इतर समूहसँग संवाद बढाउँदै गगन थापा: कांग्रेसभित्र सहमति कि धुव्रीकरण?
काठमाडौं। विशेष महाधिवेशनपछि नयाँ मोडमा पुगेको नेपाली कांग्रेसको आन्तरिक राजनीति यतिबेला झन् पेचिलो र रणनीतिक बनेको छ।
पार्टीभित्र चुलिएको विवाद, समानान्तर गतिविधि र १५ औं महाधिवेशनको वैधानिकताबारे मतभेद जारी रहँदा संस्थापन पक्षका सभापति गगन थापाले इतर पक्षलाई राजनीतिक रूपमा व्यवस्थापन गर्न र विवाद समाधानका लागि सघन संवादको रणनीति अघि बढाएका छन्।
भदौ २४ गतेका लागि तोकिएको वडा अधिवेशनको मिति नजिकिँदै गर्दा सभापति थापाले इतर समूहका शीर्ष तथा प्रभावशाली नेताहरूसँग शृङ्खलाबद्ध ‘वान टु वान’ वार्ता थालेका हुन्।
यसैक्रममा शनिबार साँझ सभापति थापा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबीच लामो र गहन छलफल भएको छ। भेटमा खड्काले १४ औं महाधिवेशनका संरचना, समावेशी सन्तुलन र क्रियाशील सदस्यता अद्यावधिक गर्ने विषयमा राखेका असन्तुष्टि तथा मागहरूप्रति थापा सकारात्मक देखिएको दाबी गरिएको छ।
नेपाली कांग्रेसभित्रको विवादको मुख्य चुरो १५ औं महाधिवेशन र क्रियाशील सदस्यता अद्यावधिक नै हो। संस्थापन पक्षले विशेष महाधिवेशनको जगमा उभिएर भदौ २४ देखि वडा अधिवेशन सुरु गर्ने गरी कार्यतालिका अघि सारेको छ।
यसैबीच, सभापति थापाले आइतबार नै इतर पक्षका अर्का प्रभावशाली नेता डा. शेखर कोइरालासँग पनि निर्णायक वार्ता गर्दैछन्।
डा. कोइरालाले ५४ प्रतिशतको जगमा भएको विशेष महाधिवेशनका आधारमा पुरै पार्टीमा जबरजस्ती सदस्यता अद्यावधिक गराउन नहुने र सबै पक्षलाई समेटेर मात्र महाधिवेशनमा जानुपर्ने अडान राख्दै आएका छन्। थापाले कोइरालासँगको भेटमार्फत इतर पक्षभित्रको मुख्य असन्तुष्टिलाई साम्य पार्ने प्रयास गर्ने देखिन्छ।
संवादको भित्री रणनीति: सहमति कि इतर पक्षलाई कमजोर पार्ने दाउ?
पार्टीभित्र एकातिर डा. शशांक कोइरालाको नेतृत्वमा इतर पक्षले १५ औं महाधिवेशनका लागि समानान्तर तयारी, भेला र छुट्टै कार्यतालिका सार्वजनिक गर्ने रणनीति बनाइरहेको छ भने अर्कातिर सभापति थापाले इतर समूहकै शीर्ष नेताहरूसँग छुट्टाछुट्टै संवाद अघि बढाएका छन्।
राजनीतिक विश्लेषकहरूका अनुसार, थापाको यो कदम केवल सहमति खोज्ने प्रयास मात्र नभई इतर पक्षभित्रको धुव्रीकरणलाई कमजोर बनाउने रणनीतिक चाल पनि हो।
शेरबहादुर देउवा र पूर्णबहादुर खड्काको समर्थनमा डा. शशांक कोइरालालाई इतर पक्षको ‘१५ औँ महाधिवेशन तयारी समिति’ को संयोजक बनाएर अघि बढाउन खोजिए पनि, थापाले खड्का र डा. शेखर कोइरालाजस्ता निर्णायक नेताहरूलाई सम्वादमा ल्याएर लचकता देखाएपछि शशांक नेतृत्वको इतर समूह केही हदसम्म रक्षात्मक बनेको छ।
इतर पक्षका असन्तुष्ट नेताहरूका मागमाथि लचकता देखाउने संकेत दिएर थापाले इतर पक्षको एकीकृत दबाबलाई छिन्नभिन्न बनाउन खोजेको चर्चा पार्टी वृत्तमा सुरु भएको छ। यसले इतर पक्षले अदालतमा दायर गरेको पूरक रिट र समानान्तर गतिविधिलाई समेत कमजोर पारिदिने संस्थापन पक्षको आकलन छ।
पार्टी विभाजित छैन, मतभेद मात्रै हो: प्रवक्ता चालिसे
पार्टीभित्र जारी यो रसाकस्सी र शीर्ष नेताहरूबीच भइरहेको संवादबारे नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले कांग्रेस विभाजनको दिशामा नगएको र यो सामान्य आन्तरिक मतभेद मात्र भएको दाबी गरेका छन्।
“विवाद समाधान गर्ने मुख्य जिम्मेवारी र अभिभावकीय भूमिका पार्टी सभापतिकै हो,” प्रवक्ता चालिसेले डिसी नेपालसँग भने, “अहिले कांग्रेस विभाजित भइसकेको छैन, केही विषयमा मतभेद मात्रै हो। यस्तो अवस्थामा सबै नेता-कार्यकर्ता पार्टीप्रति समर्पित हुनुपर्छ।”
देउवा र खड्का पक्षले विशेष महाधिवेशनको आधिकारिकता र नयाँ महाधिवेशनको कार्यतालिकालाई चुनौती दिँदै सर्वोच्च अदालतमा पूरक रिटसमेत दायर गरिसकेका छन्, जसको सुनुवाइ भदौ २५ गतेका लागि तोकिएको छ।
सभापति गगन थापाले पूर्णबहादुर खड्कासँग गरेको भेट र डा. शेखर कोइरालासँग हुन लागेको संवादलाई स्वाभाविक प्रक्रियाका रूपमा लिँदै चालिसेले थपे, “विवाद समाधानका लागि सभापति आफैँ अग्रसर हुनुभएको छ। इतर पक्षका नेताहरूसँग निरन्तर छलफल भइरहेको छ र यसले पार्टीलाई एकढिक्का बनाएर लैजाने वातावरण निर्माण गर्नेछ। सहमतिको सम्भावना अत्यन्तै प्रबल छ।”
चालिसेका अनुसार, शीर्ष तहमा सहमति जुटेमा र इतर पक्षलाई विश्वासमा लिनुपर्ने अवस्था आएमा भदौ २४ गतेका लागि तय गरिएको वडा अधिवेशनको कार्यतालिकालाई थोरै समय पछाडि सार्न संस्थापन पक्ष तयार हुन सक्छ।
महाधिवेशनको कार्यतालिका र कानुनी लडाइँ
नेपाली कांग्रेसभित्रको विवादको मुख्य चुरो १५ औं महाधिवेशन र क्रियाशील सदस्यता अद्यावधिक नै हो। संस्थापन पक्षले विशेष महाधिवेशनको जगमा उभिएर भदौ २४ देखि वडा अधिवेशन सुरु गर्ने गरी कार्यतालिका अघि सारेको छ।
तर इतर समूहले १४ औं महाधिवेशनका संरचनाहरूलाई मान्यता दिँदै साझा सहमतिमा मात्र महाधिवेशन गराउनुपर्ने अडान राख्दै आएको छ।
देउवा र खड्का पक्षले विशेष महाधिवेशनको आधिकारिकता र नयाँ महाधिवेशनको कार्यतालिकालाई चुनौती दिँदै सर्वोच्च अदालतमा पूरक रिटसमेत दायर गरिसकेका छन्, जसको सुनुवाइ भदौ २५ गतेका लागि तोकिएको छ।
यस्तो जटिल परिस्थितिमा सभापति थापाले सुरु गरेको संवादको पहलले अदालतको कानुनी लडाइँ र सडकको मुठभेडलाई रोक्छ या इतर पक्षलाई फुटाएर संस्थापनको पकड अझ बलियो बनाउँछ, त्यसको स्पष्ट चित्र आइतबार हुने डा. शेखर कोइरालासँगको भेट र त्यसपछिको राजनीतिक घटनाक्रमले देखाउनेछ।
तर हाललाई भने कांग्रेसभित्र सहमतिको ढोका उघारिएको र संस्थापन पक्षले वार्ता र रणनीति दुवैलाई सँगसँगै अघि बढाएको प्रस्ट हुन्छ।
No ads found for this position



Facebook Comment