एसिसी प्रिमियर कप: समूह विजेता बन्ने लक्ष्यका साथ आज नेपाल हङकङविरुद्ध मैदान उत्रिँदै
KLANG, MALAYSIA - SEP 06: Pictures from the match between Nepal and Saudi Arabia held at the Bayuemas Oval on September 06, 2026 in Klang, Selangor, Malaysia. (Photo by Peter Lim/PhotoDesk.com.my) for Asian Cricket Council
काठमाडौं। मलेसियामा जारी एसिसी प्रिमियर कप २०२६ को समूह चरणको आफ्नो अन्तिम खेलमा आज नेपालले हङकङको सामना गर्दैछ। क्वालालाम्पुरस्थित बायुमास ओभलको मैदानमा हुने यो खेल बिहान ७:१५ बजेदेखि सुरु हुनेछ।
आजको खेल जित्दै समूह विजेता बनेर सेमिफाइनल पुग्ने दाउमा नेपाल रहेको छ। जारी प्रतियोगितामा लगातार तीन खेल जितेको नेपाल हालसम्म अपराजित रहँदै ६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ।
नेपालले आफ्नो पहिलो खेलमा बहराइनलाई ७ विकेट, दोस्रो खेलमा आयोजक मलेसियालाई ६ विकेट र तेस्रो खेलमा साउदी अरेबियालाई ५ विकेटले पराजित गरेको थियो।
नेपाली टोली आज हङकङविरुद्ध पनि सहज जित निकाल्दै आफ्नो अपराजित यात्रालाई निरन्तरता दिने रणनीतिमा छ। अर्कोतर्फ, हङकङले भने प्रतियोगितामा खेलेका तीन खेलमध्ये दुईमा जित र एक खेलमा हार व्यहोरेको छ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र हङकङबीच हालसम्म चारपटक मात्रै भेट भएको छ। जसमा हङकङले दुई खेल जित्दा नेपालले एक खेलमा सफलता हात पारेको छ भने एक खेल वर्षाका कारण रद्द भएको थियो।
यी दुई टोलीबीच पछिल्लोपटक सन् २०१८ मा एकदिवसीय खेल खेलिएको थियो, जहाँ नेपालले हङकङलाई ५ विकेटले हराएको थियो। नेपाली टोली आज क्वालालाम्पुरको मैदानमा आठ वर्षअघिको सोही ऐतिहासिक जितलाई दोहोर्याउने लक्ष्यका साथ मैदान प्रवेश गर्दैछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment