुभए आभारी हुने थियौँ।’

शेर्पा बाजे प्रसन्न हुँदै भन्छन्– ‘यो तपाईंहरूको पहिलो यात्रा हो र? नाम्चे गेट र नजिकैको गुम्बा देख्नुभएको छैन होला। उकालोमा मानेहरू पनि छन्। ती सबैले खुम्बु क्षेत्रको संस्कृति र अध्यात्मलाई प्रतिनिधित्व गर्छन्।’

ट्रेकर साथी सुस्तरी मलाई भन्छन्- ‘तपाईंले ठिकै भन्नुभयो। वास्तवमा नाम्चे गेट र गुम्बाको कथा यस यात्रामा बुझ्नैपर्ने कुरा रहेछ।’

त्यसैबेला शेर्पा बाजेका साथी दावा शेर्पा पनि आइपुग्छन्। उमेरमा केही अन्तर भए पनि दुवै जना हँसिला, रसिला र सहयोगी स्वभावका देखिन्छन्। दावा दाइ झन् फुर्तिला र ऊर्जावान् लाग्छन्।

(प्रकाशोन्मुख नियात्रा सङ्ग्रह ‘कलापत्थरबाट सगरमाथा नियाल्दा’ बाट)


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *