बेपत्ताको तत्काल खोजी र उद्धार गर्न सरकारसँग कुलमान घिसिङको आग्रह
काठमाडौं। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले भोटेकोशी बाढीका कारण विभिन्न क्षेत्रमा अझै बेपत्ता रहेका नागरिकको तत्काल खोजी र उद्धार गर्न नेपाल सरकार र सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
सोमबार साँझ बसन्तपुरमा आयोजित दीप प्रज्वलन कार्यक्रममा बोल्दै घिसिङले विपत्तिमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरे। उनले घाइते तथा अपांगता भएका नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता रहेकाहरूको छिटोभन्दा छिटो उद्धार हुनुपर्ने बताए।
‘नेपाल सरकार र सम्बन्धित निकायलाई जुन–जुन ठाउँमा, सुरुङहरूमा र विभिन्न ठाउँमा अझै पनि बेपत्ता रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरूको सकुशल उद्धार कार्यमा रातदिन नभनी छिटोभन्दा छिटो उद्धार गर्नको लागि पनि हामी अनुरोध गर्दछौँ, ध्यानाकर्षण गर्दछौँ,’ घिसिङले भने।
घिसिङले पछिल्लो विपत्तिलाई नेपालको इतिहासकै ठूलो प्रलयकारी बाढीका रूपमा चित्रण गर्दै यसबाट ठूलो मानवीय क्षति भएको बताए। बाढीपहिरोमा नेपाली युवा, इन्जिनियर तथा प्राविधिकसहित ठूलो संख्यामा नागरिकले ज्यान गुमाउनुपरेको भन्दै उनले यस घटनाले सबैलाई गहिरो दुःखमा पारेको बताए।
‘यो नेपालको इतिहासमा सबभन्दा ठूलो प्रलयकारी बाढी यो क्षेत्रमा आएको छ। हजारौँ नेपाली दाजुभाइ दिदीबहिनीहरूले, युवाहरूले, इन्जिनियरहरूले, प्राविधिकहरूले ज्यान गुमाउनु परेको छ। यो वास्तवमा यो इतिहासमा एउटा अत्यन्तै नसोचेको घटना हुन पुगेको छ,’ उनले भने।
उनले विपत्तिमा ज्यान गुमाएका परिवारप्रति राज्य र नागरिक सबैले एक भएर साथ दिनुपर्नेमा जोड दिए। शोकलाई शक्तिमा बदलेर प्रभावित क्षेत्रको पुनर्निर्माण र पुनस्र्थापनामा अघि बढ्नुपर्ने उनको भनाइ थियो।
उनले आगामी दिनमा यस्ता विपत्तिबाट हुने क्षति न्यूनीकरणका लागि पूर्वाधार निर्माण, सडक निर्माण तथा बस्ती विकास गर्दा प्राकृतिक विपत्तिको जोखिमलाई गम्भीरतापूर्वक ध्यान दिनुपर्ने बताए।
घिसिङले अब विपत्तिपछि राहत र उद्धारमा मात्र केन्द्रित नभई दीर्घकालीन पुनर्निर्माण र सुरक्षित पूर्वाधार विकासमा समेत ध्यान दिनुपर्ने आवश्यकता औँल्याए।
‘आगामी दिनमा यस्ता घटनाबाट हामी बच्नको लागि र आगामी दिनमा यस्ता घटनाहरू हुन नदिनको लागि हामीले पूर्वाधार बनाउँदा र सडक निर्माण गर्दा र बस्ती विकास गर्दा यस्ता विषयहरूलाई पनि ध्यानमा दिएर अगाडि बढ्नुपर्नेछ,’ उनले भने।
प्रभावित क्षेत्रमा विस्थापित परिवारको पुनस्र्थापना, परिवारका सदस्य गुमाएकालाई सहयोग तथा क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणका लागि देशभित्र र बाहिर रहेका सबै नेपाली एकजुट भएर सहयोग गर्नुपर्नेमा उनले जोड दिए।
घिसिङले विपत्तिबाट पाठ सिक्दै प्रभावित क्षेत्र तथा सम्बन्धित करिडोरको दीर्घकालीन विकास र समृद्धिका लागि विशेष पहल गर्न नेपाल सरकारसँग आग्रह गरे।
‘नेपाल सरकारलाई यो घटनाबाट पाठ सिकेर अब यो क्षेत्रको, त्यो करिडोरको विकासको लागि, समृद्धिको लागि विशेष पहल गर्न पनि म हार्दिक अनुरोध गर्दछु,’ उनले भने।
No ads found for this position


डिसी नेपाल
Facebook Comment