पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच प्रदर्शन

डिसी नेपाल
४ कार्तिक २०८३ २२:४२
16
Shares

ललितपुर। पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच प्रदर्शन गरिएको छ।

विजयादशमीको दिन र कोजाग्रत पूर्णिमा गरी दसैँमा दुई पटक मङ्गलबजारमा नवदुर्गा नाच देखाउने परम्परा छ। नाच प्रदर्शन गर्न थेच्वस्थित देवता घरबाट मू द्यः (मुख्य देवता), मुकुन्डो, कलेवर पोसाक, गरगहना खर्पनमा बोकेर देवगणहरूले बुधबार मंगलबजार पुर्‍याएका थिए।

नेवार समुदायको प्राचीन तथा पवित्र सांस्कृतिक परम्परामध्ये एक हो। सांस्कृतिक परम्परा, देवीपूजा र नृत्यको सङ्गम बनेको यस नाचले पाटन दरबार क्षेत्रलाई आज रंगीन र भक्तिमय बनाएको थियो।

ठेचोका नवदुर्गा गुठीका सदस्य विकास मालीका अनुसार यो नाच बर्सेनि देवीको शक्तिपूजा तथा सामुदायिक एकताको प्रतीकका रूपमा मनाइन्छ। ठेचोबाट नवदुर्गा भगवानीलाई मंगलबजार पुर्‍याएर मानमानेश्वरीलाई फूल चढाउने परम्परा छ।

मानमानेश्वरी पायो जात्रा व्यवस्थापन समितिका सदस्य माधवश्याम शर्माका अनुसार मानमानेश्वरी देवीको निमन्त्रणमा ठेचोबाट नवदुर्गालाई पाटन मङ्गलबजार ल्याउने प्राचीन परम्परा रहेको छ।

“यसरी निमन्त्रणा गरिएको नवदुर्गा श्री भवानीका देवगणद्वारा मङ्गलबजारको चौबाटोमा मानमानेश्वरी भवानीलाई भेट गरी माल्यार्पण गर्ने परम्परा छ, त्यसपछि नवदुर्गा भवानी तर्फबाट भैरव, बाराही र कालीले मानमानेश्वरी भवानीलाई फूल चढाएर विमिरो उपहार दिने प्रचलन छ”, शर्माले भने।

समितिका सदस्य शर्माका अनुसार अष्टमातृका र नवदुर्गाबीच सासुबुहारीको जस्तो सम्बन्ध रहेको छ। पाटन दरबार सङ्ग्राहलयको ऐतिहासिक मूलचोकमा प्राचीन लयमा ठेचोका देवगणहरूले परम्परागत विधिअनुसार नवदुर्गा नाचको प्रस्तुतिसँगै यो वर्षको दसैं औपचारिक रूपमा सम्पन्न भएको मानिन्छ।

प्रत्येक वर्ष विजयादशमी र कोजाग्रत पूर्णीमाका दिन मङ्गलबजारमा दुईपटक प्रदर्शन हुने यो नाच लिच्छवीकालीन परम्परासँग जोडिएको छ। नाचअघि ११ देवगण, ३ जना नाइके र अन्य गुठीयार गरी ३४ जनाले देवता घरमा विशेष पूजा गरी आशीर्वाद लिएका थिए। यो विधिले केवल धार्मिक आस्था मात्र होइन, संस्कृतिको निरन्तरताको प्रतीक पनि बोकेको मानिन्छ।

लिच्छवी राजा मानदेवका इष्टदेवी मनमानेश्वरी (पुरानो तलेजु) सँग सम्बन्धित यो नाच पाटन क्षेत्रको सांस्कृतिक धरोहरका रूपमा जिवित रहँदै आएको छ। प्रत्येक वर्षको यो प्रदर्शनले नयाँ पुस्तालाई पुरानो सभ्यतासँग जोड्ने सेतुको काम गरेको स्थानीय सुनिल महर्जन बताउँछन्। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *