देश विपत्तिमा छ, कांग्रेस महाधिवेशन केही समय सार्नु उपयुक्त हुन्छ : नैनसिंह महर

डिसी नेपाल
२१ भदौ २०८३ १५:४३

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं ‘देश र कांग्रेस जोड्ने अभियान’का अभियन्ता नैनसिंह महरले विपत्तिको यो घडीमा नेपाली कांग्रेसले महाधिवेशनभन्दा माथि उठेर देश र जनताको पीडालाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

देविघाट ,त्रिशूलीलगायत बाढीपहिरोले संकट निम्त्याएको क्षेत्र गएर राहत, उद्धारबाट काठमाडौं फर्किएपछि कांग्रेसका सम्पर्क समितिका सभापतिसँगको छलफलमा नेता महरले भोटेकोसीलगायत देशका विभिन्न क्षेत्रमा बाढीपहिरोका कारण ठूलो जनधनको क्षति हुनुका साथै वर्षायामका कारण अधिकांश सडक तथा यातायातका मार्ग अवरुद्ध रहेको अवस्थामा १५औं महाधिवेशन केही समयपछि सारेर भए पनि पार्टीभित्र समग्र एकता निर्माण गर्नुपर्ने धारणा राखेका हुन्।

महरले भने, ‘आज हजारौं नेपाली नागरिक विपत्तिमा छन्। कतै घर बगेका छन्, कतै परिवारले आफन्त गुमाएका छन्, कतै गाउँ नै सडक सञ्जालबाट विच्छेद भएको छ। यस्तो संवेदनशील अवस्थामा कांग्रेसको सम्पूर्ण ध्यान महाधिवेशनको जोड–घटाउमा होइन, पीडित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा केन्द्रित हुनुपर्छ।’

रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढी तथा पहिरोले जनजीवन नराम्ररी प्रभावित भएको उल्लेख गर्दै उनले विपत्तिको समयमा राजनीतिक दलको वास्तविक परीक्षा हुने बताए।

उनले महाधिवेशनलाई अनिश्चितकालसम्म सार्ने नभई दशैँपछि सम्पन्न हुने गरी केही समय मिति परिवर्तन गर्न सकिने प्रस्ताव अघि सारेका छन्। यसले एकातर्फ विपत्तिमा परेका नागरिकलाई राहत तथा पुनर्स्थापनामा कांग्रेसलाई प्रभावकारी रूपमा परिचालन गर्न सकिने र अर्कोतर्फ पार्टीभित्र देखिएका असन्तुष्टि, दूरी र विभाजनलाई संवादमार्फत सम्बोधन गर्दै बृहत् एकताको वातावरण निर्माण गर्न पर्याप्त समय मिल्ने उनको भनाइ छ।

‘महाधिवेशन व्यक्तिको जित–हार तय गर्ने अवसर मात्र होइन, कांग्रेसको भविष्य तय गर्ने ऐतिहासिक क्षण हो। त्यसैले हतारमा महाधिवेशन गरेर पार्टीलाई अझ विभाजित बनाउनु भन्दा केही समय लिएर सबैलाई समेट्ने, मन मिलाउने र कांग्रेसलाई एकताबद्ध बनाउने बाटो रोज्नु बुद्धिमानी हुन्छ,’ महरले भने।

महरले कांग्रेसभित्रको एकता कुनै गुट वा व्यक्तिको स्वार्थका लागि नभई लोकतन्त्र, संविधान र देशको भविष्यका लागि आवश्यक रहेको स्पष्ट पारे।

उनले भने, ‘आज कांग्रेसलाई कुर्सीको होइन, एकताको आवश्यकता छ; प्रतिस्पर्धाको होइन, सहकार्यको आवश्यकता छ। देश संकटमा रहेका बेला कांग्रेसभित्रै विभाजनको राजनीति गरेर जनताको विश्वास जित्न सकिँदैन। त्यसैले सबै नेताहरूले व्यक्तिगत र गुटगत स्वार्थभन्दा माथि उठेर एकताको पक्षमा निर्णायक कदम चाल्नुपर्छ।’

उनले महाधिवेशनको मिति केही समय सार्ने विषयलाई कमजोरीका रूपमा नभई कांग्रेसलाई अझ बलियो, एकताबद्ध र जनमुखी बनाउने राजनीतिक अवसरका रूपमा लिनुपर्ने धारणा राखेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *