जेनजी आन्दोलन स्वस्फूर्त जागरण थियो, राजनीतिक लाभका लागि प्रयोग नगरियोस् : रवि लामिछाने

डिसी नेपाल
२३ भदौ २०८३ १५:१५

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सडकबाट नवयुवाले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले आफूहरूलाई उभ्याएको बताएका छन्। गत वर्ष भएको ‘जेनजी आन्दोलन’को स्मरणमा आज एक प्रेस विज्ञप्ति जारी गर्दै सभापति लामिछानेले उक्त आन्दोलन कुनै दल विशेषको आह्वानमा नभई पूर्णतः स्वस्फूर्त जागरण भएको स्पष्ट पारेका छन्।

भ्रष्टाचार, दलीय भागबन्डा, संस्थागत अक्षमता र अवसरविहीनता विरुद्ध युवा पुस्ता शान्तिपूर्ण रूपमा सडकमा उत्रिएको उल्लेख गर्दै उनले कुनै पनि राजनीतिक दल वा नेताले यसलाई सङ्कुचित राजनीतिक लाभको औजार बनाउन नहुने चेतावनी दिए।

परिवर्तनको आवाज उठाउँदा युवा पुस्ताले ज्यान गुमाउनुपरेको घटनालाई सबैभन्दा पीडादायी क्षणका रूपमा स्मरण गर्दै लामिछानेले भने, ‘हामीसँग पनि जवाफ माग्न भोलि फेरि कोही उभिनेछ। परिवर्तनका लागि अब यो देशमा कुनै पनि आमाको काख नरित्तियोस्।’

आन्दोलनका अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनले घाइतेहरूको पूर्ण उपचार, दीर्घकालीन पुनः स्थापना र पीडित परिवारको उचित हेरचाहको दायित्व पूरा गर्न राज्यसँग आग्रह गरेका छन्। साथै, उनले आम मनोविज्ञानमा निराशा फैलिन नदिई नागरिक आक्रोशलाई राष्ट्र निर्माणको शक्तिमा रूपान्तरण गर्न सम्पूर्ण युवा, नागरिक समाज र जनसमुदायलाई एकताबद्ध हुन आह्वानसमेत गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *