जेनजी घटनामा संलग्न सबैमाथि छानबिन र कारबाही हुनुपर्छ : गगन थापा

डिसी नेपाल
२४ भदौ २०८३ १५:५२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गत वर्ष भदौ २३ र २४ गते भएका हिंसात्मक घटना, राज्य दमन र तोडफोडमा संलग्न सबै पक्षमाथि निष्पक्ष छानबिन गरी कारबाही गर्न सरकारसँग जोडदार माग गरेका छन्।

बीपी कोइरालाको जन्मजयन्ती (बीपी स्मृति दिवस)को अवसरमा एक भिडियो सन्देश जारी गर्दै थापाले भदौ २३ गतेको जेनजी विद्रोहमा भएको राज्यको दमन र भदौ २४ गते सिंहदरबार, अदालत तथा निजी सम्पत्तिमाथि भएको संगठित ध्वंसका दोषीहरूलाई कानुनको दायरामा ल्याउनुपर्ने बताए।

भदौ २४ को घटनामा आफ्नो घरसमेत जलेको र परिवार जोखिममा परेको स्मरण गर्दै थापाले व्यक्तिगत क्षतिभन्दा आन्दोलनमा ज्यान गुमाएका र घाइते भएका युवाहरूको पीडा व्यापक र गम्भीर रहेको उल्लेख गरे।

थापाले भदौ २३ गते युवाहरूले गरेको शान्तिपूर्ण विद्रोहमा राज्यले चरम दमन गरेको र घुसपैठ गरेर हिंसा भड्काइएको आरोप लगाए। साथै, भदौ २४ गते आवेग र आक्रोशलाई दुरुपयोग गरी योजनाबद्ध रूपमा देशले कहिल्यै नदेखेको ध्वंस गराइएको बताए।

उनले प्रश्न गरे, ‘सिंहदरबार र अदालत जलाउने, उक्साउने र योजना बनाउनेहरू को हुन्? कसैले यसको जिम्मा लिनुपर्दैन? अनि त्यत्रो ठूलो राज्य संयन्त्र क्षणभरमै कसरी काम नलाग्ने भयो?’

थापाले आवेगमा व्यक्त भएको प्रतिक्रिया र आवेगको फाइदा उठाएर गरिएको अपराधबीच फरक छुट्याउनुपर्ने धारणा राखे। ‘आवेगमा व्यक्त प्रतिक्रियाले माफी पाउनुपर्छ, तर जसले आवेगलाई प्रयोग गरेर अपराध गरेको छ, उसले माफी पाउनु हुँदैन,’ उनले जोड दिए।

दण्डहीनता कायमै रहे समाज कहिल्यै न्यायपूर्ण र सभ्य बन्न नसक्ने चेतावनी दिँदै उनले भने, ‘आज अपराध गर्नेले सजाय पाएछन् भने भोलि त्यो पीडा जो-कसैले भोग्नुपर्ने हुन सक्छ। आगो लगाउनेले सजाय नपाएसम्म यस्ता घटनाले प्रश्रय पाइरहन्छन्।’

सरकार गठनका बेला २४ गतेको घटनाबारे निष्पक्ष छानबिन गर्ने प्रतिबद्धता जनाइएको स्मरण गराउँदै थापाले अनुसन्धान कहाँ पुग्यो भनी सरकारलाई प्रश्न गरे। उनले भदौ २३ गतेको घटनासम्बन्धी अध्ययनको पूर्ण प्रतिवेदन तत्काल सार्वजनिक गर्न र दुवै दिनका दोषीहरूलाई कारबाही गरी राज्यलाई जवाफदेही बनाउन माग गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *