कथा: एघारौं बिहान
त्यो रात आकाश खुलेको थिएन। आकाश फुटेको थियो। पहाडका काखबाट झरेको पानीले नदीलाई नदी रहन दिएन। ऊ एउटा अन्धो पशुजस्तै गर्जिरहेको थियो। बस्ती निद्रामा थियो, तर मृत्यु जागिसकेको थियो।
त्यही बस्तीको नदीकिनारमा जमुना र उनका श्रीमान् देवबहादुरको घर थियो। तीन पुस्ताका हाँसो, आँसु र सम्झनाहरूले भरिएको घर। पुरानो थियो, कमजोर थियो; तर जमुनाका लागि त्यो घर केवल इँटा र काठ मात्र थिएन। त्यो उनको सम्पूर्ण जीवन थियो।
अचानक बाहिर ठूलो आवाज आयो। जमिन काँपेजस्तो भयो। देवबहादुर झ्यालसम्म पुगे। नदी आँगन छुन आइपुगेको थियो। उनले फर्केर हेरे, जमुना हातमा देवताको सानो तस्बिर बोकेर उभिएकी थिइन्।
“ढोका खोल्नुपर्छ,” देवबहादुरले भने। जमुनाले केही उत्तर दिइनन्। उनले केवल श्रीमान्को हात समातिन्। त्यसै क्षण घरको जग चर्कियो। एउटा भीषण गर्जन भयो। चारतले घर नदीको छालमा उठ्यो, अनि अन्धकारले दुवैलाई निल्यो।
बिहान मानिसहरू घर खोज्दै हिँडे। कसैले आफ्नो छानो खोजिरहेको थियो, कसैले आफ्नी आमा, कसैले बच्चा त कसैले आफ्नो अस्तित्व र नाम। नदीले सबैलाई बराबर बनाइदिएको थियो। धनी र गरिबको घर एउटै हिलोमा मिसिएको थियो।
जमुनाका छोरा समीर पनि आइपुगे। उसले आमाको नाम चिच्यायो- “आमा!” नदीले उत्तर दिएन; केवल एउटा काठको टुक्रा घुमाउँदै अगाडि बढ्यो। समीरले त्यो काठ समात्न खोज्यो, तर नदीले त्यो पनि खोस्यो।
पहिलो दिन खोजियो। दोस्रो दिन पनि खोजियो। तेस्रो दिन उद्धार टोली आयो। डोरीहरू बाँधिए, डुंगा चलाइयो, भग्नावशेष पन्छाइयो; तर जमुनाको कुनै चिह्न भेटिएन।
दिनहरू बित्दै गए। आशा पातजस्तै सुक्दै गयो। आठौँ दिनसम्म पनि उनी भेटिइनन्। गाउँलेहरूले एकअर्काको आँखामा हेर्न छाडे। आँखाले कहिलेकाहीँ सत्यभन्दा पहिले नै मृत्यु स्वीकार गरिसकेको हुन्छ।
समीरले आमाको शव चाहेको थियो। शव नभए पनि अन्तिम स्पर्श चाहेको थियो। तर नदीले त्यो अधिकार पनि खोसेको थियो। पुरोहितले कुशको एउटा आकृति बनाए, त्यसैलाई जमुनाको प्रतीक मानियो।
घरमा किरिया सुरु भयो। सेतो वस्त्र लगाइयो, दीप बालियो, मन्त्रहरू पढिए। तर समीरलाई प्रत्येक मन्त्र झूटजस्तो लागिरहेको थियो। उसको मनले भनिरहेको थियो- “आमा मर्नुभएको छैन।”
उसले आमाको कोठा खोल्यो। त्यहाँ उनको चस्मा थियो। सिरानीमा कपालका केही तन्तुहरू थिए। भित्तामा पुरानो क्यालेन्डर झुन्डिरहेको थियो। जीवनका यति साना प्रमाणहरू बाँकी थिए, तर मृत्यु भने कति ठूलो घोषणा बनेर उभिएको थियो!
समीरका मामा भीमबहादुर भने चुप थिए। उनी जमुनालाई राम्ररी चिन्थे। “जमुना सजिलै हार मान्ने मान्छे होइन,” उनले भने। कसैले त्यो वाक्यमा विश्वास गरेन, तर भीमबहादुर आफैँभित्र त्यो वाक्य समातेर बसिरहे।
किरियाको नवौँ दिन राति उनलाई निद्रा आएन। बाहिर हल्का वर्षा भइरहेको थियो। पानीको आवाजले उनलाई नदी सम्झायो। नदीको आवाजले जमुनाको अनुहार सम्झायो। उनले आँखा बन्द गरे। एउटा दृश्य मनमा आयो— जमुना कुनै अँध्यारो ठाउँमा बसेर पानी मागिरहेकी छिन्।
भोलिपल्ट बिहान उनले निर्णय गरे, “म फेरि खोज्छु।” समीरले रोक्न खोज्यो, तर भीमबहादुरले भने, “मृत्यु निश्चित भएको छैन भने आशा किन मार्ने?”
उनी उद्धार टोलीसँग फेरि नदीको तल्लो भागतिर लागे। बाटो हिलोले भरिएको थियो। ठाउँ-ठाउँमा जमिन दलदल बनेको थियो। कुहिएको काठ र माटोको गन्ध हावामा तैरिरहेको थियो। प्रकृतिको सौन्दर्य त्यहाँ एकाएक भयमा बदलिएको थियो।
घाम निस्किएको थियो, तर त्यो घाम न्यानो थिएन। नदीको किनारमा एउटा ठूलो भग्नावशेष देखियो। त्यो कुनै समयको घर थियो। अहिले त्यो नदीले थुपारेको स्मृतिको पहाडजस्तो देखिन्थ्यो।
उद्धार टोलीका निरीक्षक अरुणले भग्नावशेषतिर हेरे। “भित्र ठाउँ बाँकी हुन सक्छ,” उनले भने। कसैले ठूलो आशा गरेनन्, तर उनीहरू रोकिए। फलाम हटाइयो, काठ पन्छाइयो, माटो खोतलियो।
अचानक एउटा आवाज सुनियो- अत्यन्तै कमजोर, हावाभन्दा पनि हल्का! सबैका हातहरू रोकिए। “पानी…” आवाज फेरि आयो। यसपटक सबैले सुने।
“भित्र कोही जीवित छ!” अरुण चिच्याए।
उद्धारकर्मीहरू एकाएक सक्रिय भए। काठका टुक्राहरू हटाइए, ढुंगाहरू पन्छाइए, माटो खोतलियो। समयसँगै उनीहरूले पनि मृत्युसँग प्रतिस्पर्धा गरिरहेका थिए।
केही बेरपछि एउटा हात देखियो- बूढो हात, माटोले ढाकिएको, घाउहरूले भरिएको! तर त्यो हात हल्का चलिरहेको थियो। अरुण केही क्षण बोल्न सकेनन्। उनले केवल त्यो हात समाते।
भित्र एउटी वृद्धा थिइन्। उनको शरीर कमजोर थियो, ओठ फुटेका थिए, अनुहारमा धुलो थियो; तर आँखाहरू जीवित थिए। उनी जमुना नै थिइन्।
उनीहरूले उनलाई बाहिर निकाले। जमुनाले पहिलोपटक खुला आकाश हेरिन्। उनको आँखामा सूर्यको किरण पस्यो। उनले ओठ चलाइन्, “देवबहादुर कहाँ छन्?”
उद्धारकर्मीहरू मौन भए। केही प्रश्नको उत्तर शब्दले दिन सक्दैन। जमुनाले त्यो मौनता बुझिन्। उनको आँखामा आँसु आए, तर उनले रोइनन्। आँसु पनि सायद एघार दिनदेखि थुनिएको थियो।
उनलाई हेलिकप्टरबाट अस्पताल लगियो। समीरलाई खबर पुग्यो। ऊ किरियाघरबाट उठ्यो र सेतो वस्त्रमै दौडियो। उसलाई त्यो क्षण विश्वास लागिरहेको थिएन। आमाको मृत्युको संस्कार गर्दै गरेको छोरा अचानक आमाको जीवनको खबर बोकेर दौडिरहेको थियो।
अस्पतालको ढोकामा पुगेपछि उसले आमालाई टाढाबाट देख्यो। सानो शरीर, कमजोर अनुहार; तर त्यही अनुहार, त्यही आँखा र त्यही जीवन!
समीरको घुँडा कमजोर भयो। ऊ भित्तामा अडेस लाग्यो। उसको मुखबाट एउटा शब्द मात्र निस्कियो- “आमा!”
जमुनाले टाढैबाट आँखा खोलिन्। उनले छोरालाई चिनिन्।
डाक्टरहरूले केही समय भेट्न दिएनन्; संक्रमणको डर थियो। समीर बाहिरै बसिरह्यो। उसको हातमा आमाको पुरानो सारी थियो। त्यो सारी उसले किरियाका सामानहरूसँगै राखेको थियो।
अब त्यो सारी शोकको वस्तु थिएन; त्यो जीवित स्मृतिको प्रतीक बनेको थियो। मृत्युले जसलाई अन्तिम चिनो बनाएको थियो, जीवनले त्यसलाई फेरि प्रतीक्षाको चिनो बनाइदिएको थियो।
त्यही अस्पतालको कुनामा जमुनाकी नातिनी रिया पनि थिइन्। उनी हजुरआमालाई भेट्न आएकी थिइन्। दुई दिनअघि उनले हजुरआमाको सम्झनामा भगवानको भजन गाएकी थिइन्। सबैले त्यसलाई बालमनको सान्त्वना ठानेका थिए।
आज उनी मौन थिइन्। उनले अस्पतालको ढोकातिर हेरिरहिन्। “हजुरआमा बाँच्नुभएको हो?” उनले सोधिन्। समीरले टाउको हल्लायो। रियाको आँखाबाट आँसु झर्यो। त्यो आँसु दुःखको थिएन।
बाहिर साँझ पर्दै थियो। पहाडको टुप्पोमा सूर्य अड्किएको थियो। नदी अझै बगिरहेको थियो, तर आज उसको गर्जनमा केही फरक थियो। मानौँ उसले आफूले खोसेको एउटा जीवन फेरि फिर्ता गरिदिएको थियो।
समीरले झ्यालतिर हेर्यो। उसलाई आठ दिनको किरिया सम्झना आयो, कुशको आकृति सम्झना आयो, आमाको फोटोअगाडि बालिएको दीप सम्झना आयो। अनि उसलाई लाग्यो— मानिसले मृत्युको संस्कार गर्न सक्छ, तर जीवनको अन्तिम निर्णय गर्न सक्दैन।
उसले आमाको कोठामा रहेको पुरानो घडी सम्झियो। घडी रोकिएको थिएन। घर बगे पनि समय रोकिएको थिएन। मानिसहरू हराए पनि बिहान आउन छाडेको थिएन। जीवनले सधैँ आफ्नो बाटो खोजिरहन्छ।
अस्पतालको भित्तामा रातको उज्यालो फैलियो। समीरले आँखाहरू बन्द गर्यो। उसले पहिलोपटक भगवानसँग केही मागेन, केवल धन्यवाद दियो। उसको विश्वास तर्कबाट जन्मिएको थिएन, एउटा जीवित धड्कनबाट जन्मिएको थियो।
भोलिपल्ट जमुनाले होसमा आएर पानी मागिन्। नर्सले गिलास अगाडि राखिन्। उनले बिस्तारै पानी पिइन्। प्रत्येक घुट्कोसँगै एघार दिनको मरुभूमि भिज्दै गयो।
“म कति दिन यहाँ थिएँ?” उनले सोधिन्।
नर्सले मुस्कुराउँदै भनिन्, “धेरै दिन।”
जमुनाले आँखा बन्द गरिन्। उनलाई समयको हिसाब चाहिएको थिएन। उनलाई केवल एउटा कुरा थाहा थियो— उनी अझै यहाँ थिइन्।
समीर अन्ततः आमाको छेउमा पुग्यो। उसले आमाको हात समात्यो। जमुनाको हात चिसो थियो, तर त्यो चिसोमा जीवनको न्यानो ताप लुकेको थियो। समीरले आमाको हात आफ्नो निधारमा लगायो।
“मलाई माफ गर्नुहोस्, आमा,” उसले भन्यो।
जमुनाले आश्चर्य मानिन्, “किन?” उनले सोधिन्।
समीरसँग उत्तर थिएन। उसले केवल आमाको हात अझ कस्सेर समात्यो।
त्यो दिन परिवारले किरियाका सबै सामग्रीहरू हटायो। कुशको आकृति विसर्जन गरियो। दीप भने निभाइएन। अब त्यो मृत्युका लागि बालिएको दीप थिएन, त्यो त पुनर्जन्मजस्तै फर्किएको जीवनका लागि थियो।
गाउँमा मानिसहरू त्यो घटनाको चर्चा गर्न थाले। कसैले यसलाई चमत्कार भने, कसैले संयोग, कसैले प्रकृतिको खेल। तर समीरका लागि ती शब्दहरूको कुनै अर्थ थिएन। उसका लागि त्यो एउटै सत्य थियो- आमाको मुटु धड्किरहेको थियो।
नदीले घर लगेकी थिई, श्रीमान् लगेकी थिई, पुराना स्मृतिहरू लगेकी थिई; तर एउटा जीवनलाई उसले पूर्ण रूपमा निल्न सकेन। सायद प्रकृतिको क्रूरताभित्र पनि कुनै अदृश्य करुणा लुकेको हुन्छ।
धेरै दिनपछि जमुना अस्पतालको झ्यालबाट बाहिर हेरिरहेकी थिइन्। आकाश सफा थियो, पहाड नीलो देखिन्थ्यो, टाढाबाट नदीको आवाज आइरहेको थियो। उनले आँखा चिम्लिइन्।
उनीसँग अब घर थिएन, श्रीमान् थिएनन्, पुरानो आँगन थिएन; तर उनीसँग एउटा नयाँ बिहान थियो, एउटा छोरा थियो, एउटी नातिनी थिइन् र बाँकी रहेको जीवन थियो।
उनले बिस्तारै भनिन्, “घर फेरि बनाउनु।”
समीरले आमातिर हेरेर मुस्कुरायो, “घर बनाउँछौँ।”
जमुनाले टाउको हल्लाइन्, त्यसपछि झ्यालबाहिर हेरिन्।
नदी बगिरहेकी थिई, जीवन पनि। दुवैको कुनै अन्तिम किनारा थिएन। तर त्यस दिन एघारौँ बिहानले एउटा कुरा प्रमाणित गरिदियो- कहिलेकाहीँ मृत्युको घोषणा भइसकेपछि पनि जीवन चुपचाप आफ्नो ढोका ढक्ढक्याइरहेको हुन्छ। र जब त्यो ढोका खुल्छ, मानिसले बुझ्छ- आशा कहिल्यै मरिसकेको हुँदैन।
No ads found for this position



Facebook Comment