रास्वपा सांसदद्वयलाई उद्धार क्षेत्रबाट फिर्ता बोलाउने निर्णय नभएको गणेश पराजुलीको स्पष्टीकरण
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले सुरुङ उद्धार कार्यमा खटिएका पार्टीका विज्ञ सांसदहरू सागर ढकाल र श्रीराम न्यौपानेलाई फिर्ता बोलाउने कुनै पनि औपचारिक निर्णय वा निर्देशन नभएको स्पष्ट पारेका छन्।
आफ्नो अभिव्यक्तिलाई लिएर ‘पार्टीले उद्धारमा खटिएका सांसदहरूलाई फिर्ता बोलाएको’ भन्दै समाचारहरू सार्वजनिक भएपछि उपनेता पराजुलीले सामाजिक सञ्जालमार्फत उक्त कुराको खण्डन गरेका हुन्।
“पार्टीको केन्द्रीय समिति, सचिवालय वा कुनै पनि तहबाट विपद् प्रभावित क्षेत्रमा खटिनुभएका कसैलाई लक्षित गरी फिर्ता बोलाउने औपचारिक निर्णय वा निर्देशन भएको छैन,” पराजुलीले भनेका छन्, “यस सम्बन्धमा सिर्जना भएको भ्रमप्रति ध्यानाकर्षण भएको छ।”
सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा व्यक्त भएको आशयको गलत अर्थ लगाइएको दाबी गर्दै उनले फिल्डमा खटिँदा राज्यका सुरक्षा निकाय तथा उद्धार संयन्त्रको कार्यसम्पादनमा कुनै व्यवधान नपुगोस् र विज्ञताको अधिकतम सदुपयोग होस् भन्ने मात्र आफ्नो उद्देश्य रहेको बताएका छन्।
आफ्नो भनाइलाई फरक सन्दर्भमा बुझिँदा भ्रम सिर्जना भएको भन्दै उनले प्राविधिक क्षमता र विशेषज्ञतासहित उद्धारमा खटिएका पार्टीका साथीहरूको योगदानको सम्मान रहेको उल्लेख गरे।
विपद्को यस घडीमा पार्टीका साधारण सदस्यदेखि नेतृत्व तहसम्म सबैलाई राज्यका खोज, उद्धार तथा राहत कार्यमा सहयोगी बन्न रास्वपाले निर्देशन दिएको उनले स्मरण गराए। साथै, सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय गरी नागरिकको जीवन रक्षामा जुट्न उनले सम्पूर्णमा अपिलसमेत गरेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment