क्यानडाले अमेरिकामाथि लगायो ५० प्रतिशत कर

डिसी नेपाल
२४ भदौ २०८३ १६:४८

काठमाडौं । विश्वमा पुनः एकपटक व्यापार युद्ध (ट्रेड वार) सुरु भएको छ। अमेरिका र क्यानाडाबीचको तनाव उत्कर्षमा पुगेको छ। एकातिर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडामाथि अमेरिकासँग भेदभाव गरेको आरोप लगाउँदै यसै महिनाको अन्त्यमा क्यानेडियन सामानहरूमा ५० प्रतिशत भन्सार महसुल लागू गर्ने घोषणा गरेपछि क्यानाडाले पनि ट्रम्पलाई कडा जवाफ दिएको छ।

प्राप्त प्रतिवेदनहरू अनुसार क्यानाडाले पनि जवाफी कदम चाल्दै करिब ७०० भन्दा बढी अमेरिकी उत्पादनहरूमा ५० प्रतिशतसम्मको ट्यारिफ (भन्सार महसुल) लागू गरेको छ, जुन मङ्गलबार सेप्टेम्बर ८ देखि नै प्रभावी भएको छ।

अमेरिका र क्यानाडाबीच छेडिएको यो ट्यारिफ युद्धले विश्वमै पुनः एकपटक व्यापार युद्धको जोखिम बढाएको छ। सिएनबिसिको प्रतिवेदन अनुसार अमेरिकी वस्तुहरूको ठूलो दायरामा क्यानाडाका तर्फबाट यी जवाफी ट्यारिफहरू लगाइएका हुन्। दुई देशबीच भएका व्यापारिक वार्ताहरू असफल भएपछि यो अवस्था सिर्जना भएको हो।

क्यानाडाका तर्फबाट अमेरिकाका सयौँ उत्पादनहरूमा १५ देखि ५० प्रतिशतसम्मको महसुल लगाइएको छ, जसको कुल मूल्य २७.६ अर्ब क्यानेडियन डलर रहेको छ। यसमा दुग्धजन्य पदार्थ (डेयरी प्रोडक्ट्स), कृषि उपकरण, कागज, घरेलु उपकरण र इलेक्ट्रोनिक्स उत्पादनहरू समावेश छन्।

अमेरिकी स्टिल, एल्युमिनियम र फलामका उत्पादनहरूमा क्यानाडाको महसुल दोब्बर भएर अब ५० प्रतिशत पुगेको छ भने फर्निचर, मोटरसाइकल, लत्ताकपडा र केही कस्मेटिक सामग्रीहरू पनि उच्च ट्यारिफ लगाइएका वस्तुहरूको सूचीमा परेका छन्।

प्रतिवेदनहरूका अनुसार क्यानाडाले अमेरिकी सामानहरूमा ५० प्रतिशतसम्म ट्यारिफ लगाउने आफ्नो यो कदमलाई अमेरिकाका तर्फबाट अगस्ट २२ मा करिब २० अर्ब डलर मूल्य बराबरका क्यानेडियन मदिरा, हक्की स्टिक र अन्य सामानहरूमा ५० प्रतिशत अतिरिक्त ट्यारिफ लगाउने घोषणाको जवाफमा चालिएको कदम बताएको छ।

क्यानाडाको वित्त मन्त्रालयद्वारा जारी विज्ञप्तिमा यस कदमले आफ्ना श्रमिक, उत्पादक र उद्योगीहरूलाई सुरक्षा प्रदान गर्ने उल्लेख गरिएको छ। अर्कातर्फ क्यानाडाको यो कदमलगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार क्यानाडामाथि अमेरिकासँगको व्यापारमा भेदभाव गरेको आरोप लगाउँदै अमेरिकाले सेप्टेम्बर १५ देखि आफ्ना मौजुदा ५० प्रतिशत ट्यारिफलाई थप क्यानेडियन उत्पादनहरूमा विस्तार गर्ने बताएका छन्।

यसबाहेक सेप्टेम्बर २९ देखि कैयौँ क्यानेडियन दुग्धजन्य उत्पादन, मोटरसाइकल र मदिरा आयातमा प्रतिबन्ध लगाउने घोषणासमेत गरेका छन्। अमेरिका र क्यानाडाबीच ठूलो परिमाणमा आयात-निर्यात हुने गर्दछ। अमेरिकी व्यापार प्रतिनिधि कार्यालयका मौजुदा तथ्याङ्कलाई हेर्दा सन् २०२५ मा अमेरिकाले क्यानाडामा ३३३.६ अर्ब डलर मूल्य बराबरको सामान निर्यात गरेको थियो।

यस्तै अमेरिकाले क्यानाडाबाट ३८१.९ अर्ब डलर मूल्य बराबरको सामान आयात गरेको थियो। दुवै देश ऊर्जा, सवारी साधन, भारी मेसिनरी, विमान, औषधि, बहुमूल्य गहना तथा पत्थर, फर्निचर, लत्ताकपडा र विभिन्न प्रकारका खानेकुरा तथा पेय पदार्थसहितका समान क्षेत्रहरूमा व्यापार गर्छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *