विप्लव समूहका सेक्रेटरीसहित दुई पक्राउ, विष्फोटक पदार्थ बरामद

डिसी नेपाल
१८ असोज २०७६ १८:१०

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) समूहका मोरङ जिल्ला सेक्रेटरीसहित दुई जनालाई प्रहरीले पक्राउ गरी आज यहाँ सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङमा आयोजित पत्रकार सम्मेलनमा मोरङको बूढीगङ्गा गाउँपालिका–३ बस्ने विप्लव समूहका सेक्रेटरी आभाष भन्ने कुमार खतिवडालाई विराटनगर–४ को इक्राइबाट को २०प ५८८८ नंको मोटरसाइकल साथ प्रहरीले बिहीबार साँझ ५ बजे पक्राउ गरेको जनाएको छ।

निजले दिएको जानकारीबाट बूढीगङ्गा गाउँपालिका–७ धरहरा बस्ने कुमार डाँगीलाई विष्फोटक पदार्थ र त्यसमा प्रयोग हुने सामग्री तीन फिट माटोमुनि प्लाष्टिकमा लुकाइछिपाइ राखेको अवस्थामा बरामद गरिएको छ।

प्रहरीले निओजल ९० लेखिएको (जिलेटिन) विष्फोटक पदार्थ ४३ थान, एरियलसहितको सेतो रिमोट एक, तार जोडिएको बक्स एक, रातो टेप र तारसहितको डेटकार्ड एक, केप दुई, मसिनो तार एक र मोबाइल एक प्रहरीले बरामद गरेको हो।

यसैगरी निजहरुका साथबाट विप्लव समूहका विभिन्न दस्तावेज, प्रेस विज्ञप्ति, झण्डा, आर्थिक सहयोग पत्र, सहयोग रसिद दुई ठेलीलगायतका अन्य सामग्री बरामद गरेको पत्रकार सम्मेलनमा जनाइएको छ।

प्रदेश प्रहरी प्रमुख ठाकुरप्रसाद ज्ञवालीले चन्दा माग्ने समूह आउना साथ प्रहरीलाई जानकारी गराउन आग्रह गर्दै मोरङमा सो समूहका २० जना अदालतको आदेशमा जेलमा रहेको र २६ अनुसन्धानमा रहेको जानकारी दिए।

उनले खुला सीमाका कारण विष्फोटक पदार्थ भित्रिने भएकाले त्यसका लागि सुरक्षा व्यवस्था कडा पारिएको र मोरङ जिल्लामा शान्ति सुरक्षा सुदृढ रहेको विश्वास दिलाए।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख विश्व अधिकारीले विप्लव समूहका गतिविधि मोरङमा निस्तेज गरिएको बताउँदै चन्दा सङ्कलन र विष्फोटनका गतिविधि गरिने भएकाले त्यसलाई नियन्त्रण गर्न समयमा सूचनाका लागि आग्रह गरे।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *