बाढी प्रभावित क्षेत्रमा उद्धार र पुनर्निर्माणमा प्रदेश सरकार सक्रिय: मुख्यमन्त्री थापा
काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवालगायत बाढी तथा पहिरो प्रभावित क्षेत्रमा प्रदेश सरकारले उद्धार, राहत, स्वास्थ्य सेवा र अस्थायी पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन्।
विनाशकारी बाढीपछि सिर्जित अवस्था, प्रदेश सरकारका प्रयास र आगामी योजनाबारे आयोजित पत्रकार भेटघाटमा मुख्यमन्त्री थापाले बागमती प्रदेशका रसुवा, नुवाकोट, धादिङ र चितवनका १५ वटा स्थानीय तह विपद्बाट नराम्ररी प्रभावित भएको जानकारी दिए।
गत भाद्र १० गते बिहान ८:४६ बजे रसुवाको लेन्दे क्षेत्रमा हिमताल तथा हिमनदी फुटेर त्रिशूली नदीमा आएको भीषण बाढीले स्याफ्रुबेँसी, टिमुरे, धुन्चे, बेत्रावती र बट्टार क्षेत्रका बस्ती, सडक, पुल तथा अन्य पूर्वाधारमा व्यापक क्षति पुर्याएको छ।
बाढीबाट रसुवाका गोसाइँकुण्ड, आमाछोदिङ्मो, कालिका र उत्तरगया गाउँपालिका अति प्रभावित भएका छन्, जहाँ जनप्रतिनिधिले समेत ज्यान गुमाएका छन्।
त्यसैगरी नुवाकोटका विदुर, बेलकोटगढी, किस्पाङ र तारकेश्वर; धादिङका गल्छी, सिद्धलेक, गजुरी र बेनीघाट रोराङ तथा चितवनका केही पालिका प्रभावित भएका छन्। बाढीका कारण ६ वटा जलविद्युत् आयोजनामा क्षति पुग्दा ६६२ मेगावाटभन्दा बढी विद्युत् उत्पादनसमेत अवरुद्ध भएको छ।
विपद्को खबर प्राप्त हुनासाथ प्रदेश विपद् व्यवस्थापन समितिको बैठक बसेर उद्धार तथा राहत कार्य तीव्र पारिएको मुख्यमन्त्री थापाले बताए।
आफू विपद्कै दिन नुवाकोटको बट्टार पुगेर निरीक्षण गरेको जानकारी दिँदै उनले प्रदेशका चार अस्पतालबाट १०० भन्दा बढी स्वास्थ्यकर्मी र विशेषज्ञ चिकित्सकको टोली परिचालन गरी तत्काल तीनवटा स्वास्थ्य शिविर सञ्चालन गरिएको जानकारी दिए।
घरबारविहीन र परिवारका सदस्य गुमाएका नागरिकहरूका लागि चारवटा अस्थायी सेल्टर निर्माण गरी गाँस र बासको व्यवस्था मिलाइएको छ।
साथै, सङ्घ, प्रदेश र स्थानीय तहको समन्वयमा जोखिममा परेकाहरूलाई हेलिकप्टरमार्फत उद्धार गरी घाइतेहरूको नि:शुल्क उपचारको व्यवस्था गरिएको मुख्यमन्त्री थापाले बताए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment