नुवाकोटमा राष्ट्रपति पौडेल: बाढीको क्षतिको विवरण लिँदै होल्डिङ सेन्टरको अनुगमन

डिसी नेपाल
२२ भदौ २०८३ १२:३३

नुवाकोट। राष्ट्रपति रामचन्द्र पौडेलले भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नुवाकोट जिल्लाका विभिन्न क्षेत्रको सोमबार स्थलगत अवलोकन गरेका छन्। सो क्रममा उनले बाढी प्रभावित तथा पीडितहरूसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूका गुनासो सुनेका छन्।

राष्ट्रपति पौडेलले भोटेकोशी बाढीको प्रभाव र त्यसबाट भएको क्षतिबारे जिल्ला सुरक्षा समितिबाट विस्तृत जानकारी लिए।

प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीसहित समितिका सदस्यहरूले बाढीले पुर्याएको धनजनको क्षतिबारे विवरण प्रस्तुत गरेका थिए। साथै, प्रजिअ रेग्मीले बाढीपीडितको खोज, उद्धार, राहत, पुनर्स्थापना तथा तत्काल गर्नुपर्ने पुनःनिर्माणका कामहरूबारे राष्ट्रपतिलाई अवगत गराए।

अनुगमनका क्रममा राष्ट्रपति पौडेलले नुवाकोटस्थित बाढी प्रभावितहरू राखिएको होल्डिङ सेन्टरको समेत अवलोकन गरे। त्यहाँ प्रभावित नागरिकहरूले बाढीले पुर्याएको अकल्पनीय क्षतिबारे जानकारी गराउँदै खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सरकार र सरोकारवाला निकायहरूले अझ तदारुकता देखाउनुपर्ने बताएका थिए।

राष्ट्रपति पौडेलले आजै नुवाकोटको त्रिशूलीस्थित नेपाली सेनाको क्याम्पका साथै रसुवाका बाढीप्रभावित क्षेत्रहरूको समेत स्थलगत अवलोकन गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *