भोटेकोशी बाढी : लुम्बिनी प्रदेशका २४८ जना अझै सम्पर्कविहीन, २२२ शव फेला

डिसी नेपाल
२४ भदौ २०८३ १२:३३

कपिलवस्तु। रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीमा परी लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका २४८ जना नागरिक अझै बेपत्ता (सम्पर्कविहीन) रहेका छन्।

आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयअन्तर्गतको आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार बेपत्ता हुनेहरूमा बर्दियाका ७६, दाङका ५४, रोल्पाका २४, बाँकेका २३, रुपन्देहीका १९, पाल्पाका ९, प्युठानका ९, नवलपरासी (बर्दघाट सुस्तापश्चिम)का ९, अर्घाखाँचीका ८, गुल्मीका ७, कपिलवस्तुका ६ र रुकुमपूर्वका ४ जना रहेका छन्।

यसैबिच, बाढीले बगाएर ल्याएका १५८ वटा शव नवलपरासी (बर्दघाट सुस्तापश्चिम) क्षेत्रमा फेला परेका छन्।

फेला परेका शवमध्ये ५२ महिला, ९० पुरुष, ६ बालक, ६ बालिका र ४ जनाको लिङ्ग पहिचान हुन नसकेको केन्द्रले जनाएको छ। त्यसैगरी, सोही क्षेत्रमा ६४ वटा शरीरका मानव अङ्गहरूसमेत फेला परेका छन्, जसअनुसार फेला परेका कुल शव तथा शरीरका अंगको सङ्ख्या २२२ पुगेको छ।

उक्त फेला परेका शवमध्ये अहिलेसम्म ९ जनाको मात्र सनाखत हुन सकेको छ (जसमा एक महिला र आठ पुरुष छन्)।

सनाखत हुन नसकेका बाँकी १४२ शव र ६४ शरीरका अंग गरी कुल २०६ वटाको व्यवस्थापन गरिसकिएको विवरणमा उल्लेख छ। हाल बाढीमा परी बेपत्ता भएकाहरूको खोजी कार्यका साथै फेला परेका शव र अंगहरूको पहिचान तथा व्यवस्थापनको काम निरन्तर जारी रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *