बाढीपहिरो र जेनजी आन्दोलनका विषयमा सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण 

डिसी नेपाल
२४ भदौ २०८३ १३:५८

काठमाडौं। प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा विभिन्न राजनीतिक दलका सांसदहरूले देशमा हालै गएको बाढीपहिरोका कारण सिर्जित संकट, बेपत्ता नागरिकको खोजी तथा राहत र गत वर्षको ‘जेनजी आन्दोलन’का विविध पक्षबारे सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

बेपत्ताको विवरण अद्यावधिक र खोजी तीव्र पार्न माग

नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको विवरण तत्काल अद्यावधिक गरी तिनका परिवारलाई सही र स्पष्ट सूचना दिन सरकारसँग माग गरिन्।

उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन थप जनशक्ति, प्रविधि र उपकरण परिचालन गर्नुपर्नेमा जोड दिँदै उनले भनिन्, “सरकारको पहिलो धर्म सत्ता जोगाउनु होइन, नागरिक जोगाउनु हो। नागरिक बाँच्नुपर्छ र बचाउनुपर्छ भन्ने नाराका साथ अगाडि बढ्नुपर्छ।”

त्यसैगरी, नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले बाढी प्रभावितहरूको सुरक्षा र राहतमा अझै अपुग देखिएको उल्लेख गर्दै सबै दलहरू एकै ठाउँमा उभिएर वर्तमान संकटको समाधान गर्नुपर्ने बताए।

प्रतिपक्षी नेकपा (एमाले)का सांसद गणेशसिंह ठगुन्नाले गत भदौ १० गते रसुवाको बाढीमा परी बेपत्ता भएका दार्चुलाका पाँच जना नागरिकको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन सरकारसँग माग गरे।

उनले लेकम गाउँपालिका-४ का सहसेनानी देवसिंह धामी, दुहु गाउँपालिका-५ का नायक विकासबहादुर ठकुरी, शैल्यशिखरका नरेशदत्त जोशी र जयनन्द जोशीसहित बेपत्ताहरूको अवस्था पत्ता लगाउन र राहत तथा पुनस्थापनाको काम द्रुत गतिमा चलाउन आग्रह गरे।

साथै, दार्चुलाको अपीहिमाल गाउँपालिका–१ मा पहिरोका कारण विस्थापित भएका दर्जनौँ परिवारको पुनस्थापनाका लागिसमेत उनले सरकारको ध्यानाकर्षण गराए।

‘जेनजी आन्दोलन’को मर्म र तोडफोडको छानबिनबारे बहस

बैठकमा सांसदहरूले गत वर्षको भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’को पुनरावलोकन र मर्मबारे धारणा राखेका छन्।

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले उक्त आन्दोलन जनतामा चुलिएको चरम निराशा र असन्तुष्टिको परिणाम भएको बताउँदै भने, “यो आन्दोलन केवल सरकार परिवर्तनका लागि मात्र नभई संस्कार परिवर्तन, सुशासन, र विधिहीनता एवं दण्डहीनताको अन्त्यका लागि थियो। आन्दोलनको मर्मअनुसार हामी चल्न सकेका छौँ कि छैनौँ, यसतर्फ गम्भीर हुनुपर्छ।”

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुरुषोत्तम सुप्रभात यादवले युवाहरूको सडक सङ्घर्ष र बलिदानबाट सत्ता ढलेको एक वर्ष पूरा भएको स्मरण गर्दै आफूहरू सत्ताका लागि नभई सुशासनका लागि सडकमा ओर्लिएको स्पष्ट पारे।

उनले भने, “हाम्रा साथीहरू सुशासनका लागि सडकमा उभिँदा बन्दुकको नालको निसानमा परेर ढले। हाम्रो माग सत्ता थिएन, न त हामी कसैको भाग खोस्न गएका थियौँ।”

नेपाली कम्युनिष्ट पार्टीकी सांसद पार्वती बिकले आन्दोलनका क्रममा भएका तोडफोड र भौतिक संरचना जलाउने कार्यको निष्पक्ष पहिचान हुनुपर्ने माग गरिन्। “२४ गते सिंहदरबार जलाउने दोषी को थियो? जेनजीहरूले हामी त्यसको जिम्मा लिन सक्दैनौँ भनेको अवस्था छ,” उनले प्रश्न गरिन्।

साथै, मानवअधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न, आन्दोलनका घाइतेहरूको उचित उपचार गर्न र सहिदका सपना पूरा गर्नेसतर्फ ध्यान दिन उनले सरकारसँग जोडदार माग गरिन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *