वर्तमान सरकारलाई ‘जेनजी सरकार’ भन्न सक्दिन, कामको लागि शुभकामना छ: मिराज ढुंगाना

डिसी नेपाल
२३ भदौ २०८३ ७:५३

काठमाडौं | ऐतिहासिक जेनजी आन्दोलन भएको एक वर्ष पूरा भएको छ। आन्दोलनले मुलुकको राजनीतिक वृत्तमा पुस्तान्तरण र परिवर्तनको बहसलाई तीव्र बनाए पनि त्यसको प्रत्यक्ष अनुभूति भने नागरिकको दैनिक जीवनमा अझै हुन नसकेको जेनजी अभियन्ता मिरज ढुंगानाले बताएका छन्।

सत्ता परिवर्तन हुनु मात्रै वास्तविक परिवर्तन नभएको उल्लेख गर्दै उनले नागरिकको जीवनस्तर, रोजगारी, महँगी नियन्त्रण र जनजीविकामा सुधार आएपछि मात्रै परिवर्तनको अर्थ स्थापित हुने स्पष्ट पारेका छन्।

भदौ २३ गते जेनजी दिवसका अवसरमा नेपाल न्यूज बैंकसँग विशेष कुराकानी गर्दै ढुंगानाले आन्दोलनपछि मुलुकले राजनीतिक रूपमा ठूलो संक्रमण बेहोरे पनि अपेक्षित सुधार नागरिकको दैनिक जीवनमा अनुभूत हुन नसकेको बताए।

हालैको बाढीपहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले मानवीय क्षतिसँगै राष्ट्रिय आयोजना र सरकारी भौतिक संरचनामा ठूलो नोक्सानी पुगेको बताए। विपद्का बेला सरकारले उद्धार तथा राहत कार्यमा थप परिपक्वता र तदारुकता देखाउनुपर्ने उनको भनाइ छ।

घटना भएको तीन दिनपछि मात्र विदेशी उद्धार टोली ल्याउन अनुमति दिइएको र करिब पाँच दिनपछि मात्रै उनीहरू आइपुगेको स्मरण गराउँदै उनले विगतका महामारी र विपद्का अनुभवबाट पाठ सिकेर छिटो निर्णय लिन सकिने धारणा राखे।

‘जेनजी आन्दोलनलाई एउटै शब्दमा व्याख्या गर्न सकिँदैन’

ढुंगानाका अनुसार विगतको एक वर्ष मुलुकका लागि निकै उथलपुथलपूर्ण रह्यो। विभिन्न आपत्कालीन अवस्था, राजनीतिक उतारचढाव र आन्दोलनका कारण जेनजी आन्दोलन तथा त्यसपछिको संक्रमणकाललाई एउटै दृष्टिकोणबाट मात्र हेर्न नसकिने उनको बुझाइ छ।

मुलुकमा अग्रगामी छलाङ र परिवर्तन आवश्यक भइसकेकाले आफूहरू आन्दोलनमा सहभागी भएको उनले बताए। पुरानो विधि र पद्धतिले देशलाई निकास दिन नसक्ने भएपछि सत्ता परिवर्तनको प्रकृतिको आन्दोलन अनिवार्य बनेको उनको भनाइ छ।

तत्कालै आन्दोलन भइहाल्छ भन्ने नसोचे पनि परिस्थितिले त्यही दिशा पक्रेको र यसले पुस्तान्तरणको आधार तयार पार्नुका साथै नागरिकलाई राजनीतिप्रति चासो राख्ने बनाएको उनले बताए। तत्कालीन अवस्थामा सामाजिक सञ्जालमाथिको प्रतिबन्ध नै आन्दोलनको प्रमुख कारक (ट्रिगर) बनेको उनले उल्लेख गरे।

‘राज्यको व्यवहार तत्काललाई साम्य पार्न ललिपप दिने जस्तो भयो’

तत्कालीन सरकारसँग भएको सम्झौतालाई आलोचनात्मक रूपमा हेर्दै ढुंगानाले राज्यले दीर्घकालीन निकास खोज्नुको सट्टा तत्कालको अवस्था नियन्त्रणमा लिन ‘ललिपप’ दिने प्रवृत्ति देखाएको आरोप लगाए।

सम्झौतापछि चित्त नबुझेका विषयमा आफूहरूले विरोध पनि गरेको र अहिलेको सरकारमा पनि त्यस्तै प्रवृत्ति देखिएको उनले दाबी गरे। गणेश नेपाली र गरिमा चौधरीका विषयमा भएका सहमतिलाई उदाहरण दिँदै उनले तत्काल सहमति गर्ने तर कार्यान्वयनमा लैजान नसक्ने दोहोरो चरित्र राज्यले देखाउन नहुने बताए।

यसैगरी, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको तत्कालीन सरकारले चुनाव सम्पन्न गर्नुबाहेक उल्लेख्य काम गर्न नसकेको उनको टिप्पणी छ। कार्की सरकारसँग आफ्नो सम्बन्ध आन्दोलनकारी र राज्य पक्षका रूपमा विभाजित भए पनि वर्तमान सरकारलाई समेत ‘जेनजीको सरकार’का रूपमा स्वीकार गर्न आफू तयार नरहेको उनले स्पष्ट पारे।

‘परिवर्तन जनजीविकामा देखिनुपर्छ’

जेनजी आन्दोलनको मूल उद्देश्य सत्ता फेरबदल मात्र नभई नागरिकको जीवनमा वास्तविक सुधार ल्याउनु रहेको उनले दोहोर्‍याए। महँगी घटेको छ कि छैन, जीवनयापन सहज भएको छ कि छैन र युवाले स्वदेशमै रोजगारी पाएका छन् कि छैनन् भन्ने आधारमा मात्र परिवर्तनको मापन हुने उनको भनाइ छ।

अहिले पनि ठूलो सङ्ख्यामा युवाहरू वैदेशिक रोजगारीमा जान बाध्य रहेको, श्रमिकको अवस्था नाजुक रहेको र घरभाडा तथा दैनिक उपभोग्य वस्तुको मूल्यले जनजीवन कष्टकर बनाएको उनले बताए।

इन्टरनेट वा सामाजिक सञ्जालमा गरिएका विकासका दाबीका आधारमा मात्रै देश परिवर्तन भयो भन्न नसकिने भन्दै उनले इन्धनको करदेखि राइड-हेलिङ क्षेत्रका श्रमिकको अवस्थासम्म सुध्रिनुपर्नेमा जोड दिए।

‘अनुभव भएका व्यक्तिलाई उमेरका आधारमा पन्छाउनु हुँदैन’

सरकारलाई सुझाव दिँदै ढुंगानाले ४० वर्ष कटेका अनुभवप्राप्त व्यक्तिहरूलाई उमेरकै आधारमा विभेद गरेर पन्छाउन नहुने बताए। विगतका अभ्यास र अनुभवबाट सिक्दै अर्थतन्त्र तथा जनजीविकालाई सरकारले मुख्य प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ। युवाहरू विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न दीर्घकालीन नीति बनाउन उनले आग्रह गरे।

वर्तमान सरकार गठनप्रति सुरुदेखि नै आफू धेरै उत्साहित नरहेको र राजनीतिमा राजनीतिक पृष्ठभूमि भएकै व्यक्तिहरू सक्रिय हुनुपर्छ भन्ने आफ्नो सोच रहेको उनले स्पष्ट पारे।

वर्तमान सरकारलाई जेनजीको सरकार भन्न नसके पनि उनीहरूले राम्रो काम गरून् भन्ने शुभकामना रहेको उनले बताए। सरकारको नियत सही भएर मात्र नपुग्ने र कार्यसम्पादन एवं कार्यान्वयन क्षमता बलियो हुनुपर्ने उनको तर्क छ।

‘प्रतिवेदनको पहिलो पानामै नाम बिगारिएको छ’

जेनजी आन्दोलनबारे बनेको कार्की आयोगको प्रतिवेदनप्रति असन्तुष्टि जनाउँदै ढुंगानाले प्रतिवेदनको पहिलो पानामै ‘GN ZÚ’ लेखिएकाले यसको गम्भीरता र विश्वसनीयताप्रति प्रश्न उठेको बताए।

आन्दोलनको नामसमेत सही लेख्न नसकेकाले आफूले उक्त प्रतिवेदन नपढेको उनले सुनाए। यद्यपि मानव अधिकारसम्बन्धी प्रतिवेदन भने तुलनात्मक रूपमा भरपर्दो लागेको उनको भनाइ छ।

आन्दोलनका क्रममा भएका हिंसात्मक घटना, विशेष गरी सिंहदरबार तथा देशका ऐतिहासिक धरोहर जलाउने जस्ता विध्वंसात्मक कार्यमा संलग्नहरूमाथि निष्पक्ष छानबिन गरी कानुनी कारबाही हुनुपर्ने उनले माग गरे।

यस्ता घटनामा दण्डहीनता दिन नहुने र त्यसका लागि छुट्टै न्यायिक आयोग वा विशेष इजलास गठन गर्न सकिने उनको सुझाव छ। तर, आन्दोलनका क्रममा पक्राउ परेका निर्दोष व्यक्तिहरूलाई भने शीघ्र छानबिन गरी तत्काल रिहा गरिनुपर्ने उनले बताए।

‘प्रतिशोधबाट होइन, नागरिकका बीचमा पुगेर सरकार चलाउनुपर्छ’

राज्यले कसैप्रति प्रतिशोधको भावना राख्न नहुने र सबैलाई समान नजरले हेर्दै कानुनअनुसार अनुसन्धान र कारबाही गर्नुपर्ने ढुंगानाले बताए। आफूले प्रतिशोधको आभास पाएको भन्दै यस्तो परिपाटी अन्त्य हुनुपर्ने उनको भनाइ छ।

काठमाडौँको कुनामा बसेर वा सामाजिक सञ्जालमा स्टाटस लेखेर मात्रै देशको वास्तविक अवस्था नबुझिने भन्दै उनले सरकार गरिब, मजदुर र निमुखा नागरिकको बीचमा पुग्नुपर्ने बताए। वर्तमान सरकारप्रति आफूहरू अझै आशावादी रहेको तर यसले अपेक्षित परिणाम नदिए वैकल्पिक राजनीतिक शक्तिको रूपमा तेस्रो धारको परिकल्पना गर्न सकिने उनले सङ्केत गरे।

‘अहिले फेरि आन्दोलन गर्ने पक्षमा छैनौँ’

आफू पुनः आन्दोलनको तयारीमा लागेको भन्दै सामाजिक सञ्जालमा फैलाइएका हल्लाको खण्डन गर्दै उनले आफू आन्दोलनलाई ‘रोमान्टिसाइज’ गर्ने पक्षमा नरहेको स्पष्ट पारे। पटक-पटकको आन्दोलनले देशलाई अस्थिर बनाउने भएकाले सधैँ आन्दोलन गरिरहनु उचित नहुने उनको भनाइ छ।

भदौ २३ र २४ गते पुनः आन्दोलन गर्न लागिएको भन्दै सत्तारूढ दलका ‘साइबर सेना’ले आफ्नो विरुद्ध गलत प्रचारबाजी गरेको दाबी गर्दै उनले अहिले आफू आन्दोलनको पक्षमा नरहेको दोहोर्‍याए।

जेनजी आन्दोलनसँग सम्बन्धित मुद्दाहरूको न्यायिक प्रक्रिया छिटो टुङ्ग्याउनुपर्नेमा जोड दिँदै उनले निर्दोष छुट्नुपर्ने र दोषीलाई कानुनअनुसार सजाय हुनुपर्ने बताए।

वर्तमान सरकार पूर्ण पाँच वर्ष टिकेर काम गरोस् भन्ने आफ्नो चाहना रहेको र पाँच वर्षमा पनि काम गर्न नसके सत्तारूढ दलका नेताहरू राजनीतिक रूपमा कमजोर हुने उनले उल्लेख गरे।

सरकार गठन भएको पाँच महिना मात्रै भएकाले आगामी दिनका घटनाक्रमले धेरै कुरा स्पष्ट पार्दै लाने उनले बताए। संक्रमणकालमा धेरै आपत्कालीन निर्णय लिनुपरेको र आफूमाथि विभिन्न आरोपहरू लागे पनि सत्यता क्रमशः बाहिर आउने उनको विश्वास छ।

जेनजी आन्दोलनको सबैभन्दा ठूलो उपलब्धि भनेकै पुस्तान्तरण हुनु र नागरिकमा राजनीतिप्रतिको चासो बढ्नु रहेको ढुंगानाले बताए।

आकांक्षा धामी/ नेपाल न्यूज बैंक


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *