राहत र उद्धारमा महिला-बालबालिकाको सुरक्षालाई प्राथमिकता दिन सरकारसँग माग

डिसी नेपाल
२४ भदौ २०८३ १४:१७

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद क्रान्तिशिखा धितालले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा राहत र उद्धार व्यवस्थापन गर्दा महिला तथा बालबालिकाको सुरक्षा, गोपनीयता र गरिमालाई प्राथमिकतामा राख्न सरकारसँग माग गरेकी छन्।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद धितालले गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण पाँच जिल्लाका ४९ वटा वडामा ठूलो जनधनको क्षति भएको बताइन्। उद्धार प्रयासहरूमार्फत करिब ४ हजार प्रभावित नागरिक अहिले विभिन्न होल्डिङ सेन्टरमा आश्रित रहेको उनले जानकारी दिइन्।

बाढीका कारण नियमित सेवन गर्नुपर्ने औषधि बगेको, मृत पशुचौपायाको समयमै व्यवस्थापन हुन नसक्दा महामारीको जोखिम बढेको तथा सञ्चार र विद्युत् सेवा अवरुद्ध हुँदा धेरै प्रभावित नागरिकहरू अझै सम्पर्कविहीन स्थितिमा रहेको उनले उल्लेख गरिन्।

विपद्का बेला महिला तथा बालबालिकाको सुरक्षा थप चुनौतीपूर्ण हुने भन्दै राहत व्यवस्थापनमा उच्च संवेदनशीलता अपनाउनुपर्नेमा उनले जोड दिइन्। “यी सबै सङ्कटभित्र अर्को डरलाग्दो संकट छ-महिला र बालबालिकाको सुरक्षा र गरिमाको सङ्कट,” उनले भनिन्।

अपरिचित व्यक्तिहरूसँग एउटै कोठा वा पाल साझा गरेर बस्नुपर्ने बाध्यताले महिला तथा बालबालिकामाथि सुरक्षा जोखिम निम्त्याउन सक्ने भन्दै उनले उद्धार र राहतका नाममा थप असुरक्षा सिर्जना हुन नदिन सचेत गराइन्।

यूएन वुमनको तथ्यांक उद्धृत गर्दै उनले बाढीबाट नेपालमा करिब १ लाख ६० हजार महिला प्रभावित भएको र उनीहरूमाथि हिंसा, शोषणका साथै पानी, हेरचाह र जीविकोपार्जनको अतिरिक्त बोझ थपिने बताइन्।

राहत कोषमा सङ्कलित ठुलो रकमलाई प्रभावकारी रूपमा परिचालन गरी तत्काल अस्थायी आवासको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिइन्।

सम्भव भएसम्म प्रभावित परिवारलाई एकै ठाउँमा राख्दै सामाजिक पुनस्थापनाको कामलाई तीव्रता दिनुपर्ने बताउँदै उनले भनिन्, “नागरिकहरूलाई सम्मानपूर्वक पुनः आफ्नो खुट्टामा उभिन सक्ने अवस्थामा पुर्‍याउनु नै राहतको वास्तविक उद्देश्य हो।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *