ह्यारी-मेघनको शाही हैसियत यथावत्, उपाधि प्रयोग नगर्ने

डिसी नेपाल
२३ भदौ २०८३ १०:१३

लन्डन। बेलायतका राजा चार्ल्स तृतीयले राजकुमार ह्यारी र मेघन बेलायत फर्किए पनि शाही परिवारसँगको सम्बन्ध यथावत् रहने स्पष्ट पारेका छन्। सन् २०२० मा शाही जिम्मेवारीबाट अलग भएसँगै यो दम्पतीले शाही उपाधि प्रयोग नगर्ने र परोपकारी काम निजी हैसियतमा मात्र गर्ने जनाइएको छ।

राजाका तर्फबाट वरिष्ठ सरकारी अधिकारीलाई पठाइएको पत्रमा ह्यारी र मेघनको सुरक्षा व्यवस्थासम्बन्धी निर्णय सम्बन्धित प्रहरी निकायले नै गर्ने उल्लेख छ। शाही घरानाका वरिष्ठ अधिकारी लर्ड चेम्बरलेनले सरकार, सेना तथा देशभर रहेका राजाका प्रतिनिधिहरूलाई सो पत्र पठाएका हुन्।

कुनै शङ्का वा भ्रम नरहोस् भनेर राजाको निर्देशनमा यो जानकारी साझा गरिएको पत्रमा उल्लेख छ। ह्यारी-मेघनको हैसियत साविककै रहे पनि यो दम्पतीले शाही परिवारका काम गर्ने अन्य सदस्यहरूसँग समानान्तर शाही संरचना बनाउन सक्ने आशङ्का दरबारका केही पर्यवेक्षकहरूले व्यक्त गर्दै आएका छन्।

शाही जिम्मेवारी त्यागेपछि हटाइएको सार्वजनिक कोषबाट प्राप्त हुने प्रहरी सुरक्षा पुनःस्थापनाका लागि ह्यारीले सरकारसँग लामो कानूनी लडाइँ लड्दै आएका छन्। यो दम्पतीलाई चौबीसै घण्टा प्रहरी सुरक्षा दिने वा नदिने भन्ने निर्णय भने रोयल एन्ड भिआइपी कार्यकारी समिति (आरएभिइसी) ले गर्नेछ।

औपचारिक सम्मान वा राज्यका निकायबाट दिइने विशेष व्यवहार तथा त्यसका लागि सार्वजनिक कोष प्रयोग गर्नुपर्ने विषयमा कुनै प्रश्न भए बकिङ्घम दरबारमा सम्पर्क गर्न लर्ड चेम्बरलेनले स्पष्ट पारेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *