जेनजी आन्दोलनको एक वर्ष

मंसिरमा बिहेको तयारी थियो, भदौमा गोली लाग्यो: सहिद गोपालको घरमा अझै ओभानो छैनन् आँखा

गोपालका बुबा-आमाको कामना: अब कुनै गोपालले रगत बगाउन नपरोस्

डिसी नेपाल
२३ भदौ २०८३ ७:०६

झापा। जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका झापा अर्जुनधारा नगरपालिका–११ का ज्ञानिन्द्र (गोपाल) सेढाईंको परिवार अझै स्तब्ध छ र उसलाई किन गोली प्रहार गरियो भन्ने प्रश्नको जवाफ खोजिरहेको छ।

उनीहरू जेनजी सहिद छोराको स्मृतिमा भावुक मात्र बनिरहेका छैनन्, ज्यान गुमाएका युवाको बलिदानी खेर नजाओस् र अब फेरि कुनै युवाले सडकमा रगत बगाउन नपरोस् भन्ने कामना पनि गरिरहेका छन्।

आन्दोलनका क्रममा गोपालले ज्यान गुमाएको एक वर्ष पुग्न लाग्दा उनका ८३ वर्षीय बुबा धनपति सेढाईंको मनमा भने छोराको सम्झना अझै उत्तिकै ताजा छ। छोराको असामयिक निधनको गहिरो पीडासँगै उनले मुलुकमा फेरि कहिल्यै अशान्ति र आन्दोलनको अवस्था नआओस् भन्ने कामना गरिरहेका छन्।

गोपालको निधन भएको त्यो कारुणिक दिन सम्झँदै धनपतिले भने, ‘मेरो छोरा निर्दोष थियो। उसलाई किन गोली हानियो भन्ने प्रश्नको जवाफ अझै मेरो मनमा अनुत्तरित नै छ। अब फेरि कुनै पनि बाबुआमाले हामीले जस्तै छोरा गुमाउनुको पीडा भोग्नु नपरोस्।’

आँखाभरि आँसु पार्दै उनले पछिल्लो समय देशमा देखिएको प्राकृतिक विपद् र विभिन्न राजनीतिक गतिविधिका समाचार सुन्दा आफू थप चिन्तित हुने गरेको बताए। अहिले देशका विभिन्न क्षेत्रमा बाढीपहिरोको विपद् रहेको उल्लेख गर्दै उनले फेरि जेनजी पुस्ताले आन्दोलन गर्न लागेको भन्ने हल्ला सुन्दा आफूलाई निकै डर लाग्ने गरेको सुनाए।

‘देशमा अहिले बाढीको ताण्डव छ। मानिसहरू निकै दुःखमा छन्। यस्तो दुःखद बेलामा फेरि नयाँ जेनजीले आन्दोलन गर्ने भन्ने हल्ला सुन्छु। मेरो एउटै कामना छ– सरकारले युवाका मागहरू बेलैमा सुनेर समाधान गरोस्,’ उनले भने, ‘कसैको रगत बगाएर परिवर्तन खोज्ने अवस्था देशमा फेरि कहिल्यै नआओस्।’

गोपाल गत वर्ष भदौ २४ गते जेनजी आन्दोलनका क्रममा झापाको बिर्तामोडमा प्रहरीको गोली लागेर मारिएका थिए। त्यस दिन बिहान रक्तदान गरेपछि घर फर्किएका उनले बुबालाई उपचारका लागि शनिश्चरे अस्पताल पुर्‍याएका थिए। अस्पतालबाट फर्किएपछि परिवारसँगै बसेर खाना खाई उनी घरबाट बाहिरिएका थिए। साथीहरूसँग बिर्तामोड बजार पुगेका गोपाल सोही क्रममा आन्दोलनमा सहभागी हुन पुगेका थिए।

प्रदर्शनका क्रममा छातीमा गोली लागेर गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि बिएण्डसी मेडिकल कलेज लगिएको थियो। तर उपचारकै क्रममा चिकित्सकहरूले उनलाई मृत घोषित गरेका थिए।

काँधको बलियो सहारा मानिएको छोराको निधनपछि सेढाईं परिवारले उसको बिहेको तयारीसमेत अघि बढाउन पाएन। गोपालले चार वर्षअघि आफ्नै पसिनाले आफ्नै लागि पक्की घर बनाएका थिए। बुढेसकालमा छोराको सहारामा जीवन बिताउने सुन्दर सपना बुनेका वृद्ध धनपति र उनकी पत्नी गुनमायाका लागि त्यो घर अहिले केवल सम्झनाको एउटा धरोहर बनेको छ।

‘आउँदो मंसिरमा छोराको बिहे गर्ने तयारी थियो। घरमा नयाँ बुहारी भित्र्याएर खुसी छाउने सपना देखेका थियौँ,’ धनपतिले भने, ‘तर हाम्रो सबै सपना चकनाचुर भयो। छोरा गयो, हाम्रो बुढेसकालको मुख्य सहारा नै सिद्धियो।’

छोराको मृत्युको असैह्य पीडा बोकेर बसेका धनपतिलाई अहिले अर्को चिन्ताले सताउन थालेको छ– कतै फेरि मुलुकमा कुनै युवाको रगत त बग्ने होइन? उनी आन्दोलन वा विरोधको प्रजातान्त्रिक अधिकारको विरोधी भने होइनन्। तर नागरिकको आवाज सुन्ने र समस्याको निकास खोज्ने पहिलो जिम्मेवारी राज्य र सरकारको भएको उनी बताउँछन्।

‘सरकारले जनताको कुरा सुन्नुपर्छ, युवाको माग बुझ्नुपर्छ। समस्या छ भने वार्ता र संवादबाटै समाधान गर्नुपर्छ,’ उनले भने, ‘अब गोपालहरू मर्नुपर्ने गरी देशमा कुनै पनि आन्दोलन नहोस्।’

गोपालकी दिदी तुलसा सेढाईं पनि अहिले विगतको त्यो कालो घटनालाई सम्झँदा निकै भावुक हुन्छिन्। भाइलाई अन्य दाजुभाइभन्दा बढी असल साथीका रूपमा सम्झने तुलसा अब युवाहरूले फेरि सडकमा रगत बगाउने अवस्था आउनै नहुने बताउँछिन्।

उनका अनुसार गोपाल सधैँ समाज परिवर्तनका विषयमा बहस गर्थे। ‘हामी आफैँले समाज बदल्नुपर्छ, अरूलाई पर्खेर हुँदैन भन्ने उसको सोच हुन्थ्यो,’ तुलसाले भाइका कुरा सम्झिइन्।

तर अहिले उनको धारणामा फेरबदल आएको छ। गोपालसहितका युवाहरूले परिवर्तनका लागि दिएको बलिदानीको वास्तविक मूल्य राज्यले बुझ्नुपर्ने उनको तर्क छ।

‘अब हामीले सडकमा गएर मात्र केही हुँदैन। फेरि आन्दोलन गरेर र रगत बगाएर समस्याको समाधान हुँदैन,’ तुलसाले भनिन्, ‘हामी नबोलीकनै सरकारले गोपालहरूजस्ता युवाको बलिदानीको महत्त्व र मर्म बुझोस् भन्ने चाहन्छौँ।’

उनले अहिले देश विभिन्न जटिल समस्याहरूबाट गुज्रिरहेको भन्दै सरकार र सम्बन्धित पक्षले नागरिकको पीडा बुझेर काम गर्नुपर्ने बताइन्। ‘हामीले अब कुनै पनि अशुभ समाचार सुन्न नपरोस्। कुनै बुबाले आफ्नो कलिलो छोराको शव काँधमा बोक्नु नपरोस्। कुनै आमाले ‘मेरो छोरा कहिले फर्कन्छ’ भनेर बाटो हेर्दै रुनु नपरोस्,’ तुलसाले भनिन्।

गोपालको निधनपछि उनका परिवारका लागि समय अघि बढे पनि मुटुको पीडा भने उस्तै छ। घरमा रहेका उनका कपडा, प्रयोग गरेका वस्तु र उनीसँग जोडिएका यादहरूले परिवारलाई बारम्बार विगतको त्यही कहालीलाग्दो क्षणमा फर्काउने गरेको छ।

छोराको निधनको एक वर्ष पुग्न लाग्दा पनि गोपालकी आमा गुनमायाको आँखाबाट आँसु ओभानो हुन सकेको छैन। छोराको फोटो हेर्दै उनी अझै पनि गोपाल साँझपख फर्केर आउने आशामा भावुक हुने गर्छिन्।

गोपालको परिवारका लागि सहिद घोषणा र सम्मानभन्दा पनि उनको मृत्युको कारण र त्यसबाट राज्यले लिएको पाठ महत्त्वपूर्ण रहेको बुबा धनपतिको भनाइ छ। ‘हामीलाई कसैले छोरा फर्काएर दिन सक्दैन। त्यो हाम्रो भाग्यमा रहेनछ,’ उनले भने, ‘तर गोपालको जस्तो दुःखद अवस्था अरू कसैको नहोस्। उसको मृत्युबाट सरकारले पाठ सिक्नुपर्छ।’

जेनजी आन्दोलनका क्रममा झापाबाट गोपालसहित अन्य युवाहरूले पनि ज्यान गुमाएका थिए। आन्दोलनमा मारिएका झापाका ज्ञानिन्द्रसहित धेरै युवाहरूलाई नेपाल सरकारले सहिद घोषणा गरिसकेको परिवारले जनाएको छ।

गोपालको परिवारका लागि सहिद घोषणा आत्मसम्मानको विषय भए पनि त्यो सम्मानसँगै राज्यले नयाँ पुस्ता र युवाको आवाज सुन्ने सहज वातावरण बनाउनुपर्ने अपेक्षा छ।

बुढेसकालमा छोराको सहारामा सुखद् जीवन बिताउने सपना बोकेका धनपतिका लागि अहिले गोपाल केवल यादहरूमा सीमित छन्। छोराको बिहे गरेर घरमा बुहारी भित्र्याउने सपना देखेका उनी अब एउटा मात्र अन्तिम सपना देख्छन्– देशमा शान्ति होस् र कुनै पनि बाबुआमाले छोराको शव काँधमा बोक्न नपरोस्।

‘गोपाल त गयो, अब अर्को कुनै गोपाल नजाओस्,’ आँखाको आँसु पुछ्दै धनपतिले भावुक स्वरमा भने, ‘हाम्रो जस्तो पीडा संसारका कसैले भोग्नु नपरोस्। सरकारले समयमै युवाको कुरा सुनोस्, देशमा सधैँ शान्ति कायम रहोस्।’

राजकुमार ओली/ नेपाल न्यूज बैंक


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *